ककनीका सबै बस्तीमा जोड्ने सडकहरु पक्की गरिनेछ-सीता खतिवडा लामा

  २०७५ मंसिर १६ गते ९:२६     विकासन्युज

सीता खतिवडा लामा, उपप्रमुख- ककनी गाउँपालिका, नुवाकोट

नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नम्बर तीन निवासी सीता खतिवडा लामा २०५९ सालदेखि विद्यार्थी राजनीतिमा लागेकी हुन् । तत्कालिन माओवादीको सशस्त्र द्वन्द्वमा होमिएकी उनी अखिल क्रान्तिकारी नुवाकोटको अध्यक्ष, एरिया इन्चार्ज हुँदै गत स्थानीय निर्वाचनबाट ककनी गाउँपालिकाको उपप्रमख भइन् । बीचमा उनी विभिन्न गैरसरकारी संस्थाहरूमा आवद्व भई सामाजिक विकासका काममा पनि सक्रिय थिइन् । प्रस्तुत छ ककनी गाउँपालिकाको विकाससँग केन्द्रीत भएर देशविकास लागि उपप्रमुख लामासँग गरिएको कुराकानी ।


संघीयतासँगै सिंहदरवार गाउँ–गाउँमा पुगेको छ । एउटा सिंहदरवारको उपप्रमुख भएर काम गर्न कति सजिलो रहेछ ?

एउटा परिवार चलाउन त सजिलो छैन । परिवारको सदस्यलाई खुशी बनाउन सजिलो छैन । हामीले ककनी गाउँपालिकाका सबै जनताको भावना, चाहाना र आकांक्षालाई समेट्नु पर्ने चुनौति छ । यो काम धेरै कठिन छ । गाउँ गाउँमा सिंहदरवार पुग्यो भनिए पनि स्रोत साधनको सीमितता छ । अधिकार र जिम्मेवारीहरुको सीमितता छ । तर पनि जनताको काम गर्दा रमाईलो हुन्छ । जनताको कुरा सुन्न पाएको छु । समाजको समस्या बुझ्न पाइएको छ ।

सुन्ने र बुझ्ने मात्र हो कि जनताका माग पुरा गर्ने, समस्या समाधान गर्ने काम भएको छ ?

काम पनि भईरहेको छ । कतिपय समस्या सम्बोधन भएका छन् । कतिपय समस्या सम्बोधन गर्न प्रयास भईरहेका छन् । केही समस्या समाधान गर्न नसकेको अवस्था पनि छन् ।

चुनावमा जे गर्छौ भन्नु भएको थियो, ती काम भएका छन् ?

चुनावको बेलामा हामीले धेरै प्रतिवद्धता गरेका थियौ । त्यतिबेला २० वर्षपछि जनप्रतिनिधि छानिने क्रममा थियौ । संघीयता आएको, शासकीय स्वरुपमा नै परिवर्तन आएको अवस्थामा हामी चुनावमा थियौ । जनतामा पनि धेरै आकांक्षा थिए । हामी उम्मेदवारमा पनि धेरै जोस, हौसला थियो । धेरै काम गर्न सक्छौं भन्ने थियो । तर, हामी भ्रममा रहेछौं । सोचे जस्तो राम्रो र छिटो काम गर्न सकेका छैनौ । कानुनको अभावले पनि हामीले छिटो काम गर्न सकेनौ । हाम्रो आफ्नै अनुभव पनि कम भयो । हामीले ठूला विकासे कुरा गर्र्यौ तर हामीसँग स्रोत साधनको कमी भयो । व्यवस्थापकीय ज्ञानको पनि कमी भएको महसुश गरेका छौं ।

चुनावपछि ककनी गाउँपालिकामा विकासका काम के के भए ?

यातायतको क्षेत्रमा राम्रो काम भएको छ । सबै वडामा सडक पुगेका छन्, सबै बस्तीहरुलाई सडकले जोडेका छौं । खानेपानी वितरणको काम भएको छ । गाउँ गाउँमा बाँस वा काठको पोलहरु अव्यवस्थित रुपमा थिए । त्यसलाई हटाउने क्रममा १००० भन्दा बढी विजुलीको पोल वितरण गरेका छौं ।

शिक्षाको क्षेत्रमा समस्या थिए । कुनै स्कूलमा विद्यार्थी धेरै, शिक्षक कम, कहीँ शिक्षक धेरै विद्यार्थी कम थिए । हामीले समूदायमा छलफल गरेर केही स्कूलहरु गाभ्ने र शिक्षालाई व्यवस्थित बनाउने काम गरेका छौं । अहिलेको आवश्यकता अनुसारको वैज्ञानिक शिक्षा दिन शिक्षकहरुलाई तालिम दिएका छौं ।

