वायुसेवा निगमको ऋणलाई सेयरमा रुपान्तरण गर्न तयार छौं : रमण नेपाल

  २०७५ पुष १ गते ८:३०     विकासन्युज

रमण नेपाल नागरिक लगानी कोषको कार्यकारी निर्देशक हुनुहुन्छ । नेपाल राष्ट्र बैंकबाट ३० वर्षे सेवापछि निर्देशक पदबाट अवकाश पाएका नेपालसँग बैंक अन्तर्गतको नियमन, सुपरीवेक्षण, विनिमय विभागका साथै बैंकका क्षेत्रीय कार्यालयहरुमा समेत काम गरेको अनुभव छ ।

मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका स्थायी घर भएका कार्यकारी निर्देशक नेपालले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र पोखरा विश्वविद्यालयबाट अंग्रेजीमा एमफिलसम्मको अध्ययन गर्नुभएको छ ।

उहाँलाई सरकारले एक महिना अघि मात्र नागरिक लगानी कोषको कार्यकारी निर्देशकको जिम्मेवारी दिएर पठाएको छ । यसै सन्दर्भमा कोषको भावी रणनीति, सम्भावना र विकासबारे कार्यकारी निर्देशकसँग गरिएको विकास बहस प्रस्तुत गरिएको छ ।


तपाईँ नागरिक लगानी कोषको कार्यकारी निर्देशक भएर आउनुभएको पनि एक महिना हुनलाग्यो, तपाईले कोषको अवस्था कस्तो रहेको पाउनुभयो ? यसको सबलता र कमजोरी के के छन् ?

नागरिक लगानी कोष २०४८ सालमा स्थापना भएपछि सानो कार्यालयबाट सुरु भएर विकसित हुँदै यहाँसम्म आइपुगेको रहेछ । ४८ सालदेखि आजसम्म आइरहँदा कोषले आन्तरिक सूचना प्रविधिको क्षेत्रमा खासै अघि बढ्न नसकेको हो कि भन्ने महशुस मलाई भएको छ । कोषको आकार अर्बौ पुग्दा समेत अत्याधुनिक प्रणालीको विकास गर्नुको सट्टा अझै पनि हामीले ओराकल, फक्सफ्लोजस्ता पुराना सफ्टवेयर प्रयोग गरिरहेका छौं । पुराना ढड्डा र म्यानुअल सिस्टम समेत चलिरहेको छ, यसले सेवाग्राहीलाई सेवा दिन असहज भइरहेको अवस्था छ ।
अर्को भनेको हामीसँग काठमाडौंको यस्तो ठाउँमा यति राम्रो प्रोपर्टी हुँदा पनि सुविधासम्पन्न कार्यालय भवन बनाएर सहज ढंगले सेवा दिन सकिरहेको अवस्था देखिएन ।

अर्को सुधार गर्नुपर्ने अवस्था भनेको हाम्रो कामको आयतन र प्रकृति अनुसार कर्मचारीहरु दक्ष नभएका हुन् कि भन्ने महशुस समेत मलाई भइरहेको छ । कतिपय कामहरु हामीले आउटसोर्सिङको माध्यमबाट काम चलाइरहनुपर्ने अवस्था आइरहेको छ । अहिले पनि हामीसँग २२/२३ जना कर्मचारी बाह्य स्रोतबाट ल्याइएका छन् । हुन त मर्चेन्ट बैंकरको काम गर्ने जुनकुनै संस्थाले पनि बाह्य स्रोतबाट कर्मचारी ल्याउने चलन हुन्छ नै हाम्रो पनि त्यस्तै छ ।

नागरिक लगानी कोषको वित्तीय अवस्था चाहिँ कस्तो छ ?

वित्तीय रुपमा त यो कोष एकदमै राम्रो छ । यसको स्रोत परिचालनकोमोडेल एकदमै राम्रो छ किनकी यसले राष्ट्रसेवक कर्मचारीहरुको सामाजिक सुरक्षा हुने किसिमले बचत वृद्धि अवकाश कोष, बीमा कोष आदि सञ्चालनमा ल्याएको छ जसले कुनै पनि कर्मचारी अवकाश भइसकेपछि जम्मा भइरहेको रकम एकमुष्ठ रुपमा लिएर जान पाउने सुविधा हुन्छ भने रकम जम्मा गर्दागर्दै पनि आवश्यक पर्दा त्यस्तो रकमबाट सापटी लिन सक्ने व्यवस्था हुन्छ ।

