विल्डिंग एन्ड कन्स्ट्रक्सन एक्स्पोमा अबलोकनकर्ताको भीड, तीन लाखमै घर बनाइदिने अफर

  २०७५ मंसिर ७ गते १८:३६     विकासन्युज

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा शुरु भएको ‘विल्डिंग एन्ड कन्स्ट्रक्सन एक्स्पो’ को दोस्रो दिन अबलोकनकर्ताको भीड बढेको छ । यस दिन ४० हजार जनाले मेला अबलोकन गरेको सहआयोजक ब्राण्डवर्थका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले बताए ।

मेलाको यो दोश्रो संस्करण हो । मेला मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ । मेलाको पहिलो दिन बिहीबार २५ हजार जनाले अबलोकन गरेका थिए । दुई दिनमा अवलोकनकर्ताको संख्या ६५ हजार नाघेको छ । मेलामा निर्माण सामग्रीका नविनतम प्रविधि, उत्पादनहरु, पेन्टस्, सिमेन्ट, फर्निचर, पाइप एन्ड फिटिंग्स्का स्टलहरुमा घर निर्माण गर्न चाहने अबलोकनकर्ताको भिड लागेको थियो ।

मेलामा क्षमादेवी विल्डिंग मेटेरियल्स्ले प्रिफ्याबका घरहरु सस्तोमा बनाइ दिने योजना ल्याएको छ । कम्पनीले एउटा कोठा ३ लाख रुपैयाँमै निर्माण गरिदिने निर्देशक जयराम अर्यालले दावी गरे । हामीले वातावरणमैत्री सामग्रीबाट सस्तोमा घर बनाइ दिने योजना ल्याएका छौं, उनले भने, घर बनाउन नसक्नेलाई प्रिफ्याबका घर गुणस्तरीय र सस्तोमा बनाइ दिने छौं ।

मेलामा पाइप एण्ड फिटिंग्सबीच पनि निकै प्रतिस्पर्धा छ । मेलामा नेपाटप, आइटिपिएफ, पञ्चकन्या, मंगलम र मार्भल फ्लोगार्डलगायतका कम्पनीका पाइप तथा फिटिंग्स सामग्रीहरु छन् । केही बैंकले सुलभ दरमा घरकर्जा उपलब्ध गराउने गरी मेलामा स्टल राखेका छन् । राष्ट्रिय बाणिज्य बैंकले महालक्ष्मी घरकर्जा, एभरेष्ट बैंकले इविएल होम लोन, मुक्तिनाथ विकास बैंकले आवाश कर्जा योजना उपभोक्ताबीच ल्याएका छन् ।

मेलाकै अबसर पारेर बर्जर पेन्टस्ले आफ्नो मोवाइल एप पनि सार्बजनिक गरेको छ । मेलामा निर्माण क्षेत्रमा भित्रिएका नविनतम प्रविधिहरु प्रदर्शनमा राखिएका छन् । मेलामा ल्याण्ड एण्ड हाउजिङ कम्पनी, पेन्ट्स्, इन्टेरियर डिजाइनर, सिमेन्ट उत्पादक, फर्निचर एण्ड फर्निसिङ, स्टिल, ईटा तथा मार्बल, विद्युतीय समग्री, बैंक तथा वित्तीय संस्था, बीमा, सौर्य ऊर्जालगायतको १ सयभन्दा बढी स्टल छन् । मेलामा घर निर्माण गर्ने सामग्रीका साथै सुरक्षित आवास निर्माण गर्ने तरिकाबारे अबलोकनकर्तालाई सल्लाहसमेत उपलब्ध गराउने गजुरेलले बताए ।

इन्जिनियर, आर्किटेक्ट, डिजाइनर, निर्माण व्यवसायी, निर्माण सामाग्री उत्पादक तथा बिक्रेता लगायत सबै सरोकारवाला पक्षलाई एकै ठाउँमा ल्याएर सुरक्षित र दिगो आवास निर्माणबारे सूचना दिने उद्दश्यले मेला आयोजना गरिएको हो । मेलामा दैनिक रुपमा सेमिनारसमेत आयोजना गरिदै आएको छ । मेलामा शुक्रबार हरित निर्माण बारे छलफल भएको थियो । शनिबार निर्माणको गुणस्तर र उत्कृष्ट अभ्यासबारे दिउसो १ बजेदेखि डेढ घन्टा प्राविधिक छलफल हुने छ ।

युथ कम्युनिटी फर नेप्लिज कन्ट्याक्टर्स (वाइसिएनसी) को मुख्य आयोजनामा भएको मेलाको सहआयोजकमा नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट, सोसाइटी अफ कन्सल्टिंङ आर्किटेक्चरल एन्ड इन्जिनियरिंग फर्म र ब्राण्डवर्थ प्राली रहेका छन् ।

मेलाको मुख्य प्रायोजक अर्घाखाँची सिमेन्ट, पेन्ट्स् पार्टनर बर्जर पेन्ट्स् र प्रायोजक क्षमादेवी बिल्डिङ् मेटेरियल्स् रहेको छ । मेलालाई निर्माण व्यवसायीको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले सहयोग गरेको छ । मंसिर ६ गतेदेखि ४ दिनसम्म दैनिक बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मेलाको अवलोकन गर्न सकिनेछ । मेलास्थलमा निशुल्क प्रवेशको व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.