८ वडा मध्ये निर्वाचन पहिले ६ वटा वडामा मात्र स्वास्थ्य केन्द्र थिए, अहिले २ वटा थपेर सबै वडामा स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएका छौं । ४ वटा वडामा वर्थिङ सेन्टर समेत स्थापना गरेका छौं । एउटा एम्बुलेन्स सेवा सञ्चालन गरेको छौं ।

महिलाहरुलाई स्वरोजगार बनाउन तालिम दिने, उत्प्रेरित गर्ने, कृषि औजार वितरण गर्ने, वाली विऊ तथा अनुदान वितरण गर्ने काम भएका छन् । फर्म दर्ता गराउने, व्यवसायिक खेतीमा प्रोत्साहित गर्ने काम भएका छन् । एउटा भैंसी पाल्ने किसानले १५ वटा भैंसी पाल्न थालेका छन् । कतै तरकारी खेती, कतै अदुवा खेती, कतै सुन्तला खेतीको पकेट क्षेत्र घोषणा गरेर भइरहेको छ ।

त्यस्तै, ककनीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गुरु योजना नै बनाएर काम थालेका छौं । यसका लागि गत वर्ष हामीले २० लाख रुपैयाँ छुट्याएर काम अगाडि बढाएका छौं ।

सशस्त्र द्वन्द्वको बेलामा पनि बैज्ञानिक शिक्षाबारे तपाईको पार्टीले धेरै कुरा गर्दथ्यो । अहिले त सत्तामा नै हुनुहुन्छ । ककनीमा शुरु गरिएको बैज्ञानिक शिक्षा कस्तो छ ? पहिला भन्दा अहिले के फरक छ ?

हामीले व्यवहारिक शिक्षामा जोड दिएका छौं । पढेका मान्छेले खेती गर्न हुन्न भन्ने भावना विद्यार्थीमा पैदा भएको छ । मुख्य कुरा शिक्षा बैज्ञानिक हुनुपर्यो । विद्यार्थीको सोचमा परिवर्तन आउनु पर्यो ।

सत्तामा पुगेको बेलामा यसो हुनु पर्यो, त्यसो हुनुपर्यो भनेर मात्र पुगेन नि । तपाईहरुले परिवर्तन के गर्नु भयो ? दुई वर्षअघिको शिक्षा प्रणाली र अहिलेको शिक्षा प्रणालीमा के फरक भयो ?

प्रणाली कै कुरा गर्दा पाठ्यपुस्तक नै परिवर्तन गर्नुपर्छ । त्यो हामीले चाहेर मात्र हुँदैन । हामीले हाम्रो क्षेत्रमा उपयुक्त प्राविधिक शिक्षालय खोन्नुपर्छ भनेर पहल गरिरहेका छौं । हाम्रो आवश्यकता अनुसारको योजना बनाएर प्रदेश सरकार र केन्द्र सरकारसँग माग पनि राखिसकेका छौं । हिजोको दिनमा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर एकदमै खस्केको थियो । त्यसको मुल कारण शिक्षकहरुले पर्याप्त मिहेनत नगरेको पायौं । अहिले हामीले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि नियमित विद्यालयहरुको अनुगमन गरिरहेका छौं । सबै शिक्षकहरुको रेकर्ड हेर्ने, व्यवस्थापन समितिले गरेका निर्णय कार्यान्वयनमा जोड दिएका छौं ।

विकाससँगै गाउँले जीवनमा खर्चको शिर्षक बढेका छन् । गाडी भाडा, मोवाईल खर्च, टिभी खर्च बढेको छ । हिजो रोटी र मकै खाजा खानेहरु अहिले चाउचाउ, विस्कुट जस्ता औद्योगिक उत्पादन किनेर खान्छन् । गर्मीमा महिको सट्टा कोकाकोला वा वियर पिउँछन् । तर आम्दानीका शिर्षक कति बढेका छन् ?

