चैत १५ र १६ गते काठमाडौंमा लगानी सम्मेलन हुने, १४ खर्ब लगानी प्रतिवद्धताको उपलब्धि खोई ?

  २०७५ पुष १ गते १४:४९     विकासन्युज

काठमाडौं । सरकारले आगामी चैत १५ र १६ गते लगानी सम्मेलन गर्ने भएको छ ।  राजस्व सचिव शिशिर ढुङ्गानाको बिदाई कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले सो कुरा जानकारी गराएका हुन् ।

यसअघि सरकारले २०७३ फागुन १९ र २० गते लगानी सम्मेलन गरेकाे थियाे ।  उक्त सम्मेलनमा करिब रु १४ खर्बको (१३.५२ विलिएन अमेरिकी डलर) लगानी प्रतिबद्धता आएकाे थियाे तर प्रतिवद्धता अनुसार लगानी आएकाे छैन ।

सरकार परिवर्तन, फलाेअपकाे कमी, नीतिगत सुधारकाे कमीका कारण विदेशीले नेपालमा लगानी गर्न चाहेर पनि कार्यान्वयन तहमा नआएकाे बताइएकाे छ । सरकारी खर्चमा यस्ता सम्मेलन गर्ने तर उपलब्धिबारे लेखाजाेखा नै नगर्ने सरकारी शैलीकाे आलाेचना भइरहेकाे छ ।

दुइ वर्षअघि भएकाे सम्मेलनमा सबैभन्दा बढी प्रतिवद्धता चिनियाँहरूले गरेका थिए ।  उनीहरुले रु ८ खर्ब ३० अर्बको लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । चिनियाँ लगानीकाे प्रवाह बढे पनि प्रतिवद्धता अनुसार लगानी आएकाे छैन ।

त्यसैगरी बङ्गलादेशबाट सहभागी भएका लगानीकर्ताले रु २ खर्बभन्दा बढी नेपालमा लगानी गर्ने विश्वास दिलाएका थिए ।  भारतका लगानीकर्ताले ३१ अर्ब ७० करोडको लगानी गर्ने विश्वास दिलाएका थिए ।

जापान र बेलायतबाट सहभागी लगानीकर्ताले रु एक/एक खर्बको लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सम्मेलनमा  भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, सिङ्गापुर, हङ्कङ, मलेसिया, अस्ट्रेलिया, फ्रान्स, इटाली, जापान, अमेरिका, रुस, क्यानडा, बेलायत, दक्षिण कोरिया, फिनल्यान्ड, इरान, टर्की, भियतनामलगायत दुई दर्जन मुलुकका झन्डै २५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ताको सहभागिता थियो ।

सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादनलगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न विषयगत सत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.