उदयपुर सिमेन्ट उद्योगबाट उत्पादनमा वृद्धि, यस वर्षमा मात्र ३५ करोड नाफा

  २०७५ मंसिर ४ गते १२:१०     विकासन्युज

काठमाडौं । उदयपुरको जलजलेमा अवस्थित सिमेन्ट उद्योगले दुई दिनयता अहिलेसम्मकै सबैभन्दा बढी सिमेन्ट उत्पादन शुरु गरेको छ । २०४४ सालमा सुरु भएको उक्त उद्योग नेपालको सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको छ ।
दैनिक ७७० मेट्रिक टन सिमेन्ट उत्पादन गरे पनि शुरुका वर्षमा ७०० मेट्रिक टनसम्म सिमेन्ट उत्पादन गरेको थियो । विद्युत् अभाव तथा कटौतीका कारण दैनिक ६०० देखि ६५० मेट्रिक टनसम्म मात्र सिमेन्ट उत्पादन हुने गरेको थियो । गत वर्षदेखि सिमेन्टको गियर मेशिन नयाँ परिवर्तन गरेपछि दैनिक ७०० देखि ७५० मेट्रिक टनसम्म सिमेन्ट उत्पादन क्षमता बढाएको उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलको भनाई रहेको छ ।
यसपटक २५ दिन उद्योग मर्मत गरेर विभिन्न मेशिन फेरिएको र अहिले विद्युत्समेत पूर्ण आपूर्र्ति भएपछि उद्योगबाट बढी उत्पादन हुने गरेको छ । दैनिक ८०० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता रहेको उद्योगको ७७० मेट्रिक टन सिमेन्ट उत्पादन गरी स्थापनाकालदेखि अहिलेसम्मको सबैभन्दा बढी सिमेन्ट उत्पादनको तथ्याङ्क राखेको महाप्रबन्धक पौडेलले जानकारी दिएका छन् ।

अब उद्योगले सिमेन्ट उत्पादनकार्यलाई पूर्ण उत्पादन क्षमता ८०० मेट्रिकटन पुर्याउने भएको छ । दुई वर्षअघिसम्म वार्षिक १० करोडभन्दा माथि घाटामा रहेको उद्योगको भौतिक र प्राविधिक व्यवस्थापन गरेपछि गत वर्ष मात्र १५ करोड आम्दानी गरेको थियो । यो वर्ष ३५ करोडभन्दा बढी नाफा गरिसकेको महाप्रबन्धक पौडेलले बताएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.