नागरिक लगानी कोषले बैंक तथा वित्तीय संस्थाहरुको जस्तै किसिमले कर्जा प्रवाह गर्न पाउँदैन । यसले नागरिक लगानी कोष ऐन २०४७ ले निर्देशित गरेको अधिकारहरु प्रयोग गरेर त्यसैअनुसार काम गर्ने हो । कोषले अन्य व्यक्तिहरु वा निजी कम्पनीहरुलाई सीधै कर्जा लगानी गर्नसक्ने प्रावधान छैन । यसले कि त सरकारको ग्यारेन्टीमा कर्जा लगानी गर्न पाउँछ कि त कन्सोर्टियम लोन दिन र अर्कै कम्पनी मुख्य प्रवद्र्धक रहेको कम्पनीमा इक्विटीमा सहभागिता जनाउन पाउछ । त्यसैले यसको लगानीको कार्यक्षेत्र र प्रावधान अनुसार यसले उपयुक्त ढंगले लगानी गरेर उचित नाफा प्राप्त गरिरहेको छ ।

स्रोत परिचालनका लागि नीतिगत व्यवस्था बाधक भएको भन्ने निष्कर्ष हो तपाइँको?
त्यसो होइन । हामी जस्ता कोषहरुको कोष परिचालको प्रकृति नै त्यस्तै किसिमको हुने हो । बैंक तथा वित्तीय संस्थाहरुले जस्तो लगानी गर्न कि त हामीले नेपाल राष्ट्र बैंकमा गएर बैंक तथा वित्तीय संस्थाको लाइसेन्स लिनुपर्यो, नत्र हामीले गर्ने यस्तै किसिमले कर्जा लगानी गर्ने हो, यसलाई परिवर्तन गर्नुपर्छ भन्ने होइन ।

लगानीको सन्दर्भमा कुरा गर्दा भने नागरिक लगानी कोष बैंकको ब्याजमै केन्द्रित भयो भनिन्छ नि ?

यो राष्ट्रसेवक कर्मचारीहरुको गाँस काटेर दुःखले आज्याको पैसा जम्मा गर्ने ठाउँ भएकोले यसले लगानी गर्ने हरेक क्षेत्र विश्वसनीय हुनुपर्छ । त्यस्तो विश्वसनीय ठाउँ नपाउँदा अलिक धेरै पैसा बैंकमा रहन गएको कुरा सत्य हो । त्यसलाई जोखिममा पारेर हामी बैंक तथा वित्तीय संस्थाहरुजस्तो आक्रामक रुपमा अघि जान त सक्दैनौं । शेयर बजारमा लगानी गर्न पनि जोखिम उत्तिकै हुन्छ । यद्यपि हामी यसको स्रोत परिचालनको दायरा विस्तार गर्ने तयारीमा छौं ।

तपाईँहरु सुरक्षित लगानीको कुरा गर्नुहुन्छ, तर तपाईँहरुले १२ अर्ब लगानी गर्नुभएको नेपाल वायुसेवा निगम अहिले संकटको अवस्थामा छ, तपाईहरुको लगानी डुब्दैन ?

डुब्दैन । किनकी वायुसेवा निगमले जुन प्रयोजनको लागि रकम लगेको थियो, उसले त्यो प्रयोजनअनुसार काम गरेको छ । वाइडबडी ल्याउने भनेका थियो, ल्याएको छ । हो, अहिलेको अवस्थामा वाइडबडीले विजनेस नपाउँदा निगमको कमाई भएको छैन तर भोलि यसले उडान भर्न पायो भने त्यसले रकम तिरिहल्छ नि । यदि निगम घाटामा गयो वा टाट पल्टियो नै भने पनि हाम्रो ऋणमा सरकार जमानी बसेको छ । त्यसैले सरकारले तिरिहाल्छ। हामी जुन देशमा बसेका छौं, जुन सरकारबाट सञ्चालित छौं, उसको विश्वास नगरी त हुँदैन नि !हामीले दिएको ऋण परिपक्व पनि नभइसकेको अवस्थामा बाहिर फैलिएको हल्लाकै भरमा हामीले डुब्ने भइयो भनेर आँकलन गरेका पनि छैनौं धेरै चिन्ता गरेका पनि छैनौं ।

तर ऋण दिएको कम्पनीले हाम्रो वित्तीय अवस्था अति नै कमजोर भइसक्यो भनेर श्वेतपत्र जारी गरिसकेको अवस्थामा ऋणदाता कम्पनीले चासो दिनुपर्ने होइन र ?

