अलैची निर्यातमा नेपाल विश्वकै अग्रस्थानमा रहे पनि बजारिकरणमा समस्या

  २०७५ मंसिर २३ गते ११:३१     ओमप्रकाश घिमिरे

तेह्रथुम जिल्लाको लसुनेमा रहेको केप्छाकी बहुउदेश्यीय नर्सरी फर्मले १०० रोपनी जग्गामा २० लाख अलैचीका बेर्ना लगाएको छ । दुई जनको साझेदारीमा संचालित जिल्लाकै ठूला अलैची नर्सरीले आगामी जेष्ठ असारमा बेच्न सकिने गरी तयारी गरिएका बेर्नाको चलनचल्तीको मूल्य न्यूनतम पनि प्रति बेर्ना पाँच रुपैयाँ दरले बिक्री गर्दा एक करोड रुपैयाँ आम्दानी हुन्छ । तर पहाडी जिल्लाको चिसो हावापानीले गर्दा बिगतका वर्षमा नर्सरीमा लगाइएको करिव २५ प्रतिशत बेर्नाको नोक्सानी हुन्थ्यो । यस पटक भने नर्सरीले बेर्नालाई तुसारोबाट बचाउने कृषि जाली प्रयोग गरेको छ , जसले गर्दा नोक्सानीलाई १५ प्रतिशतमा घटाउन सकिने फर्मका संचालक त्रिलोचन पोखरेल बताउँछन् । उनी भन्छन्, “अलैची आम्दानीको राम्रो श्रोत भएको बाली हो । तर यसको बेर्ना उत्पादन देखि दाना सुकाउने सम्म साना–साना समस्याको सुधार गर्न नसक्दा हामीले धेरै आम्दानी गुमाएका छौ । कृषि जाली प्रयोगबाट मात्र पनि हामीले करिव १० प्रतिशत बेर्नाको नोक्सानी घटाउन सक्ने भएका छौ यसले नर्सरीको १० प्रतिशत आम्दानी बढाउँछ ।”

अलैचीको राम्रो संभावना भएको जिल्ला इलाममा केहि वर्ष अघिसम्म सुस्ताएको अलैची खेति गत वर्षदेखि किसानहरुको चासो र चहलपहल बढ्दै गएको छ । पछिल्लो समयमा घट्दै गएको अलैचीको बजार भाउ र अलैची बालीमा लागेको रोगका कारण धेरै किसानहरुमा अलैचीप्रति निराशा छाएको थियो । तर गत वर्ष देखि जिल्लाका सहकारी तथा अन्य संस्थाले उन्नती परियोजनासंगको साझेदारीमा नयाँ बिउबाट अलैचीका बेर्ना तयार गर्ने देखि किसानहरुलाई यस बारेमा नयाँ ज्ञान र सिप सिकाउने कार्यले व्यापकता पाए पछि उनीहरुमा अलैची खेति प्रति फेरी उत्साह पलाएको छ । यस्ता बेर्नाबाट तयार भएका विरुवाको आयु पनि लामो हुने र रोगसंगको प्रतिरोधात्मक क्षमता पनि बढि हुने थाहा पाए पछि उनिहरु फेरी अलैची खेति शुरु गर्ने तयारीमा छन् । नयाँ तरीकाले अलैची खेति गर्न इच्छुक ४ सय ७५ जना किसानहरुलाई सुर्योदय नगरपालिकाको कर्मशील कृषि सहकारीले अलैची नर्सरी व्यवस्थापन तथा अलैची खेति सम्बन्धी तालिम दियो । तालिम लिएका मध्ये करिव ८० प्रतिशत किसानहरु अलैची खेति गर्न इच्छुक देखिएको सहकारीका निवर्तमान अध्यक्ष सुवास खड्का बताउछन् ।

