डोल्पावासीलाई न्यायो जुत्ता प्रदान गर्ने अभियानमा राजधानीका विद्यार्थीहरू

  २०७५ मंसिर २५ गते १२:०७     विकासन्युज

काठमाडौँ । राजधानीका विद्यार्थी युवाले जुत्ता सङ्कलन कार्य सुचारु गरेका छन् । डोल्पाका विद्यार्थीलाई जाडोका लागि न्यानो जुत्ता पठाउन उक्त काम सुरु गरेका हुन् ।

एपेक्स कलेजका विद्यार्थीले ‘जाडोमा जुत्ता अभियान’ अन्तर्गत सङ्कलन गरेको ४७६ जोर जुत्ता ‘स्वतन्त्र जाग्रित युवा समूह’लाई हस्तान्तरण गरेका हुन् ।

‘एपेक्स हेल्थ एजुकेसन अवारनेस’का अध्यक्ष विद्यार्थी आष्मा पौडेलले डोल्पाका विद्यार्थीले कठ्याङ्ग्रिदो जाडोमा पनि नाङ्गै खुट्टा हिँड्न नपरोस् भनेर न्यानो जुत्ता सङ्कलन अभियान चलाएको जानकारी दिएका छन् ।

आजको युगमा कोही पनि नाङ्गो खुट्टा हिँड्न नपरोस् भनेर अभियान शुरु गरेको बताउँदै डोल्पाका विभिन्न विद्यालय र स्थानीय विपन्न समुदायलाई समेत जुत्ता वितरण गरिने युवा समूहका अध्यक्ष इञ्जिनीयर सशांक न्यौपानेको भनाई रहेको छ ।

डोल्पावासीलाई जाडोमा न्यानो जुत्ता लैजान युवा समूहले एक हप्तादेखि एक हजार जोड जुत्ता सङ्कलनका लागि कलेजमा अभियान चलाइ रहेको छ । पुसको पहिलो साता सङ्कलित जुत्ता डोल्पा पुर्याएर वितरण गरिने भएका छन् । राजधानी काठमाडौँका एपेक्स, नामी, ब्रुकलेन, नेपाल इञ्जिनीयरिङ कलेज लगायत ४० कलेजबाट जुत्ता सङ्कलन गरिने भएका छन् ।

कान्तिपुर क्याम्पसका स्ववियु सभापति पावल बज्राचार्यले काठमाडौँका युवाले लगाउन मिल्ने जुत्ता सङ्कलन गरेर विकट गाउँका विद्यार्थीलाई वितरण गर्ने उद्देश्यले अभियान चलाइएको जानकारी दिएका छन् । यो अभियान अन्तर्गत लगाउन मिल्ने ‘सेकेण्ड हेण्ड’ जुत्ता सङ्कलन गरिने छ । विगतमा विभिन्न संस्थाले जाडोमा न्यानो सिरक, कम्बल तथा अन्य लत्ताकपडा वितरण गर्ने गरेको सन्दर्भमा जाडोमा जुत्ता नयाँ अभियान सुरु गरेको जनाएका छन् । रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.