उखानमा मात्र प्रयोग हुँदै आएको बेल, आम्दानीको स्रोत बन्दै

  २०७५ मंसिर ४ गते १६:३२     विकासन्युज

काठमाडौं । केही कुराको महत्व नै भएन भने ‘बेल पाकेर कागलाई हर्ष न बिस्मात’ भन्ने त उखानै छ । अहिले म्याग्दे गाउँपालिका उपभोक्तालाई बेल पाक्दा लाखौं आम्दानी हुन थालेको छ । म्याग्दे गाउँपालिका–१, २ र ३ मा रहेको ६ वटा सामुदायिक वनका उपभोक्ता मिलेर बेल जुस उद्योग स्थापना गरेपछि बेलबाट राम्रो आम्दानी हुन थालेको छ ।

२०७१ मा युएसएडको आर्थिक सहयोगमा केयर नेपाल, हरियो वन कार्यक्रममार्फत मेसिनरी औजार खरीदका लागि ११ लाख २८ हजार र ६ वटा सामुदायिक वनको चार लाख ६० हजारको संयुक्त लगानीमा माउण्टेन तनहुँ सामुदायिक बेल तथा फलफूल प्रशोधन उद्योग स्थापना भएको थियो ।

सिद्धवतासन, उमाचोक, भिरपानी बच्र्याङ, पँधेरीखोला र पोर्सेली सामुदायिक वन समूहको सक्रियतामा स्थापना भएको उक्त उद्योगबाट चार लाख ८२ हजारको बेलको जुस बिक्री भएको उद्योगका सञ्चालक विष्णुकुमार श्रेष्ठको भनाई रहेको छ । उद्योग सञ्चालन गर्दै आएका ६ सामुदायिक वनमध्ये ११७ हेक्टर क्षेत्रफलमा रहेको बेलको ५० प्रतिशत मात्र उपयोग गर्नसके पनि वार्षिक एक करोडको जुस उत्पादन गर्न सकिने छ ।

शुरुमा सामुदायिक उद्योगको रूपमा स्थापना गरिएको उद्योगको व्यवस्थापनको लागि ६ वटै सामुदायिक वनका प्रतिनिधि समेटिएको ११ सदस्यीय उद्योग व्यवस्थापन समिति रहेको छ । उद्योगको प्रभावकारी सञ्चालनमा निजी क्षेत्रको भूमिका हुनसक्ने कुरालाई मध्यनजर गरी २०७४ असोजदेखि यसको व्यवस्थापन सार्वजनिक निजी साझेदारीताको मोडलमा सञ्चालन गरिएको छ ।

सामुदायिक वन उपभोक्ता समूहको सामूहिक निर्णय बमोजिम सिद्धवतासन सामुदायिक वनका सदस्यसमेत रहेका विष्णुकुमार श्रेष्ठसँग सम्झौता गरी पाँच वर्षका लागि उद्योग सञ्चालनको जिम्मेवारी दिइएको छ ।

छ सामुदायिक वनवाट सङ्कलित बेललाई सफा र ग्रेडिङ गरी कटरमा राखेर काट्ने, गुदी (भित्री फल निकाल्ने र मिक्सचरमा पेलेर फल, बियाँ र छोक्रा छुटाएपछि, सेलाएको तातोपानीमा मिलाएर बेलको जुस तयार गर्ने गरिन्छ ।

बेलको जुस दमौली, पोखरा, काठमाडौँ र चितवनमा बिक्री हुने गरेको छ । उक्त उद्योगमा सातजना महिलाले रोजगारीसमेत पाएका छन् ।नयाँ भवन निर्माणका लागि ११ लाख ७६ हजार ६१६ खर्च भएको छ । एक गिलास पानीमा दुई बिर्को बेलको जुस राखेर दिनको दुई पटक सेवन गर्नाले उच्च रक्तचाप, मुटुसम्बन्धी रोग, ग्याष्ट्रिक, कब्जियत, मधुमेह (चिनीरोग) का साथै पाचनशक्ति बढाउने गर्दछ ।

धार्मिकरूपमा बेलको पात (बेलपत्र) भगवान् शिवको प्रिय वस्तुका रूपमा मानिन्छ, भने आयुर्वेदिक रूपमा यसको पात धेरै औषधिमा प्रयोग समेत गरिन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.