किसानहरुको बढ्दो मागलाई सम्बोधन गर्न अहिले सहकारीले २० हजार बेर्नाको अलैची नर्सरी बनाएको छ । यो बेर्ना आउदो जेष्ठ असारमा रोपिनेछ । कतिपय किसानहरुले व्यक्तिगत रुपमा आफ्नै नर्सरी बनाएका छन् । सुवा खड्का भन्छन्, “कुनै समय एक मन –
४० केजी) अलैची एक लाख बीस हजार रुपैयाँमा पनि बिक्यो । तर अहिले प्रति मन ३० हजार रुपैयाँमा बिकेको छ । केहि वर्ष पहिले रोग लागेर अलैचीको पुरानो बगान मासिएको छ । अलैचीको बजार भाउ पनि खस्किएकाले किसानहरुमा अलैची खेति प्रति निराशा छाएको थियो । तर उन्नतीसंगको सहकार्यमा सहकारीले अलैचीको बेर्ना उत्पादन र आधुनिक खेति सम्बन्धी तालिम दिएपछि धेरै किसानहरु फेरि अलैची खेति तर्फ फर्कन थालेका छन् ।”

नेपालको पूर्वी पहाडमा बढि मात्रमा फल्ने अलैचीलाई स्थानीय बासिन्दा कालो सुन पनि भन्ने गर्छन् । तर केहि समय यता घट्दो बजार भाउ र अलैचमिा लागेको रोगका कारण यसको खेति गर्ने किसानहरु देखि व्यापारीमा अलैचीप्रति निराशा छाएको थियो । अलैचीको बजार संभावनालाई सदुपयोग गरी यस क्षेत्रको आर्थिक अवस्थामा सुधार ल्याउन नयाँ तरिकाले अलैची खेति गर्ने र यसको बजारिकरणमा देखिएका समस्याको समाधानलको उपाय अपरिहार्य थियो । यसका लागि डेनमार्डक सरकारको सहयोगमा संचालित उन्नती परियोजनाले किसान र व्यवसायीको तहमा अलैची बेर्नाको नर्सरी व्यवस्थापन देखि बजारीकरणमा सहयोग पुग्ने विभिन्न काम थालेको छ । यसले गर्दा अहिले अलैची खेतिमा केहि नयाँ कामको थालनी गर्न सकिने आशा किसानहरुमा पलाएको छ । उन्नतीको सहयोगमा सात जिलाका १९ हजार भन्दा बढि किसानले अलैची खेति तथा नर्सरी व्यवस्थापन सम्बन्धी तालिम पाएका छन् । सहकारी तथा निजि कम्पनीबाट दिइएको यो तालिमले गर्दा बेर्ना उत्पादन र अलैची खेति दुबैमा बृद्धि हुदै गएको किसान तथा व्यवसायीहरुको भनाइ छ ।इलामका किसान सुजाता भट्टराइ भन्छिन्, “अलैची खेति सुधारका नामम यहाँ धेरै कार्यक्रमहरु आएको सुनियो तर उन्नतकिो जति व्यापक र सबै क्षेत्रलाई समेट्ने कार्यक्रम अरु थिएनन् । यो कार्यक्रमले बेर्ना उत्पादन, बगान व्यवस्थापन देखि उत्पादित् अलैचीको बजारिकरणका सवाललाई समेटेकाले अलैची प्रति हामीलाई नयाँ आशा पलाएको छ । तर यो अभियानलाई यतिमा रोक्नु हुदैन, यसलाई कुनै न कुनै रुपमा निरन्तरता दिनु पर्छ । यसबारेमा सरकारले पनि सोच्नु पर्छ किनभने उन्नती परियोजना त अब सकिदैछ ।”

