मिलेनियम ट्रेक पदयात्रा पर्यटनको सम्भावना, प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डकाे चासो

  २०७५ पुष १ गते ११:५४     विकासन्युज

काठमाडौं । मिलेनियम ट्रेक व्यवस्थापन समितिले तनहुँको दुलेगौंडादेखि स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको पदयात्रा मार्गका गाउँमा घरबास कार्यक्रम सञ्चालनलाई जोड दिएको छ । पुतलीबजार नगरपालिका–२ स्थित भैंसे गौंडामा सामुदायिक होम स्टेको अवधारणासहित आफूहरू सक्रिय बनेको मिलेनियम भैंसे गौंडा सामुदायिक होम स्टेका अध्यक्ष बालकुमार गुरुङले बताएका छन् ।

मिलेनियम ट्रेक पदयात्रा पर्यटनको महत्वपूर्ण सम्भावनायुक्त स्थान भएका कारण यसको प्रवद्र्धनमा नेपाल पर्यटन बोर्डले पनि चासो देखाएको छ । जनशक्तिको अभाव भइरहेका अवस्थामा व्यक्ति व्यक्तिले घरमा घरबास सञ्चालन गर्न सक्ने अवस्था नभएको र सामूहिक प्रयासबाट पर्यटकले पनि राम्रो सेवासुविधा पाउनाका साथै यसलाई दिगो र प्रभावकारी राख्न सकिने देखिएर होम स्टेको अवधारणा अघि बढाइएको जनाएका छन् ।

त्यस्तै पदयात्रा मार्गकै वालिङ नगरपालिका–३ स्थित सिङ्गारकोट, बूढाकोट र राम्चे, वडा नं ४ स्थित गहते मनकामना, सुन्तला बारीमा, भिरकोट नगरपालिका–५ स्थित केघामा पनि सामुदायिक घरबास सञ्चालन भएको छ । मध्य पहाडी क्षेत्रको पहिलो पदयात्रा मार्गका रुपमा रहेको मिलेनियम ट्रेकअन्तर्गत तनहुँ र स्याङ्जा जिल्लाका साबिक २३ वटा गाउँ विकास समिति पर्दछन् ।

सामुदायिक घरबासको लक्ष्यका साथ लगभग १५ जना पर्यटकलाई एकै भवनमा राख्न सक्ने गरी भैंसे गौंडामा रु ५५ लाखको लागतमा छ कोठे भवन निर्माण गरिसकिएको छ । उत्पादनसँग घरबासलाई जोड्ने लक्ष्यका साथ सामुदायिक कृषिका माध्यमबाट अनुत्पादक बन्दै गएका बाँझा जग्गालाई उत्पादनयोग्य बनाउन राङभाङ मेकाडामिया नट उत्पादन कृषक समूह गठन गरी मेकाडामिया नटको खेती थालिसकिएको छ ।

समूहका अध्यक्ष समेत रहनु भएका गुरुङका अनुसार २५ घरपरिवार सदस्यका रुपमा रहेको समूहबाट लगभग ५ सय मेकाडामियाका बिरुवा लगाएको छ । आगामी दिनमा पर्यटकलाई प्राङ्गारिक उत्पादन खुवाउन अन्य कृषिका विकल्प पनि खोजिने बताएका छन् । ट्रेकअन्तर्गतकै पुतलीबजार नगरपालिका–९ स्थित पोखरीछापमा पनि समुदायमा आधारित घरबास सञ्चालनमा आइसकेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका स्थानीय समाजसेवी नवीनप्रकाश गुरुङले जानकारी दिएका छन् ।

समुदायकै सक्रियतामा पोखरीछापका प्राचीन संस्कृति घाटु, झोरा जस्ता नाचको संरक्षण एवम् विकासको प्रयास थालिएको छ । पदयात्रा गर्दै पोखरीछाप आइपुगेका पर्यटकले कोल्माकोटबाट धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे लम्जुङ, गणेश हिमाल सहितका हिमाली दृश्यका साथै पोखरा आसपासका काहुँकोट, हुडिकोट, कोट दरबार, बरपाण्डेथुम, ढोर दरबारलगायत पहाडी स्थानका रमणीय दृश्य एकसाथ अवलोकन गर्न सकिने गुरुङको भनाई रहेको छ ।

मिलेनियम ट्रेकअन्तर्गत तनहुँको शुक्लागण्डकी वडा नं १० स्थित रजस्थल, वडा नं १२ स्थित घरेडी, स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित सादीखोला, वडा नं ११ स्थित राइपुर, वडा नं १२ का चन्द्रकोट र डाँडागाउँमा सामुदायिक घरबास कार्यक्रम सञ्चालन भएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताएका छन्र । रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.