सेयर बजार १२ अंकले बढ्यो, यस्ता छन् कारण

  २०७५ मंसिर २४ गते १५:२०     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजार १२.४९ अंकले उकालो लागेको छ । पुँजी बजारमा लगानीकर्ताको मनोबल बढ्दै गएपछि यस साताको शुरुवातदेखि नै सेयर बजार निरन्तर दोहोरो अंकले उकालो लागेको हाे ।

नेपाल धितोपत्र बोर्डले आइतबार साझ एक विज्ञप्ति जारी गरी अहिलेकाे समय सेयरमा लगानी गर्न उपयुक्त समय रहेको बताएपछि लगानीकर्ताको सेयर बजारप्रति मनोबल बढ्दै गएको हो ।

त्यस्तै, अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर शिवराज श्रेष्ठको नेतृत्वमा समिति गठन गरेपछि सेयर बजार बढ्दै गएको जानकारहरु बताउँछन् । अर्थमन्त्रालयले वित्त र सेयर बजारको समस्याको उपाय खोज्न उक्त समिति गठन गरेको हो । समितिले आगामी एक हप्ताभित्र प्रतिवेदन बुझाउन माग गरेको छ ।

त्यसैगरी, आइतबारदेखि पूर्ण अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएपछि लगानीकर्ताहरु उत्साहित भएका छन् । आफै युजर नेम र पासवर्ड लिई सेयर खरिद बिक्री गर्न पाउने भएपछि लगानीकर्ताहरु सेयर बजारमा आकर्षित देखिएका छन् ।

सोमबारको बजारमा नेप्से परिसूचक सँगै सेयर कारोबारमा पनि सुधार आएको छ । आइतबार २२ करोडको कारोबार भएको बजारमा सोमबार ४३ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा २१ करोड रुपैयाँ बढी हो ।

बजारमा कारोबारमा आएका १० समूहमध्ये अधिकांश समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको सूचक ९८ अंकले उकालो लागेको छ । त्यस्तै, निर्जीवन बीमा समूह ७२.०५, होटल २३, माइक्रोफाइनान्स १८ र बैंकिङ समूह १३ अंकले बढेका छन् । उत्पादनमूलक र अन्य समूहको सूचक भने सामान्य अंकले ओरालो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.