नयाँ पाठ्यक्रमकाे याेजना बनाउँन शिक्षाविद् बुटवलमा

  २०७५ पुष २ गते १४:०४     विकासन्युज

काठमाडौं । बुटवल उपमहानगरपालिकामा देशभरका शिक्षाविद्को जमघट हुने भएको छ । अबको शैक्षिक पाठ्यक्रमका विषयमा बहस चलाउने र तीन तहका सरकारको खाकामा शिक्षाविद्ले जमेर छलफल गर्ने बुटवल उपमहानगरपालिकाले जनाएको छ । शैक्षिक सङ्गोष्ठी नाम दिएको कार्यक्रम मुलुकमा पहिलो पटक हुन लागेको हो ।

३८ विद्यायलको संख्या रहेको उक्त उपमहानगरपालिकामा बालविकास केन्द्र, सामुदायिक सिकाइ केन्द्र, मदरसा, गुरुकुलसमेत संचालनमा रहेको छन् । सामुदायिक र संस्थागत विद्यालयमा सिकाइ केन्द्रदेखि कक्षा १२ सम्मका कुल विद्यार्थीको सङ्ख्या ५७ हजार ५ सय सात रहेको छ ।

सीपमूलक विषयसहितको शैक्षिक पाठ्यक्रम कस्तो बनाउने र जनशक्ति उत्पादन तथा व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा खाका तयार पार्न यस्तो शैक्षिक सङ्गोष्ठीको तयारी भइरहेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिव सुवेदीले जानकारी दिएका छन् । स्थानीय, प्रादेशिक तथा राष्ट्रियस्तरका पाठ्यक्रममा मौलिकताको शिक्षा जोड्ने र कक्षा ९–१२ को सीपमूलक विषयलाई समेत कसरी परिमार्जन गर्ने भन्ने विषयमा उपमहानगरले एउटा खाका तयार पारेर प्रस्तुत गर्ने छ ।

शिक्षक, प्रध्यापक, इञ्जिनीयर, डाक्टर, वैज्ञानिक, प्राविधिक, कलाकार, प्रशासक, कृषकलगायतका शैक्षिक जनशक्ति उत्पादन गर्ने भरपर्दो आधार शिक्षा जसले विज्ञान, खोज, अनुसन्धानका साथै प्राप्त भएका वस्तुको उपयोग, प्रशोधन र व्यवसायीकरणको बाटा र पाटालाई शिक्षाले सम्बोधन गरेको छ ।

शिक्षाविद् रामलाल श्रेष्ठको संयोजकत्वमा गठन भएको समितिमा विज्ञहरु आनन्दमानसिंह शाक्य, रामकृष्ण पछाइँ, तारा पाण्डे, घनश्याम पाठक तथा प्रेमबहादुर बस्नेत रहेका छन् । उक्त समितिले तीन महीना भित्रमा सबै काम सक्नुका साथै सीपयुक्त र दक्षशक्तिको जगबाट नै बुटवलको समृद्धि हुने सबैको ठहर रहेकोले शैक्षिक सङ्गोष्ठी प्रभावकारी हुने बुटवलका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल बताएका छन्।

बुटवल उपमहानगरपालिकाले नगर शिक्षा योजना बनाउनका लागि कार्यदल गठन गरेको छ । विज्ञ छवि नेपालको संयोजकत्वमा गठन भएको समितिमा डबल विसी, कृष्ण मल्ल, हेमबहादुर क्षेत्री, कुलराज शर्मा र गोविन्द ज्ञवाली रहेका शिक्षा महाशाखा प्रमुख पन्थीले बताएका छन् ।

सामुदायिक र संस्थागत दुबै विद्यालयलाई यो समितिमा समेटिएको छ । बुटवल उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माणसम्बन्धी कार्यदल बनेको छ । उक्त समितिमा बुद्धिसागर भट्टराई, राजेन्द्रकुमार आचार्य, टीकाराम न्यौपाने, धनीश्वर गौतम, रुद्रलाल उपाध्याय र मोति राज पौडेल रहेका छन् ।

बुटवल उपमहानगरपालिकाले नगरपालिका भरमा रहेका संस्थागत र सामुदायिक विद्यालयमा एउटै पोशाक बनाउने तयरी गरेको छ । शैक्षिकस्तरको न्यूनतम मापदण्डसमेत तोकेर सबै विद्यालयमा शिक्षक र विद्यार्थीको पोशाक एकै खालको बनाउने गरी तयारी गरिएको प्रमुख सुवेदीले बताएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.