को बन्ला १ खर्ब १५ अर्बको टेलिकम हाक्ने प्रबन्ध निर्देशक ? छनोट प्रक्रिया शुरु

  २०७५ मंसिर २३ गते १६:५०     खेमराज श्रेष्ठ

काठमाडौं । सरकारले नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया सुरु गरेकाे छ। सरकारले मंसिर १७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ३ सदस्यीय छनोट समिति गठन गर्ने निर्णय गरेपछि नेपालकाे सबैभन्दा ठुलाे टेलिकम कम्पनीकाे रुपमा रहेकाे नेपाल टेलिकममा नयाँ नेतृत्वबारे चर्चा सुरु भएकाे हाे  ।

गत साउन २९ गतेकाे मन्त्रिपरिषद् बैठकले तत्कालिन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेपछि टेलिकममा कार्यकारी प्रमुखकाे पद रिक्त थियाे । भण्डारीले  अाफ्नाे बर्खास्तीकाे निर्णय गैरकानूनी भएकाे भन्दै पुनर्बहालीका लागि सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उक्त रिटविरुद्ध सरकारले अन्तरिम अादेश नदिएपछि सरकारलार्इ नयाँ प्रबन्ध निर्देशक नियुक्तिका लागि बाटाे खुलेकाे थियाे ।

मन्त्रिपरिषदको बिहीबार सार्वजनिक गरेकाे निर्णयानुसार अब सञ्चार मन्त्रालयको सचिवको नेतृत्वमा ३ सदस्यीय समिति गठन गर्नेछ । उक्त समिति एक हप्ताभित्रै बनिसक्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता  मुकुन्द शर्माले जानकारी दिए । उक्त समितिले प्रबन्ध निर्देशकमा खुल्ला प्रतिस्पर्धाका लागि आव्हान गर्नेछ । प्रबन्ध निर्देशकका अाकांक्षीहरुमध्ये छनाैट समितिले उत्कृष्ट ती जनाकाे नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने व्यवस्था छ ।  प्रवक्ता अधिकारीका अनुसार गठित समितिले काम सुरु गरेको २१ दिनभित्र आवेदकहरुबाट छानेर ३ जनाकाे नाम मन्त्रिपरिषदमा पेश गर्नेछ । सिफारिस भएका तीन जनामध्ये एकलार्इ मन्त्रीपरिषदले प्रबन्ध निर्देशककाे रुपमा नियुक्त गर्नेछ ।

नेपाल दूरसञ्चार प्रधिकरणको तथ्याकं अनुसार हाल टेलिकमका १ कराेड ९५ लाख प्रयोगकर्ता छन् जुन कुल प्रयाेगकर्ताकाे  ४० प्रतिशत हाे । कुल १५ अर्ब चुक्ता पुँजी भएकाे उक्त कम्पनीमा जनताकाे समेत लगानी छ । टेलिकमकाे बजार पुँजीकरण १ खर्ब १५ अर्ब भन्दा बढी छ जुन सूचिकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै हाे ।

टेलिकममा हाल सूर्यभक्त पोखरेलले कामु प्रबन्ध निर्देशककाे भूमिका निर्वाह गरिरहेका छन् । लामाे समयदेखि टेलिकममा प्रमुख कार्यकारी नहुँदा कम्पनीकाे दैनिक प्रशासनिक कार्यमा समेत असर परेकाे टेलिकम स्राेतकाे दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.