हामीले चासो नै नलिएको कहाँ भनेका छौं र ? तर ऋणको भुक्तानी अवधि पनि आइनसकेको र सरकार जमानी भएको कारणले हामी ढुक्क भएर बसेका मात्र भनेको हो ।

अहिले वायुसेवा निगमलाई कम्पनी मोडेलमा लैजाने चर्चा चलिरहेको छ, यदि त्यसो भयो र तपाईँहरुलाई अहिलेको ऋणलाई सेयर (इक्विटी)मा रुपान्तरण गर्ने प्रस्ताव आयो भने के गर्नुहुन्छ ?

तपाईँले भन्नुभएको विषयमा मैले यसअघि पनि सोचिरहेको थिएँ । यदि सरकारले ५१ प्रतिशत मात्र शेयर राख्ने र कुनै विदेशी रणनीतिक साझेदार आउने अवस्थामा हामीलाई पनि अहिलेको ऋणलाई इक्विटीमा रुपान्तरण गर्ने प्रस्ताव आयो भने त्यसका लागि सकारात्मक हुनुपर्छ भन्ने मेरो निष्कर्ष हो ।

जस्तै श्रीलंकामा इस्तिहादले लिएर चलाएपछि श्रीलंकन एयरलाइन्सले ठूलो प्रगति हासिल गर्यो । यस्ता धेरै मोडेलहरु छन् । नेपालमा पनि पाँचतारे होटेलहरुलाई पनि विदेशी होटेलहरुले चेन विजिनेश मोडेलमा अघि बढाइरहेका छन् । त्यसैले त्यस्तो साझेदारी कुन मोडेलमा अघि बढ्छ भन्ने विषय मुख्य हो । यदि राम्रो मोडेल आयो र सम्भावना राम्रो देखियो भने अहिलेको ऋणकोे पूर्ण वा आधा हिस्सा इक्विटीमा परिवर्तन गर्न हामी किन पछि हट्ने ?

हामी एउटा स्वतन्त्र संस्था हौं, ऐनले दिएको क्षेत्राधिकारभित्र कति लगानी गर्ने भन्नेमा हामी स्वतन्त्र छौं । हाम्रो नियामक भनेको अर्थ मन्त्रालय हो । उसले हामीलाई केही मार्गनिर्देश भने गर्न सक्छ । त्यसैले भोलि के अवस्था आउँछ भन्न सकिन्न तर विदेशी कम्पनीलाई धेरै शेयर बेच्नुभन्दा नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, राष्ट्रिय बीमा संस्थानजस्तासंस्थाहरुले केही प्रतिशत शेयर खरिद गर्ने र विदेशी रणनीतिक साझेदारलाई सल्लाहकारको रुपमा वा केही प्रतिशत शेयर दिएर भए पनि भित्र्याउन सकिन्छ ।

हाम्राे सम्बन्धमा भोलि अध्ययन गर्दा जुन सम्भावनायुक्त देखिन्छ, लोन वा इक्विटीमध्ये जुन फाइदाजनक हुन्छ, त्यही मोडेलमा हामी जान सक्छौं । मान्छेहरुमा एउटा हल्ला फैलाइएको छ, नागरिक लगानी कोषले १२ अर्ब लगानी गरेको छ, डुब्यो भने के गर्ने भनेर, तर त्यस्तोे सम्भावना नै छैन त डुब्ने भन्ने कुरै आउँदैन ।

अहिलेकै अवस्थामा इक्विटीमा जाने प्रस्ताव आयो भने चाहिँ तपाईँ के गर्नुहुन्छ ?

मेरो विचारमा अहिलेको अवस्थामा राम्रो विदेशी रणनीतिक साझेदार आयो भने मेरो इक्विटीमा रुपान्तरण गर्नु नै फाइदाजनक हुन्छ । तर विश्लेषण नगरी भन्नु र गरेर भन्नुमा फरक हुनसक्छ । त्यसैले, पहिले विश्लेषण नै गर्नुपर्छ । हुन त राष्ट्र बैंकमा लामो समय काम गरेको नाताले मलाई कुनै पनि कम्पनीको वित्तीय विश्लेषण गर्नुपर्या भने खासै समय लाग्दैन । यद्यपि यसै गर्छौं भन्नुभन्दा अघि शुक्ष्म रुपमा संस्थाको विविध पक्षहरुको विश्लेषण भने गर्नुपर्छ ।

एनएसीमाथिको पहिलो दृष्टिले चाहिँ यो क्षेत्र सम्भावनायुक्त छ भन्ने निष्कर्ष हो तपाईँको ?

