उत्साह जगायो इलामको अदुवाले, मेसिनकाे प्रयोगले उत्पदान क्षमतामा ५० प्रतिशत बृद्धि

  २०७५ मंसिर २१ गते १३:२०     रीता थपलिया

इलाम नगरपालिका ८ निवासी उषा निरौला केहि समयअघि महिला अधिकार सम्बन्धीका विभिन्न कार्यक्रममा बढि समय दिन्थिन् । बचेको समय आफैले संचालन गरेको इलाम अदुवा प्रसोधन उद्योगमा बिताउथिन् । तर, अहिले उनलाई आफ्नो उद्योगमा नै काम भ्याइनभ्याई छ ।
डेनमार्क सरकारको सहयोगमा संंचालित उन्नती परियोजनासंगको सहकार्यमा उद्योगलाई आवश्यक पर्ने पाँच किसिमका उपकरण खरिद गरेपछि उनको उद्योगको उत्पादन क्षमता बढ्यो र यसका लागि उनले समय पनि बढाउनु पर्यो । उनी भन्छिन्–“पहिले मेसिन नहुदा एक जनाले एक दिनमा ५ केजी अदुवाको काम गर्न सकिन्थ्यो, अहिले मेसिन प्रयोग गरेपछि एक जनाले दिनमा २० केजी सम्मको काम गर्न सकिन्छ । यसले गर्दा स्वभाविक रुपमा आफूले बढि समय दिनै पर्ने हुन्छ । त्यसैले अहिले उद्योगमा नै बढि समय बित्छ ।”

इलाम प्रसस्त अदुवा उत्पादन हुने जिल्ला हो । यसमध्ये पूर्वी पहाडका सात जिल्लाहरु (इलाम, पाचथर, ताप्लेजुंग, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुर) मा हाल ५ हजार हेक्टर भन्दा बढि जमिनमा अदुवा खेती गरी वार्षिक करिव ७० हजार टन अदुवा उत्पादन हुन्छ । त्यसमध्ये सबै भन्दा बढि इलाममा साढे ६ सय हेक्टर बढी जमिन अदुवा खेती गरिन्छ र ४६ हजार टन भन्दा बढी अदुवा उत्पादन हुन्छ । यी सात जिल्लामा उन्नती परियोजना संचालित छ ।

उत्पादन भएको अदुवा प्रसोधन गर्ने ठूलो उद्योग नेपालमा नभएका कारण यसको बिक्रीका लागि अझै पनि भारतीय बजारमा नै निर्भर हुनु परेको छ । यस्तो अवस्थामा उषाले संचालन गरे जस्ता उद्योगले एउटा नमूना प्रस्तुत गरिरहेका छन् कि साना–साना उद्योग संचालनबाट पनि अदुवाका तयारी उपभोग्य वस्तु बनाउन सकिन्छ र यसले केहि मात्रामा भए पनि किसानहरुको अदुवा नेपाली बजारमै खपत गर्न सकिन्छ । उनको अनुभवलाई सिकाइलाई आधार मान्ने हो भने अदुवा प्रसोधन गर्दा सबै भन्दा बढी समय अदुवा पखाल्ने, यसको बोक्रा फाल्ने र चाना पार्ने काममा लाग्छ । तर अहिले यी सबै कामका लागि मेसिन प्रयोग गर्दा उद्योगको उत्पदान क्षमतामा ५० प्रतिशत भन्दा बढि बृद्धि भएको र ८० प्रतिशतसम्म समय बचत भएको छ ।

अदुवा प्रसोधन प्रक्रियामा अर्को संवेदनशील पक्ष भनेको यसलाई सुकाउने काम हो, उषा भन्छिन् । पहिले अदुवाका परिकार सुकाउनका लागि घाममा निर्भर हुनु पर्ने बाध्यता थियो तर छिनछिनमा हुने मौसमी परिवर्तनले सुकाउने प्रक्रियामा बाधा व्यवबधान खडा हुने गर्दथ्यो । अहिले उनीसंग सुकाउने मेसिन पनि छ । यसले गर्दा काम गर्न निकै सजिलो भएको छ ।

यस बारेमा उनी भन्छिन् “इलाम मौसम परिवर्तन भइरहने ठाउँ हो । त्यसैले पहिले त कतिपय समयमा घाम नलागेर अदुवाका तयारी परिकारहरु खेर गए । अर्को कुरा चिनी राखेर बनाइने क्याण्डी सुकाउदा माहुरीले यसको रस चुसेर क्याण्डी नै काम नलाग्ने बनाउने गर्दथ्यो । यस किसिमका धेरै समस्या भोगेकोले उत्पादनको मात्रा र गुणस्तर निकै कम थियो । अहिले मेसिनको प्रयोग पछि यी दुबैमा धेरै बृद्धि भएको छ जसले गर्दा पहिला मासिक २ देखि ३ लाख रुपैयाँको कारोबार हुने गरेको मेरो उद्योगमा अहिले मासिक साढे पाँच लाख रुपैयाँको कारोबार हुन्छ । मेसिनमा आधारित उत्पादन भएपछि यसको बजार माग पनि बढेको छ । मलाई त कतिपय वस्तुमा बजार माग पुरा गर्नै गाह्रो परेको छ ।”

