शिशिर ढुंगानाको बिदाईमा अर्थमन्त्रीले भनेः मेरो बायाँ हात कमजोर भयो

  २०७५ पुष १ गते १७:५१     विकासन्युज

काठमाडौं । ‘शिशिर ढुंगानाको सरुवाले मेरो एउटा हात कमजोर भएको छ, उहाँसँग काम गर्दा मलाई साह्रै सहज भएको थियो, अब आउनेलाई शिशिरजी कै जसरी काम गर्नुपर्ने चुनौती छ’, यो भनाई हो अर्थमन्त्री डा. युवराज खतिवडाको । आइतबार राजश्व सचिव शिशिर ढुंगानाको बिदाई कार्यक्रममा मन्त्री खतिवडाले उनको मुक्तकण्ठले प्रशंसा गरे । मन्त्रीले ढुंगानालाई भावी मुख्य सचिवको सम्भावना बोकेका प्रशासकको रुपमा समेत उभ्याउन भ्याए ।

‘तपाई अर्थको क्याडर, प्रधानमन्त्री कार्यालयमा गएर ज्ञानको दायरालाई अझै फराकिलो पार्नुस्, कार्यकालको थुप्रै समय बाँकी नै रहेछ, अझै माथिसम्म जाने ठाउँ र सम्भावना दुवै छ’, डा. खतिवडाले भने ।

प्रधानमन्त्री कार्यालयमा पनि ढुंगानाले आफ्नै सचिवका रुपमा काम गर्ने भन्दै उनले केही काम तत्काल अघि बढाउन निर्देशन पनि दिए ।‘प्रधानमन्त्री कार्यालयमा अर्थ तथा पुर्वाधार समितिको संयोजक मै छु, तपाईले मेरै सचिवका रुपमा काम गर्ने हो, लगानी सम्बन्धी ऐन, ठुला पूर्वाधार सम्बन्धी ऐन लगायतका केही काम तत्कालै गर्नुपर्नेछ, त्यसलाई चाँडो टुंग्याउनु होला’, मन्त्री खतिवडाले भने ।

विदाई कार्यक्रममा अर्थ सचिव राजन खनालले ढुंगानाको अभाव महशुस हुने बताएका थिए । उनले ढुंगानाका लागि अर्थमन्त्रालयको ढोका पुनः खुल्ला हुने दावी समेत गरेका थिए । ‘म पनि अर्थबाट बिदा भएको थिएँ, पछि फेरी आएँ, तपाई पनि आज जाँदै हुनुहुन्छ, भोली फेरी आउनुहुनेछ’, अर्थ सचिव खनालले भने ।

आफ्नो विदाई कार्यक्रममा सचिव ढुंगानाले अर्थमन्त्री र अर्थ सचिवसँग बसेर आफुले धेरै कुरा सिक्न पाएको धारणा राखेका थिए । भावुक रुपमा प्रस्तुत भएका ढुंगानाले आफुबाट कुनै गल्ति कमजोरी भएको खण्डमा माफी दिन आग्रह समेत गरेका थिए । ढुंगानाको बिदाई कार्यक्रममा अर्थमन्त्रालयका सबै बिभाग तथा महाशाखा प्रमुख, संस्थानका प्रमुखहरुलाई सहभागी भएका थिए । नेपाल राष्ट्र बैंकबाट भने डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले सहभागी थिए ।

ढुंगानाले २०७४ असार ६ गते राजश्व सचिवको जिम्मेवारी पाएका थिए । २०६३ साउन ७ गते अर्थमन्त्रालयको क्याडर बनेका उनी १२ बर्षपछि अर्थबाट बाहिरिएका हुन् ।

श्रोतका अनुसार राजश्व अनुसन्धान विभाग, सम्पति सुद्धिकरण विभागलाई प्रधानमन्त्री कार्यालयमा तानिएपछि ती निकायलाई हेर्ने गरि ढुंगानालाई प्रधानमन्त्री कार्यालय लगिएको हो । त्यस्तै, ठूला पूर्वाधारहरु प्रधानमन्त्री कार्यालयले नै हेर्ने गरि नयाँ ऐन समेत बनाउन लागिएको छ । सो ऐन कार्यान्वयनमा आउँदा ती आयोजना हेर्न पनि ढुंगानालाई अर्थमा तानिएको हुन सक्ने श्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.