केही दिनदेखि निरन्तर तापक्रम घट्दै, अझै चिसो बढ्ने

  २०७५ मंसिर २० गते १७:१४     विकासन्युज

काठमाडौँ। पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि निरन्तर तापक्रम घट्दै गएकाले चिसो बढेको छ।

उक्त वायुको प्रभावले बदली गराउनाका साथै तापक्रम पनि क्रमशः घट्दै गएकाले बढी चिसो महसुश गरिएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री पुगेको छ । हिजो बुधबार काठमाडौँको न्यूनतम तापक्रम ६ र अधिकतम तापक्रम १९ डिग्रि सेल्सियस रहेको थियो । जाडो याम शुरु भइसकेकाले न्यूनतम तापक्रम तिरन्तर घट्नाका साथै चिसो बढ्ने वरिष्ठ मौसमविद् सुजन सुवेदीले जानकारी दिए। सामान्यतः डिसेम्बरदेखि फेब्रुअरीसम्म जाडो याम मानिन्छ ।

मौसमविद् सुवेदीका अनुसार पश्चिमी वायुको प्रभावका साथै यावुमण्डलमा विकसित भएका स–साना गतिविधिका कारण मौसममा खराबी आएको हो । अहिले पानी पार्ने प्रणालीको विकास हुन सकेको छैन उक्त प्रणाली सक्रिय भए चिसो झनै बढ्नेछ । महाशाखाले आज मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र मध्य पहाडी भेगका एक÷दुई स्थानमा हल्का वर्षा हुने सम्भावना औँल्याएको छ ।

रातको समयमा पनि पश्चिमी पहाडी भेगमा सामान्य बदली र मध्य तथा पूर्वका भू–भागमा आंशिक बदली रहने र पश्चिमका उच्च पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । भोली पनि पूर्वी पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पूर्वी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.