धेरै गम्भिर विषय उठाउनु भयो । हामी पनि चिन्तित छौं । हाम्रो आम्दानी वृद्धि हुन सकेको छैन । युवाहरुमा धेरै विकृति पलायो । देश बनाउन खट्नुपर्ने युवाहरु विहानदेखि बेलुकासम्म चिया पसलमा हुन्छन् । काम छोडेर अरुको विषयमा आलोचना गरेर बिताएका हुन्छन् ।

हामीले गाउँगाउँमा युवा क्लब गठन गर्ने, सहकारी बनाउने, उनीहरुलाई विकास निर्माणमा आकर्षित गर्ने, व्यवसाय लाग्न प्रेरित गर्ने प्रयास गरेका छौं । व्यवसायिक खेती गर्नेहरुको आम्दानी बढेको छ । सडक निर्माणसँगै बजारसम्मको पहुँच सजिलो भएको छ ।

ककनीमा वर्षभरीको लागि सिंचाई छैन । आकाशे पानी परेपछि बारीमा तरकारी लगाउने हो । जतिबेला तरकारी फल्छ त्यतिबेला ककनीका सडकमा गाडी गुड्न छोड्छन्, हिलो र पहिलोको कारण । किसानहरु त एकदमै पीडित भएका छन् नि ?

त्यो पीडा कम गर्नको लागि हामीले काम गरेको छौं । गत वर्ष बस्तीबस्तीमा सडक पुर्यायौं । हाम्राे सबै सडकको स्तरवृद्धि गर्दैछौ, सबै सडक पक्की बनाउँदै छौं । अब वर्षाको बेलामा गाडी नगुड्ने समस्या आउँदैन । ककनीको सबैभन्दा दुर्गम क्षेत्र वडा नम्बर ३ हो । त्यस क्षेत्रमा जाने सडकको लागि १ करोड बजेट विनियोजन गरेको छौं, राजेन्द्रप्रकाश सहिद मार्गका लागि । ३ नम्बर वडामा तरकारी संकलन केन्द्र र चिस्यान केन्द्र खोल्ने, किसानको उत्पादन ढुवानी गर्न छुट्टै गाडी चलाउने योजना बनाएका छौं ।

काठमाडौंको फोहोर ककनीको डम्पिङ साइटमा जम्मा हुँदै आएको छ । फोहोससँगै त्यस क्षेत्रको आर्थिक सामाजिक विकासको लागि हरेक वर्ष करोडौ बजेट जाने गरेको छ काठमाडौंबाट । तर त्यो बजेटले स्थानीय समूदायको हित नगरी सीमित व्यक्तिलाई मात्र धनाढ्य बनाएको सुनिन्छ नि ?

वास्तवमा तपाईले भनेको विषयमा सत्यता छ । फोहोर डम्पिङ साइटमा जम्मा भएको छ । त्यसले स्थानीय समूदायलाई नराम्ररी असर गरेको छ । त्यस क्षेत्रका मानिसमा क्यान्सर रोग बढेको छ । एक वर्षमा ११ जनालाई क्यान्सर रोग लागेको छ । मुटु रोगी बढेका छन् ।

जसले डम्पिङ साइटकाे फोहोर देख्न परेको छैन, सुँघ्न परेको छैन, उनीहरुले नै त्यस परियोजनालाई कमाउने प्राेजेक्ट बनाएका छन् । त्यही परियोजना देखाएर मानिसले काठमाडौंमा घर बनाएका छन् । गाडी चढेका छन् । व्यापार व्यवसायमा लगानी विस्तार गरेका छन् । जनप्रतिनिधि नहुँदा पनि यस्तो समस्या लामो समय रह्यो ।

तर त्यस क्षेत्रमा जाने सेवा सुविधा केही मान्छेको पोल्टामा मात्र परेको छ । यहाँ टाठाबाठाले मात्र राज गरेका छन् । त्यस क्षेत्रमा केही जग्गा भएका र काठमाडौंमा बसोबार गर्ने मानिसहरुले, जसले फोहोर देख्न परेको छैन, सुँघ्न परेको छैन, उनीहरुले नै त्यस परियोजनालाई कमाउने प्राेजेक्ट बनाएका छन् । त्यही परियोजना देखाएर मानिसले काठमाडौंमा घर बनाएका छन् । गाडी चढेका छन् । व्यापार व्यवसायमा लगानी विस्तार गरेका छन् । जनप्रतिनिधि नहुँदा पनि यस्तो समस्या लामो समय रह्यो ।

अब हामीले नयाँ सोच बनाएका छौं । यस फोहोरबाट उर्जा उत्पादन गर्ने, त्यस क्षेत्रमा ५० शैयाको अस्पताल बनाउने, स्थानीय समूदायको आयआर्जन वृद्धि गर्ने योजनाको लागि हामीले केन्द्र र प्रदेश सरकारसँग कुरा गरेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.