२०७५ मंसिर २२ गते १०:४० ओमप्रकाश घिमिरे
पाँचथर जिल्ला चरिभन्ज्याङ्गमा रहेको पाथीभरा टि स्टेट प्रा लि. अर्गानिक प्रमाणित भएको चिया उद्योग हो । यसलेले अघिल्लो वर्षसम्म पुरानो प्रविधिबाट प्रसोधन गर्दा वार्षिक पाँच हजार केजी चिया उत्पादन गर्दथ्यो । तर यो वर्ष उद्योगले उन्नती परियोजनासंगको सहकार्यमा नयाँ भवन र नयाँ प्रसोधन उपकरणहरु थप्यो, जसबाट चिया उत्पादन १२ हजार के जी पुग्यो ।
करिव १४ सय रोपनी क्षेत्रफलमा आफ्नै चिया बगान भएको यो कम्पनीको अहिले तयारी चियाको गुणस्तर पनि बढेको छ । चिया किन्नका लागि विदेशी क्रेताहरु उद्योगमै आउन थालेको छन् । ९० प्रतिशत भन्दा बढि बजार युरोप र अमेरिकामा रहेको यो कम्पनीले आगामी वर्ष २० हजार के जी तयारी चिया उत्पादनको लक्ष्य राखेको कम्पनीका संचालक राजन भट्टराइ बताउछन् । उनि भन्छन्, “उन्नती संगको सहकार्यले कम्पनी मात्र होइन यो क्षेत्रका सयौ किसानहरुले पनि चिया खेति सम्बन्धी तालिम लिएका छन् र अर्को वर्ष देखि उनिहरुको पनि उत्पादन बढ्छ, जसबाट किसानहरुले पनि फाइदा लिनेछन् ।”
इलामको देउमाइ नगरपालिका नवमी निवासी नेत्र प्रसाद बरालले गत वर्ष उन्नती परियोजनाको सहयोगमा चिया बाली सम्बन्धी तालिम लिएपछि चियाको स्याहारसुसार गर्ने तरिकामा परिवर्तन गरे । नयाँ तरिकाबाट चियाको काँटछाँट, गोडमेल र टिप्ने काम गर्दा उनले आफ्नो पाँच रोपनी जग्गामा एक सय केजी बढि चियाको पत्ता निकाले । यसबाट उनको आम्दानी ६ हजार रुपैयाँ बढ्यो । नयाँ तरिकाले चिया बगानमा काम गर्दा नेत्र प्रसादले जस्तै आम्दानी बढाउन सकिएको स्थानीय किसान मदन बराल र रनबहादुर मगरको भनाइ छ । उनिहरु प्नि सोही तालिमका सहभागि हुन् ।
उल्लेखित दुई घटनाले यो स्पष्ट पारेका छन् कि नेपालको चिया क्षेत्रमा थोरै मात्र सुधार गर्दा पनि त्यसबाट किसान र व्यवसायीको तहमा राम्रो संग आम्दानी बढाउन सकिन्छ । यहि संभावनाका साथ डेनमार्क सरकारको सहयोगमा सन् २०१४ देखि संचालन भइ सन् २०१८ को अन्तिममा सकिदै गरेको उन्नती परियोजनाले पूर्वी नेपालमा ७ पहाडी जिल्लामा अर्थोडक्स चियाको विकासका लागि सहयोग गर्यो । यस अन्तर्गत परियोजनाले ३९ करोड ४८ लाख रुपैयाँ चिया उद्योग र चिया किसानको क्षमता विकास, पूर्वाधार विकास र आधुनिक उकरणका लागि सहयोग गरेको छ । यति नै परिमाणमा चिया व्यवसायीबाट लगानी थपिएको छ । यो सहकार्यमा ५२ वटा सहकारी तथा निजि चिया उद्योगहरु जेडिएका छन् जसले पहिलेभन्दा आफ्नो उत्पादन क्षमता बढाएका छन् भने गुणस्तरमा पनि सुधार गरेका छन् ।
तालिमबाट सात जिल्लाका ८ हजार बढि किसानहरुले चियाखेतीको बारेमा नयाँ ज्ञान र सिप सम्बन्धी तालिम पाएका छन् । त्यसमध्ये ५३ प्रतिशत महिला रहेका छन् । तालिमका सहभागिमध्ये अधिकांशले पहिले भन्दा चिया उत्पादन बढाएको परियोजनाको भनाई छ । चिया किसान र चिया उद्योगीमा संगसंगै गरिएको यो सहयोग समग्र चिया क्षेत्रको विकासका लागि एक सिक्न लायक नतिजामुखी कार्यक्रम बनेको छ ।