मेरो विचारमा यो फिजिवल नै हुन्छ किनकी एयरलाइन्स क्षेत्र भनेको यस्तो क्षेत्र हो, जति धेरै उडान स्वीकृति पाउँछ उसको आम्दानी त्यति नै धेरै हुँदै जान्छ र मुनाफा हुने सम्भावना पनि धेरै हुन्छ । भोलि धेरै उडान अनुमति पायो भने जहाज लिजमा ल्याएर पनि नयाँ उडान पनि भर्न सकिन्छ ।
कुनै पनि संस्था मुख्य रुपमा कमजोर हुने कारण भनेकोसंस्थागत सुशासनमा आउने कमी हो । निगमको पनि कर्पोरेट गभर्नेन्स कमजोर भएकै कारण आज यो अवस्था आएको हो भन्ने मलाई लाग्छ ।

तर, एयरलाइन्स कम्पनीहरुको नाफा विश्वमै कम भएको पाइएको अवस्थामा नेपालजस्तो उदीयमान बजारमा योभन्दा अरु क्षेत्र पनि बढी फाइदाजनक हुनसक्छ नि होइन ?

तपाईँले गलत कुरा गर्नुभयो । एयरलाइन्स सेक्टर नाफा नहुने क्षेत्र हुँदै होइन । तपाईँ हेर्न सक्नुहुन्छ, इस्तिहाद एयरलाइन्स, कतार एयरलाइन्स, टर्किस एयरलाइन्स, लुफ्तान्जा एयरलाइन्स लगायत कुनचाहिँ कम्पनी नाफामा गएका छैनन् ? भारतकै कुरा गर्नुस्, किङफिसर पनि विजय मालियाको कर्पोरेट गभर्नेस राम्रो भएको भए कहाँ डुब्थ्यो र ?ऊ त विजनेश भन्दा पनि मोजमस्तीतिर बढी गइदियो । यहाँ पनि बुद्ध एयर नराम्रो छ र ? पहिले नेकोन एयरलाइन्स पनि रामै थियो, संस्थागत सुशासनकै कारण त्यो डुबेको हो । यहाँ कम्पनीको हित हेरेर काम गरे पो फाइदा हुन्छ, कम्पनीको नाममा व्यक्तिगत स्वार्थ हेर्ने हो भने कहाँ फाइदा हुन्छ ?

एयरलाइन्स सेक्टरमा मुनाफाको अनुपात यति हुँदो रहेछ भन्ने चाहिँ केही प्रक्षेपण गर्नुभएको छ ?

त्यतिसम्म त छैन, त्यो मेरो आफ्नो पनि होइन । यदि कसैले त्यस्तो रिपोर्ट पेस गरेको अवस्थामा पनि त्यसको पुर्नपरीक्षण गर्नुपर्ने हुन्छ । त्यसैले अहिले नै त्यसबारे केही भन्न सकिँदैन ।

हामीले धेरै उद्योग व्यवसायहरु देखेका छौं । उद्योग व्यवसायलाई आन्तरिक र बाह्य वातातवरणले असर गर्छ । आन्तरिक वाताबरण भन्नाले हाम्रो जनशक्ति देखि औजार, मेसिनरी तथा हाम्रो व्यवस्थापनको टीम र कर्पोरेट गभर्नेन्सलाई बुझाउँछ । बाह्य वातावरण भनेको सरकारको नीति, अन्तर्राष्ट्रिय बजार, अन्तर्राष्ट्रिय नीति आदि पर्दछन् ।

नेपालमा ठूलाठूला लक्ष्य लिने तर स–साना कुराहरुमा अल्झने प्रवृत्ति व्याप्त छ । नेपाली व्यवसायीको कल्चर नै ठूलो प्रोजक्ट ल्याउने, तर त्यसलाई राम्रो बनाउने नभई त्यसलाई प्रयोग गरेर आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्नेतर्फ उद्यत हुने किसिमको भयो, त्यसैले धेरै कम्पनीहरु अघि बढ्न नसकेको अवस्था हो ।

अब प्रसंग बदलौं, नागरिक लगानी कोषले पुँजी बजारमा मार्केट मेकरको काम गर्ने भन्ने कुरा चलेको थियो, त्यो प्रक्रिया कहाँ पुग्यो ?

