मितेरी पुलको निर्माण चिनिँया सरकारी कम्पनीले शुरु गर्दै, अगामी जेष्ठमा सम्पन्न गर्ने लक्ष्य

  २०७५ मंसिर २० गते ११:४६     विकासन्युज

काठमाडौं । सिन्धुपाल्चोकको तातोपानीस्थित भोटेकोशी नदीको मितेरी पुलको निर्माणकार्य शुरु भएको छ । चीनको सरकारी निर्माण कम्पनी टाइन सुन रोड एण्ड ब्रिज कम्पनीले निर्माणकार्य थालनी गरेको छ ।

पुल २०७६ जेठको दोस्रो सातामा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुल निर्माणको काम शुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

भूकम्पले क्षति पुर्याएको पुलमाथि राखिएको बेलिब्रिजको सामान हटाउने काम भइरहेको छ । बाह्रविसे–तातोपानी २९ किमी सडकखण्ड र लार्चास्थित सुख्खा बन्दरगाहको काम चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी फोर्टिन ब्यूरोले गरिरहेको छ । दुवै काम पनि आगामी जेठको दोस्रो सातामा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

साविक आठ मिटर चौडाइलाई बढाएर सडक तथा पुललाई अब १२ मिटर चौडाइमा विस्तार गरिने भएको छ । सडक र पुलको काम शुरु भएसँगै साढे तीन वर्षदेखि बन्द तातोपानी नाका चाँडै खुल्ने सङ्केत मिलेको छ । तातोपानी र रसुवागढीको सीमा पुल बनाइ दिने चीन सरकारको प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो ।

चीन सरकारले सन् १९६० मा कोदारी–काठमाडौँ ११४ किमी सडक बनाइदिने सम्झौताअनुसार निर्मित मितेरी पुललाई २०३८ सालको बाढीले बगाएपछि चीनकै सहयोगमा सो पुलको साथै झिर्पू पुलसमेत पुनःनिर्माण गरेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.