नेपालमा बार्षिक ५ हजार मेट्रिक टन भन्दा बढि अलैची उत्पादन हुन्छ । जसमध्ये ९५ प्रतिशत भन्दा बढि निर्यात हुन्छ । नेपाली अलैचीको उभोक्ता बजार तेस्रो मुलुक हो , जहाँ यसको बजार माग र मूल्य दुबै राम्रो छ । तर तेस्रो मुलुक पुग्ने नेपाली अलैची भारतबाट मात्र निर्यात हुने भएकाले नेपालले तेस्रो मुलुकबाट पाउने मूल्य गुमाइरहेको छ । अलैची निर्यातमा नेपाल विश्वकै अग्रस्थानमा परेता पनि बजारिकरणमा देखिएका समस्या समाधान गर्न नसक्दा हामीले अलैचकिो उच्च मूल्य गुमाएका छौ । अलैची व्यवसायी महासंघ धनकुटाका अध्यक्ष इन्द्र तामाङका अनुसार नेपाल सरकारले अलैची विकास सम्बन्धी बोर्ड गठन गर्ने काम मात्र गरे पनि अहिलेको मूल्यमा प्रति मन ५० हजार रुपैयाँ सम्म बढि मूल्य नेपाली अलैचीले पाउँन सक्छ । तर सरकारले अलैची व्यवसायको बारेमा ध्यान नदिएकाले यो संभाव्य मूल्य नेपालले गुमाएको उनको गुनासो छ ।

नेपालमा अलैची भण्डार गर्ने आधुनिक गोदाम घर नहुनु पनि बजारिकरणको आधारभूत समस्या हो । त्यसैले धनकुटा उद्योग बाणिज्य संघ र अलैची व्यवसयी महासंघ धनकुटा शाखाले तीन करोड रुपैयाँ बढिको लगानीमा धनकुटाको हिलेमा २ लाख केजी अलैची भण्डारण क्षमताको आधुनिक गोदाम घर निर्माण गरेका छन् । धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे भन्छन्, “ नेपालको कूल अलैचीको ६५ प्रतिशत हिस्सा कोशी करिडोर हुदै जाने भएकाले धनकुटाको हिलेमा निर्माण गरिएको उच्च क्षमताको गोदाम घरले किसानहरको अलैचीलाई भाउ नभएको समयमा भण्डारण गरी राख्ने र भाउ भएको समयमा बेच्ने सुविधा दिनेछ । यसले गर्दा अलैचीको बजारलाई किसानको नियन्त्रणमा राख्न र बढि मूल्य दिन केहि सहयोग पुग्ने छ । त्यसैले हामीले उन्नतीसंगको सहकार्यमा यो गोदाम घर निर्माण गरेका हौ ।”

यो गोदाम घर संचालनमा आएपछि हाल उत्पादन भइरहेको अलैची र भविष्यमा बढ्ने थप अलैची समेत भण्डारण गर्ने, अलैचीको श्रेणी विभाजन गरी गुणस्तर बढाउँने र एकै ठाउँबाट बिक्रि गरिने भएकाले अलैचीको थप मूल्य किसानहरुलाई दिनका लागि यो गोदाम घर सहयोगी हुनेछ । धनकुटाका अलैची किसान लाखमान घिसिंग भन्छन्, “अहिले अलैचीका बेर्ना उत्पादन गर्ने र खेति गर्ने किसानहरु बढिरहेकाले यसको उत्पादन पनि बढ्दै जान्छ । तर भारतीय व्यापरीमा निर्भर भएकाले नेपाली किसानहरुले निकै थोरै मूल्य पाइरहेका छन् । बजार सुधारका लागि कुनै प्रयास नभएको बेलामा यो गोदाम घर बने पछि यसले हामी जस्ता किसानलाई पनि फाइदा हुन्छ भन्ने आशा लागेको छ । ”

नेपालका ४० जिल्लाको करिब १४ हजार हेक्टर क्षेत्रफलमा अलैची खेती गरिन्छ । यस मध्ये ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, शंखुवासभा र भोजपुर जिल्ला अलैचीका हब जोन मानिन्छ । कुनै समय निकै राम्रो आम्दानीको श्रोत रहेको अलैची पछिल्लो समयमा समस्यैसमस्याबाट गुज्रिएको छ । अलैचीको दीर्घकालिन विकासका लागि छुट्टै कानून अन्तर्गत बोर्ड गठन गर्नु पर्नेमा किसान र व्यवसायीले माग गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.