राष्ट्र बैंकको रिजर्भेसनले मार्जिन ट्रेडिङ रोकियो-अध्यक्ष कार्की; कुनै रिजर्भेसन छैन-गभर्नर नेपाल

  २०७५ मंसिर २५ गते १५:३६     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले नेपाल राष्ट्र बैंकको रिजर्भेसनका कारण ब्रोकरहरुलाई मार्जिन ट्रेडिङ सेवा उपलब्ध गराउने व्यवस्था गर्न नसकेको आरोप लगाएका छन् । अर्थ समितिले नेपालको पुँजीबजारको समस्या र समाधानका उपायको बारेमा आयोजना गरेको छलफलका क्रममा अध्यक्ष कार्कीले मार्जिन ट्रेडिङ संसारभर रहेको तर कुनै पनि देशमा केन्द्रीय बैंकले हस्तक्षेप नगर्ने भन्दै नेपालमा पनि धितोपत्र बोर्डले स्वतन्त्र रुपमा त्यस्तो व्यवस्था गर्न पाउनुपर्ने बताएका हुन् ।

मार्जिन ट्रेडिङका लागि धितोपत्र बोर्डले अघिल्लो वर्ष नै कार्यविधि बनाएको भन्दै कार्कीले राष्ट्र बैंकले रिजर्भेसन नदेखाए तुरुन्त मार्जिन ट्रेडिङको व्यवस्था मिलाउन सक्ने दाबी गरे । हाल बैंकहरुको ऋणपत्रमा ब्याजदर निर्धारण समेत आफूहरुले गर्ने गरेको भन्दै मार्जिन ट्रेडिङका क्रममा ब्याजदरको निर्धारण गर्न समेत बोर्ड सक्षम रहेको दोहोर्याएका थिए । बैठकमा अध्यक्ष कार्कीले हाल कुल जारी शेयरमध्ये ९८ प्रतिशत डिम्याट मएको तथ्याङ्क समेत प्रस्तुत गरे ।

कार्कीपछि बोलेका नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले आफू पनि १२ बर्षअघि धितोपत्र बोर्डको अध्यक्ष रहेको र नेपाली पुँजीबजारको विकासक्रमलाई आफूले सुक्ष्म ढंगले नियालिरहेको बताउँदै राष्ट्र बैंकले बोर्डको काममा कुनै पनि रिजर्भेसन नगरेको बताएका छन् ।

आफू बोर्डमा रहँदा एकै व्यक्तिले ४८ हजारओटा सम्म नागरिकता बोकेर शेयर भरेको उदाहरण दिँदै त्यतिबेला बैंक खाता नभई शेयर भर्न नपाउने व्यवस्था गर्दा आफूविरुद्ध सडकमा मुर्दावादको नारा घन्किएको स्मरण गरे । ‘शेयर बजार बढ्दा वा घट्दा नेपाल राष्ट्र बैंकलाई कुनै फाइदा र घाटा छैन, त्यसैले हामीले हामीले बजारमा किन हस्तक्षेप गर्छौ र ?’– गभर्नर नेपालको प्रश्न थियो ।

गभर्नर नेपालले आधारभूत पुँजीको २५ प्रतिशतसम्म मार्जिन लेन्डिङ गर्न पाउने व्यवस्थाले बजारमा ९३ अर्ब रुपैंयासम्म शेयर कर्जामा लगानी गर्न सकिने तर अहिले ३४ अर्ब मात्र लगानी भएको भन्दै आफूले लिएको नीतिका विषयमा कुरै नबुझी आलोचना गर्ने गरेकोमा दुखेसो समेत पोखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.