हाल ग्रामिण क्षेत्रका कतिपय चिया सहकारीले आफ्नै प्रसोधन उद्योग पनि संचालन गरेका छन् । विगत दुई दशकदेखि स्थानीय किसानको हरियो चियापत्ती संकलन गरी धनकुटाको उद्योगमा विक्रि गर्दै आएको तेह्रथुम लसुनेको सिंहदेवी चिया उत्पादक सहकारी ले यो वर्ष आफ्नै प्रसोधन उद्योग शुरु गर्यो । ४० हजार केजी प्रति वर्ष उत्पादन क्षमता भएको यो नयाँ उद्योगले दुई सय १० जना किसानको चिया खरिद गर्छ । व्यवस्थाक शंकर खनालका अनुसार “यो उद्योग बन्नु भन्दा पहिले किसानहरुले धनकुटामा चिया बेच्थे । उनिहरुले एक वर्ष पछि मात्र भुक्तानी पाउथे तर अहिले उनिहरुले गाउँघरमै चियाको पत्ता बेच्न पाएका छन् र मूल्य पनि प्रति केजी ४ रुपैयाँ बढि नै पाएका छन् ।”
विगत २० वर्ष देखि चिया विकास अभियानमा लागेका खनालका अनुसार चियाको पत्ता बेच्नु भन्दा प्रसोधन गरेको तयारी चियाबाट ५० प्रतिशत सम्म थप आम्दानी बढाउँन सकिन्छ । त्यसैले गाउँमै प्रसोधन उद्योग भएपछि प्रसोधनमा थपिने नाफा समेत किसानहरुले पाउँने भएका छन् । व्यवस्थापक खनालका अनुसार अर्को वर्ष देखि यो उद्योग पूर्ण क्षमतामा संचालनमा आउने गरी काम भएको छ । यसो भएमा उद्योगले वार्षिक करिब ४ करोड रुपैयाँको बारोबार गर्नेछ । यसबाट सहकारीलाई ४० लाख रुपैयाँ नाफा हुने छ । यो नाफा पनि किसानहरुलाई नै बाँडिनेछ ।
नेपालको उच्च पहाडी क्षेत्रमा उत्पादन हुने अर्थोडक्स चियाको अन्तर्राष्ट्रिय बजार माग राम्रो छ । तर थोक क्रेताले खोजेको गुणस्तर र परिमाणको चिया समयमै उपलब्ध गराउने सुनिश्चितता नभएका कारण नेपालले चियाको संभाव्य फाइदा गुमाइरहेको छ । नेपालको चियाको करिब ९२ प्रतिशत निर्यात हुन्छ । निर्यात हुने परिमाणमध्ये पनि झण्डै ८० प्रतिशत चिया बिक्रिका लागि भारतीय व्यापारीमा निर्भर हुनु परेको छ । यदि हामीले उत्पादन गर्ने किसान देखि प्रसोधन गर्ने उद्योगसम्मलाई सुधार गरेमा भारतमाथिको बजार निर्भरता घटाउन सकिन्छ भने अहिले भन्दा धेरै नाफा लिन पनि सकिन्छ । यसबाट थप रोजगारी श्रृजना गरी स्थानीय किसानहरुको आर्थिक अवस्थामा सुधार गरी गरिवी घटाउन समेत ठूलो मद्धत पुग्ने सरोकारवालाहरुको भनाइ छ । इलामको मिस्ट भ्याली टि ईण्डष्ट्रिका संचालक रमेश लिम्बु भन्छन्, “उन्नतीसंगको सहकार्य बाट केहि फ्याकट्री र केहि किसानले मात्र लाभ पाएका छैनन् कि नेपालको चिया विकासबाट कसरी राष्ट्रले फाइदा लिन सक्छ भन्ने कुराको एउटा नयाँ सिकाइ भएको छ । यो सिकाइलाई आगामी दिनमा अन्य चिया उद्योग र चिया किसान समक्ष फैलाउदै जाने हो भने नेपालको चियाले दिने आर्थिक लाभलाई धेरै नै बढाउन सकिन्छ ।”
हाल नेपालमा झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलाम चिया क्षेत्र घोषणा गरिएको छ भने १३ जिल्लाको करिब २८ हजार हेक्टरमा चिया खेति हुन्छ । चिया क्षेत्रबाट एक लाख बढीले रोजगारी पाएका छन् । नेपालबाट वार्षिक करिव साढे २ अरब रुपैयाँ मूल्यको १३ हजार मेट्रीक टन भन्दा बढि चिया निर्यात हुन्छ । उद्योगी तथा किसानहरुका अनुसार अहिले पनि चियामा उत्पादन बृद्धिको विधि अपनाउन नसक्नु, गुणस्तरीय प्रसोधन तरिका लागु गर्न नसक्नु र भारतमा निर्भर भएको बजारको विकल्प खोज्न नसक्नु मुख्य समस्याका रुपमा रहेका छन् । यी समस्याको समाधान गर्न सकिएमा नेपालले चियामा आधारित अर्थतन्त्रको हिस्सलाई थप बढाउँन सक्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.