धितोपत्र बोर्डले भन्यो-‘सेयरमा लगानी गर्न उत्तम समय हो अहिले’, २० वटा आधार समेत प्रस्तुत

  २०७५ मंसिर २३ गते १८:३३     विकासन्युज

काठमाडौं । आइतबार नेप्से परिसूचक ११ अंकले बढेपछि नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरेको छ । बोर्डले विभिन्न २० आधार समेत पेस गर्दै यतिबेला सेयर किन्न उत्तम समय भएको जनाएको छ ।

देशमा राजनीतिक स्थायित्व कायम भईसकेको, सरकारले वित्तीय प्रणालीमा विभिन्न सुधारका कार्यक्रमहरु अगाडि बढाई पूँजीबजार मार्फत देशको आर्थिक समृद्धिमा जोड दिएको, सूचीकृत संगठित संस्थाहरुले साधारण सभा गर्ने क्रममा रहेका, साधारण सभा गर्ने संस्थाहरुले लाभांसको समेत घोषणा गरिरहेका, धेरै जसो सूचीकृत संगठित संस्थाहरुले प्रकाशन गरेको यस आ.ब. को प्रथम त्रैमासिक अवधिको वित्तीय विवरणमा नाफाको अवस्था देखिएकोले अहिले लगानी गर्दा जोखिम नहुने बोर्डको तर्क छ ।

त्यस्तै, सरकार र बोर्डले हाल बजार विकास तथा सुधारका लागि विभिन्न कार्यक्रमहरु अगाडि बढाईएको, पूँजीबजारमा विगत केही वर्षहरुदेखि अन्यौलको रुपमा रहेको भ्याटको समस्यालाई समाधान गरी स्थायित्व दिएको, बजारको दीर्घकालिन विकासको लागि सरकारले प्रोत्साहन मूलक नीति तथा कार्यक्रमहरु अगाडि बढाएको बोर्डले स्मरण गराएको छ ।

धितोपत्रको प्राथमिक बजार ७७ जिल्लामा विस्तार भैसकेको, दोस्रो बजारको कारोवार पूर्ण स्वचालित अनलाईन प्रणालीमा जाने क्रममा रहेको र दोस्रो बजारको दायरा अझै फराकिलो बनाउन बोर्डको आ.ब. २०७५/७६ को नीति तथा कार्यक्रम अनुसार संघीय संरचना अनुसार विभिन्न प्रदेशहरुमा आर्थिक रुपमा सक्रिय जिल्ला/स्थानहरुमा (काठमाण्डौ उपत्यकावाहेक) स्थानीय स्तरमा धितोपत्र दलाल व्यवसायीको अनुमति पत्र प्रदान गर्न आवश्यक कार्य अगाडि बढाउन बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिइसकेको, धितोपत्र बजारमा धितोपत्र व्यापारी (डिलर)लाई प्रवेश गराउन भैरहेको तयारीकोे सम्बन्धमा समेत नेप्सेसँग जानकारी माग गरेको लगायत सुधारका धेरै काम भएको अवगत गराएको छ ।

बैंकहरुले निक्षेपमा १३ प्रतिशत व्याज दिन थालेको, बैंकहरुले १०.५ प्रतिशत व्याजदरमा जारी गरेको ऋणपत्र समेत विक्री नभएको, सेयर कर्जा प्रति राष्ट्र बैंकको नीति अनुदार रहेको विषयमा भने धितोपत्रबोर्डको मौन रहेको छ ।

बोर्डले बैकल्पिक लगानी कोष नियमावली मार्फत प्राइभेट इक्यूटी, भेन्चर फण्ड र हेज फण्ड प्रबेश गराई कम्पनीहरुलाई चाहिने दीर्घकालीन कोषको व्यवस्था गर्ने कार्य अगाडि बढी सकेकोे छ भने मार्जिन ट्रेडिङ्ग शुरु गर्ने कार्य समेत अन्तिम चरणमा पुगेको समेत जनाएको छ ।

त्यसैगरी नेपाल सरकार र नेपाल धितोपत्र बोर्डले धितोपत्रको प्राथमिक र दोस्रो बजार विकास तथा सुधारका विभिन्न कार्यहरु अगाडि बढाईरहेको, देशको समष्टिगत आर्थिक अवस्था तथा पछिल्लो समयमा सूचीकृत कम्पनीहरुको वित्तीय कार्यसम्पादन समेत सन्तोषजनक रहेको, सरकारले पूँजीबजार र मुद्रा बजारमा वित्तीय स्थायित्व कायम गरी औद्योगिक एवं पूँजीबजारमा लगानीका समस्याहरु पहिल्याएर सात दिन भित्र सुझाव पेश गर्न अध्ययन समिति गठन गरेको सबैलाई अवगत गराएको छ ।

लगानीकर्ताहरुको समेत प्रतिनिधित्व रहेको उच्च स्तरीय उक्त समितिले दिने सुझावहरुको कार्यान्वयनबाट बजार विकास एवं स्थायित्व अभिबृद्धि हुनेमा बोर्ड विश्वस्त रहेको आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विगतमा धितोपत्र बोर्डले सेयरको मूल्य बढ्दा मात्र विज्ञप्ती जारी गरी लगानीकर्तालाई होसियार हुन सचेत गर्दै आएको थियो । पछिल्लो समय सेयर बजारमा मन्दी देखिएपछि बोर्डले लगानीकर्ताको मनोबल बढाउने विज्ञप्ती जारी गरेको छ ।

बैंकहरुले निक्षेपमा १३ प्रतिशत व्याज दिन थालेको, बैंकहरुले १०.५ प्रतिशत व्याजदरमा जारी गरेको ऋणपत्र समेत विक्री नभएको, सेयर कर्जा प्रति राष्ट्र बैंकको नीति अनुदार रहेको विषयमा भने धितोपत्रबोर्डको मौन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.