ललितपुर बन्यो नेपालको पहिलो क्राफ्ट सिटी, अंकित स्टिकर टाँसेका उत्पादनले उच्च मूल्य पाउने

२०७५ पुष १ गते १७:१४ विकासन्युज

मंसिर । ललितपुर जिल्लालाई कला नगरी (क्राफ्ट सिटी) घोषणा गरिएको छ । युनेस्को सहितको संस्थाले एशीया महाद्धिपमा ललितपुर लगायत २७ शहरहरुलाई वल्र्ड क्राफ्ट सिटी घोषणा गरी सकेको छ ।

नेपाल हस्तकला महासंघको ४६औं वार्षिकोत्सव तथा सातौं हस्तकला दिवसको दिन उक्त जिल्लालाई नेपालको पहिलो क्राफ्ट सिटी घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतीविद् सत्यमोहन जोशीले ४६औं वार्षिक उत्सव तथा सातौ हस्तकला दिवसको उद्घाटन गरेका थिए ।

नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले काष्ठ नगरी घोषणाले ललितपुरका साथसाथै सिंगो नेपालको पर्यटन विकासका साथै सांस्कृतिक पर्यटनको प्रवद्र्धन हुने बताए । यससँगै अब ललितपुर महानगरपालिका भित्र उत्पादन भएका हस्तकलाका वस्तुहरुको गुणस्तरियता कायम गरी क्राफ्ट नगरीको उत्पादन अंकित स्टिकर टाँसी बिक्री गरेमा यहाँका उत्पादनले उच्च मूल्य प्राप्त गर्न सक्नेछन् ।

महासंघका अध्यक्ष धर्मराज शाक्यले हस्तकलाको स्थानीय तथा निकासी व्यापारलाई प्रवद्र्धन गर्न महासंघले आफ्नो ध्यान केन्द्रीत गरेको बताए ।

त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि सत्यमोहन जोशीले ललितपुर कला नगरीका रुपमा ललितपुर, भक्तपुर र काठमाडौं मात्र नभर्र्ई सिङ्गो नेपाल चिनाउन सफल भएकोमा खुशी व्यक्त गरेका छन् । नेपालको विविध कलाले नै राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको उनले बताए ।

नेपालका बहुमूल्य अमूर्त संस्कृति तथा कौशलपूर्ण हातबाट सिर्जित कलात्मक वस्तुहरु विस्तारै लोप हुँदै गएको तथ्यलाई औल्याउँदै हस्तकला महासंघले हाम्रो संस्कृतिको परिचयको रुपमा रहेको हस्तकलाको जगेर्ना, प्रवद्र्धन तथा विकासमा पुर्याइरहेको कार्यक्रममा जानकारी दिईएको थियो ।

सो कार्यक्रमसँगै ललितपुर जिल्लालाई क्राफ्ट सिटी घोषणा गरिएको उपलक्ष्यमा प्रभातफेरी गरी साँझ दिपावली गरिएको थियो ।