मार्केट मेकरको काम गर्ने भनेको एक प्रकारको स्टक डिलरको काम गर्ने भनेको हो । त्यसको सन्दर्भमा एकपटक त्यस्तो काम गर्ने कि भनेर प्रस्ताव बनाएर धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जमा प्रस्ताव पेश गरेर कसरी अघि बढ्ने भन्नेबारे छलफल गरिएको हो । तर त्यसका लागि एउटा छुट्टै सहायक कम्पनी खोलेर अघि बढ्नु राम्रो हुन्छ भन्नेसुझाव बोर्डले दियो । हामीलाई पनि सहायक कम्पनी खोल्दा नै उपयुक्त हुन्छ भन्ने लागेपछि हामी त्यो प्रक्रियामा अघि बढेका हौं ।

हामीले ट्रष्टीको रुपमा जम्मा गरिएको कोषलाई जोखिममा नपारौं भन्ने हो । धितोपत्र बजारमा स्टक डिलरको काम गर्ने भन्ने कुरा एकदमै जोखिमपूर्ण हुन्छ । भोलि गएर स्टक डिलरको काम गर्दै जाँदा सञ्चयकर्ताहरुलाई त्यस्तो भार नपरोस् भन्नेमा हामी सचेत भएर हामीले सहायक कम्पनी खोल्नेतिर अघि बढेका हौं । हामी सहायक कम्पनीमा केही पैसा लगानी गर्छौ तर त्यो लगानी बचतकर्ताको पैसाबाट नभई हाम्रो मुनाफाबाट गर्ने सोच हामीले बनाएका हौं । त्यसो गर्दा भोलि त्यस्तोकम्पनी घाटामा गयो भने पनि त्यो जोखिमले बचतकर्तालाई असर नगरोस् भन्ने हाम्रो उद्देश्य हो ।

अर्को कुरा पुँजीबजारको जुनसुकै निर्णय पनि एकदमै छिटोगर्नुपर्ने हुन्छ । अहिलेको संरचनामा त्यस्तो निर्णय छिटो र सहज नहुने अवस्था आउन सक्छ । सँधैं बोर्ड बसेर निर्णय गर्ने वा सबै अख्तियारी व्यवस्थापनलाई दिने भन्ने कुरा पनि खासै उपयुक्त हुँदैन । यस्तो अवस्थामा हामी सहायक कम्पनी खोल्नै पर्ने निष्कर्षमा पुगेका हौं ।त्यो केही प्राविधिक कारणले रोकिएको मात्र हो, नत्र यसको प्रक्रिया अघि बढिहाल्छ ।

अहिलेकै संरचनामा पनि कानूनी झन्झट हटाएर एउटा व्यवस्थापन टीम बनाउने विकल्प पनि त हुन्छ होला नि ?

त्यो भन्दा पनि सब्सिडायरी भए नै राम्रो हुन्छ । यस्तो अभ्यास बैंक तथा वित्तीय संस्थामा पनि हुन्छ । त्यसैले उसलाई छुट्टै बनाए झन् सजिलो हुन्छ भने हामीले किन झन्झट लिने ?

सहायक कम्पनी खोल्ने प्रक्रिया अघि बढिसकेको हो ?

प्रक्रिया सुरु भएको छ । स्टक एक्सचेन्जले अनलाइन सिस्टम नल्याउन्जेल यो रोकिएको थियो, अब अघि बढ्छ । नेप्सेले हामीलाई एउटा सिस्टम प्रदान गर्छ, हामीले पनि सहायक कम्पनीको प्रबन्धपत्र नियमावली बनाउने तयारी गरिरहेका छौं । त्यसका लागि पुँजीसम्बन्धी निर्णय हामीले गर्नुपर्नेछ ।

कति पुँजी लगानी गर्ने तयारीमा हुनुहुन्छ ?
त्यो अहिलेसम्म निर्णय भइसकेको छैन । त्यसका कति गर्न सकिन्छ, त्यो बोर्डले निर्णय गर्ने कुरा हो । मेरो विचारमा कम्तीमा २ अर्ब पुँजी भयो भने तत्काललाई स्टक डिलरको काम गर्न सकिन्छ भन्ने मलार्इ लाग्छ ।

अहिले देशभर सबै क्षेत्रहरुलाई सामाजिक सुरक्षा कार्यक्रमहरुले बाँध्ने लहर चलेको छ, यसले नागरिक लगानी कोषलाई सकारात्मक वा नकारात्मक कस्तो असर गर्ला ?