उन्नती परियोजनाबाट उनले १४ लाख रुपैयाँ सहयोग पाइन् र सोही परिमाणको लगानी आफूले पनि थपेर पाँच किसिमका उपकरणहरु खरिद गरिन् । पहिले उनको उद्योगमा मासिक पाँच सय केजी अदुवा खपत हुने गरेकोमा अहिले मासिक दुई हजार देखि तीन हजार के जीसम्म खपत हुन्छ । उद्योगको यो क्षमता बढेपछि अहिले इलामका किसानले उत्पादन गरेको २४ हजारदेखि ३६ हजार केजी सम्मको अदुवा उनको उद्योगले खरिद गर्न सक्ने भएको छ । उनको अनुभवमा गुणस्तरीय अदुवाका उत्पादनको बजार पनि प्रसस्त भएकाले यस्तै साना उद्योग मात्र पनि विभिन्न स्थानमा संचालन गर्न सकियो भने किसानहरुले उत्पादन गरेको केहि अदुवा नेपालमै खपत गर्न सकिन्छ । अदुवाका उत्पादनमा कच्च अदुवामा भन्दा करिव ५० प्रतिशत भन्दा बढि मूल्य थपिने भएकाले यसको लाभ नेपालमा लिन सकिने उषाको भनाई छ । अहिले हामीले यो कच्चा अदुवा भारतमा निर्यात गर्दा यो संभाव्य मूल्य गुमाइरहेका छौ । उषाले भविष्यमा आफ्नो उद्योगलाई थप मजबुत बनाउदै अझ धेरै किसिमका उत्पादनहरु बढाउने र बजार विस्तार गर्ने योजना बनाएको बताइन् ।

तालिमले सघायो उत्पादन बढाउन

उन्नती परियोजनाले मूल्यश्रृंखला कृषि उपजमा अदुवालाई राम्रो संभाव्यता भएको वस्तुमा राखी किसानस्तरमा पनि कार्यक्रम गरेकाले यो प्रयासले अदुवा उत्पादनमा पनि बृद्धि भएको छ । ईलाम नगरपालिका सोयाकका किसान गुन्जमान बस्नेत भन्छन्, “मैले अदुवा खेती गर्न थालेको ३० वर्ष बढि भयो तर मलाई जहिले पनि अदुवाको गाना कुहिने रोगले सतायो । पोहोर साल म सहित तीन सय बढि किसानले अदुवा खेती सम्बन्धी तालिम लियौं । तालिममा सिके अनुसार खेति गर्दा यस पटक अदुवा पनि कुहिएन, उत्पादन पनि करिब २० प्रतिशत बढ्यो ।

त्यति मात्र होइन हाम्रो गाउसम्म उन्नतीले मोटर बाटो पनि बनाइदिएको छ । यसले गर्दा ब्यापरीहरु हम्रै घरआगनमा अदुवा लिन आउँछन्, मूल्य पनि बढि पाएका छौ । पोहोर साल प्रति मन (चालिस केजी ) आठ सय रुपैयाँमा अदुवा बेच्नु पर्यो । तर यस पटक भने घरमै आएर व्यापरीले प्रति मन २२ सय रुपैयाँमा खरिद गरेका छन् ।” किसानहरुको भनाइ अनुसार सधै एकै किसिमको भाउ पाइन्छ भन्ने ग्यारेन्टी छैन, तर पनि बाटोको सुविधा भएकाले पहिले भन्दा राम्रो हुन्छ र बजार समस्या हुदैन भन्ने आशा बढाएको छ । अर्का किसान टीका धिताल पनि बस्नेतको कुरामा सहमत हुदै भन्छन् , अदुवाको बजार भाउको स्थायी समाधान नेपालमै प्रसोधन गर्ने हो । तर यहाँ बनाएको बाटो र हामीले पाएको तालिम अदुवा किसानका लागि ठूलो र प्रत्यक्ष राहत बनेको छ । उन्नती परियोजना संगको सहकार्यमा तीन सय स्थानीय किसानहरुलाई तालिम दिएका सिंहदेबी कृषि सहकारी संस्था लि. का अध्यक्ष तेज बहादुर घोर्सांई भन्छन्, तालिम पाएका मध्ये ९० प्रतिशत किसानहरुले १५ देखि २० प्रतिशत उत्पादन बढाएका छन् । अदुवाको उत्पादन बढेकोले भविष्यमा यो सहकारीले अदुवा प्रसोधनको सोच पनि बनाएको छ । यदि अदुवा प्रसोधन गर्न सकियो भने हाल बिक्रि भएको कच्चा अदुवालाई कैयौ गुणा बढि मूल्य पर्ने उत्पादन बनाएर बजार पुर्याउन सकिन्छ । उन्नती संग काम गर्दा हामीलाई भविष्यमा अदुवा प्रसोधन गर्ने उर्जा र उत्साह पनि पलाएको छ ।
उत्पादन, प्रसोधन र सडक पूर्वाधार अदुवाको विकासका आधारभूत र अन्तरसम्बन्धित् विषय भएकोले यी सबै पक्षलाई जोडेर काम गर्दा यसले अदुवको विकासमा सहयोग पुग्ने किसानहरुको भनाइ छ ।

नेपालमा अदुवा खेतीमा करिव दुई लाख ७० हजार बढी कृषकहरु संलग्न छन् । देशभर झण्डै २२ हजार हेक्टर जमिनमा दुई लाख ७१ हजार मेट्रिक्टन भन्दा बढी अदुवा उत्पादन हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.