रू. १२ अर्ब ७५ करोडका ऋणपत्रकाे विजोग, ५ वटा वाणिज्य बैंकहरु तनावमा

  २०७५ मंसिर २० गते १०:३४     विकासन्युज

काठमाडौं । मुद्दती बचतको व्याज १३ प्रतिशत पुगेपछि १० देखि ११ प्रतिशत व्याजदरमा निष्काशन हुँदै गरेको ऋणपत्र बिक्न छोडेको छ । सामान्यतया बचतको व्याजभन्दा ऋणपत्रको व्याज २ प्रतिशत बढी हुँदा मात्र ऋणपत्र बिक्री हुन्छ । तर हाल बजारमा ऋणपत्रको भन्दा बचतको व्याजदर तीन प्रतिशत बढी भएपछि ऋणपत्रको विजोग भएको हो ।

हाल पाँच वटा बैंकले १२ अर्ब ७५ करोड रुपैयाँ ऋणपत्र निष्काशन प्रक्रिया अगाडि बढाएका छन् । ती मध्ये केही ऋणपत्र सार्वजनिक रुपमा निष्काशन भईसकेका छन् भने केही प्रक्रियामा रहेका छन् । तर निक्षेप व्याजदर वृद्धिले उनीहरु तनावमा परेको छन् ।

सानिमा बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्न धितोपत्रबोर्डबाट स्वीकृति लिएको थियो । पहिलो चरणमा बैंकले ४० करोड रुपैयाँको मात्र ऋणपत्र निष्काशन गरेको थियो । ‘१०५ सानिमा डिवेञ्चर–२०८५’ नाम दिइएको उक्त ऋणपत्र १० वर्ष अवधि छ भने वार्षिक व्याज १० प्रतिशत तोकिएको छ ।

सानिमा बैंकको उक्त ऋणपत्रका लागि पर्याप्त आवेदन परेन । कात्तिक ३० गतेदेखि खुला गरिएको ऋणपत्रको आवेदन छिटोमा मंसिर ४ गते बन्द गर्ने भनिएको थियो । तोकिएको न्यूनतम समयभित्र आवेदन नपरेपछि अधिकतम सीमा अर्थात पुस १ गतेसम्म निष्कासन अवधि लम्ब्याएको छ ।

४० करोड ऋणपत्र बेच्न नसकेको सानिमा बैंकले धितोपत्र बोर्डबाट स्वीकृत लिएको १ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र निष्काशन तत्काल हुने सम्भावना टरेको छ ।

सिद्धार्थ बैंक लिमिटेडले यही मंसिर २३ गतेदेखि २ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दैछ । बैंकले १०.५ प्रतिशत ब्याजदरको ७ वर्षे ऋणपत्र “१०.५५ एसबिएल डिबेन्चर २०८२” प्रतिकित्ता रु १००० का दरले बिक्री गर्न लागेको हो । बैंकले ऋणपत्र आवेदन छिटोमा मंसिर २६ गते र ढिलोमा पुस २३ गते बन्द हुने जनाएको छ ।

निक्षेपमा व्याजदर बढे पनि ऋणपत्रमा आवेदन आउने विश्वास सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमको छ । ‘पछिल्लो समय बैंकहरुले व्यक्तिगत निक्षेपकर्तालाई मात्र व्याज बढाएका छन् । संस्थागत निक्षेपकर्ताले अहिले पनि १० प्रतिशत व्याज पाएका छन् । हामीले १०.५ प्रतिशत व्याजमा लामो अवधिको ऋणपत्र जारी गरेको संस्थागत लगानीकर्ताले लिन्छन्’ गौतमले विश्लेषण छ ।

अरु धेरै पाइपलाइनमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँ बराबरको “सिटिजन्स बैंक बण्ड २०८५” निष्कासन गर्दैछ । सो मात्राको ऋणपत्र निष्कासन गर्नको लागि बैंकले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ ।

त्यस्तै, सनराइज बैंक लिमिटेडले १ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न लागेको जनाएको छ । “सनराइज डिबेञ्चर २०८०” नाम दिएको ऋणपत्र ५ वर्ष अवधिको हुने र त्यसको व्याज वार्षिक १० प्रतिशत हुने बैंकले जनाएको छ ।

बढी व्याजदरमा निक्षेप संकलन गरेको भन्दै अन्य बैंकबाट आलोचना खेप्दै आएको एनआइसी एशिया बैंकले अरू बैंकको भन्दा बढी व्याजदरमा बढी रकमको ऋणपत्र निष्काशन गर्दैछ । एनआईसी एशियाले “११ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८५/८६” निष्कासन गर्न लागेको छ । बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने तयारी गरेको छ । ऋणपत्र निष्काशन गर्न बैंकले नेपाल एसबीआई मर्चेन्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

ऋणपत्रलाई न्यून जोखिमयुक्त दीर्घकालीन लगानीको माध्यमको रुपमा लिइन्छ । दोस्रो बजारमा समेत कारोबार हुने उक्त ऋणपत्रको बजार मूल्यलाई कुपन ब्याजदर र प्रचलित ब्याजदरले प्रत्यक्ष रुपमा प्रभावित पार्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.