मेरो विचारमा यसले हामीलाई कुनै असर गर्दैन । हामीले गर्ने काम र उसले गर्ने कामको प्रकृति नै फरक छ । अहिले मजदुरहरुलाई सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको रुपमा ल्याइयो, जसमा ११ प्रतिशत श्रमिकबाट कटाउने र २० प्रतिशत रोजगारदाताले थपिदिनुपर्ने गरी ३१ प्रतिशत रकम कोषमा दाखिला गर्नुपर्ने भयो । भोलि किसान वा स्वरोजगार क्षेत्र पनि आउन सक्छ । त्यसका लागि सामाजिक सुरक्षा कोषले मात्रै सबै काम गर्नुपर्छ भन्ने पनि त छैन नि ! हामी पनि त्यसका लागि तयार छौं ।

तर, सामान्य रुपमा बुझ्दा, बचतको जुन दर हुन्छ, त्यसको ठूलो हिस्सा सामाजिक सुरक्षा कोषले लगिदिँदा त त्यसले बचत घटाएर तपाईँहरुकहाँ आउने कोषको आकार घट्न सक्छ नि होइन ?

हाम्रो राष्ट्रिय बचतको हिस्सा अहिले ८/९ प्रतिशत मात्र छ । नेपालीहरुले उपभोगमा करिब ९२ प्रतिशत खर्च गर्छन् । यस्ता सामाजिक सुरक्षा कोषसम्बन्धी कार्यक्रम आएपछि यसले उपभोग दरलाई घटाएर बचत बढाउने काम गर्यो भने त यसले राष्ट्रिय पुँजी निर्माणमा झन् ठूलो सहयोग गर्छ ।

म कहिलेकाँही सोच्छु, नेपालमा कस्तो संस्कृति विकास भयो भने अरुको नक्कल हामीले गर्नैपर्ने । राम्रो बाटो हुनु पर्दैन, ठूला र महँगा मोटरसाइकलहरु यहिँ चढिन्छ, छिमेकीले कार चढे भने अर्कोलाई पनि चढ्नुपर्छ । आखिर त्यो त उपभोगमा हुने खर्च हो नि । यसले पेट्रोल, लुब्रिकेन्ट, मेन्टिनेन्स लगायतका क्षेत्रमा समेत खर्च बढाउँछ । यस्ता विकल्पहरुले त्यस्तो खर्चलाई व्यवस्थित गर्छ। यस्ता कोषले आजैदेखि बचत सुरु गर्छ र भविष्यको अनिश्चिततालाई घटाउन सहयोग पनि गर्छ । त्यसैले सामाजिक सुरक्षा कोषले लैजाने रकम उपभोग प्रवृत्तिलाई घटाएर लैजाने हो, न कि हाम्रो हिस्सा खोसेर ।

अर्को सन्दर्भ जोडौं, अहिले नागरिक लगानी कोषले बचतकर्तालाई दिने प्रतिफल दोहोरो अंकभन्दा तल नै छ । तर अहिले ब्याजदर १३/१४ प्रतिशत पुगेको छ, यसको असरचाहिँ कोषमा कस्तो पर्ला ?

त्यसबारे चाहिँ हामीले केही सोच्नैपर्छ । कर्मचारीहरुले नियमित रुपले बचत गरिरहेको हुनाले त्यो फेरि पनि गर्दै जान्छन् भन्ने हाम्रो विश्वास हो । अर्को कुरा आज १३ प्रतिशत पुगेको ब्याज भोलि घटेर ४/५ प्रतिशतमा झर्ने सम्भावना पनि त हुन्छ नि । हामीले ब्याजदर ३÷४ प्रतिशत भएको बेलामा पनि बचतकर्ताहरुलाई ८/९ प्रतिशत प्रतिफल दिइरहेका थियौं । बजारमा पनि ब्याजदरको एउटा चक्र हुन्छ । हामी दीर्घकालको बारेमा सोच्ने संस्था भएकोले यसले हामीलाई खासै ठूलो असर भने गर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.