ब्रोकर लाइसेन्स लिने र मर्जरमा जाने विकल्पसहित माछापुच्छ्रे बैंकले बोलायो साधारणसभा

  २०७५ मंसिर २८ गते ८:२१     विकासन्युज

काठमाडौं । १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको माछापुच्छ्रे बैंकले आफ्नौ २० औं साधारणसभा बोलाएको छ । बैंकको बुधबार बसेको ३८५ औं सञ्चालक समितिको बैठकले होटल पोखरा ग्राण्डमा पुस २० गते बिहान ११ बजे बस्नेगरी साधारणसभा बोलाएको हो ।
बैंकले साधारणसभामा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र अघिल्लो आवको वित्तीय विवरण र प्रस्तावित १० प्रतिशत नगद लाभांश पारित गर्ने साधारण प्रस्ताव माछापुच्छ्रे बैंकले साधारणसभामा पेश गर्ने भएको छ । साधारणसभाले संस्थपक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीनजना सञ्चालकको निर्वाचन समेत गर्ने भएको छ ।

त्यस्तै, अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने वा गाभिने तथा विदेशी साझेदार भित्र्याउने सम्बन्धमा निर्णय गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव समेत साधारणसभामा पेश गरिने भएको छ । बैंकले आफैं वा सहायक कम्पनी स्थापना गरी बीमा व्यवसाय, भेञ्चर क्यापिटल, स्टक ब्रोकर, मर्चेन्ट बैंकिङ लगायतका कार्यहरु गर्ने एजेन्डा समेत साधारणसभामा पारित गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि बैंकले पुस ६ गतेदेखि शेयरधनी किताब खाता बन्द गर्दैछ । पुस ५ गतेसम्म आफ्नो नाममा शेयर कायम भएका शेयरधनीले तोकिएको १० प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् भने साधारणसभामा सहभागिता जनाउन पाउनेछन् । सञ्चालकको उम्मेदवारका लागि भने कम्तीमा १०० कित्ता संस्थापक शेयर आफ्नो नाममा रहेको हुनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.