रिटगनले नेपालको सडकमा क्रान्ति ल्याउँदैछ-विवेक दुगड

  २०७५ मंसिर २ गते ९:५०     विकासन्युज

२३ बर्षदेखि व्यापार व्यवसायमा संलग्न विवेक दुगड यतिबेला एमभी दुगड ग्रुपको उपाध्यक्ष छन् । विगत ३ बर्षदेखि एमभी ग्रुपको अटोमोबाइल सेगमेन्टको नेतृत्व गरिरहेका उनले बजार बिस्तारमा आक्रामक रफ्तार कायम गराईरहेका छन् । दुगड परिवारको पाँचौं पुस्ताका रुपमा व्यससाय अघि बढाईरहेका विवेक आफ्नो ‘रगतमै व्यापार’ भएको बताउँछन् । १४० बर्ष अघि कपडा व्यापारबाट दुगड परिवारले व्यवसायीक यात्रा आरम्भ गरेको थियो र आज त्यसको एउटा महत्वपूर्ण हिस्सा विवेकले सम्हालिरहेका छन् । भारतको कलकत्ता स्थित सेन्ट जेभियर्स कलेजबाट बि.कम अध्ययन गरेर नेपाल फर्किएपछि व्यवसायमा हात हालेका विवेकसँग देशविकासले गरेको विकास बहस 

विवेक दुगड, उपाध्यक्ष-एमभी दुगड ग्रुप

एमभी दुगड ग्रुपले कुन कुन क्षेत्रमा लगानी गरेको छ ?
एमभी दुगड ग्रुपले मुलतः तीन वटा क्षेत्रमा लगानी गरेको छ । एउटा वित्तिय क्षेत्र हो, जसमा सनराइज बैंक, गुराँस लाइफ इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स कम्पनी हो । यी कम्पनीमा हामी मुख्य लगानी कर्ताका रुपमा छौं । हामीले लगानी गरेको दोश्रो क्षेत्र भनेको अटोमोबाइल हो । ४५ बर्ष अघि सुरु गरिएको अटोमोबाइल व्यवसायमा हामी देशमै पायोनियर भैसकेका छौं ।

हामीले बेच्ने हरेक सेगमेन्टमा टप ३ भित्र पर्छौ । अटोमोबाइल क्षेत्रलाई चाँही मैले नै नेतृत्व गरिरहेको छु । र म गुराँस लाइफ इन्स्योरेन्सको अध्यक्ष पनि हुँ । एमभी दुगड ग्रुपले लगानी गरेको तेश्रो क्षेत्र भनेको उर्जा हो । यसमा पनि निजी क्षेत्रको सबै भन्दा ठुलो प्रोजेक्ट हामी नै बनाउँदैछौं । लिखु १, लिखु २ र लिखु ८ को काम अहिले अघि बढिरहेको छ ।

४५ बर्ष पहिले अटोमोबाइल क्षेत्रमा आउँदाको अवस्था र अहिले तपाईले नेतृत्व गर्दाको अवस्थामा के फरक आएछ ? तपाईका अग्रजहरुको अनुभव कस्तो रहेछ ?

मैले ४५ बर्ष पहिले अटोमोबत्राइल क्षेत्रमा हाम्रो ग्रुप प्रवेश गर्दाको अनुभव बुवा र काकाहरुबाट पाएको छु । उहाँहरुको अनुभवले नै म अहिले काम गरिरहेको छु । त्यतिबेला अटोमोबाइल भनेको बिलासीको साधनका रुपमा हेरिन्थ्यो । थोरै मान्छे मात्रै गाडी चढ्ने हैसियतमा थिए । व्यवसायीहरुका लागि पनि कुनै कम्पनीको आधिकारीक बिक्रेता हुनु भनेको समाजमा रवाफ देखाउने वा हामी फलानो कम्पनीको बिक्रेता हौं भन्ने कुरा जस्तो मात्रै थियो । बर्षमा मुस्किलले १०/१२ वटा गाडी बेच्न सकिन्थ्यो ।

तर पछिल्लो १० बर्षदेखि भने नेपालका व्यापारिक घरानाहरुले अटोमोबाइल क्षेत्रलाई लगानीको प्रमुख क्षेत्रका रुपमा लिँदै आएका छन् । निरन्तर वृद्धि भैरहेको अटोमोबाइलको बजारले नेपाली जनताको प्रगतिको संकेत दिईरहेको छ ।

यतिबेला हामी ५/१० बर्षको व्यवसायीक योजना बनाएर काम गरिरहेका छौं । आज भन्दा ३ बर्ष पहिले १५ वटा सर्भिस सेन्टर थिए, आज ४० वटा भन्दा बढि सर्भिस सेन्टर खोलिसकेका छौं । आगामी ३ महिना भित्र ४५ वटा पुर्याउँछौं । यसरी शाखा विस्तारको काम पनि योजनावद्ध ढंगले नै गरिएको हो । हामी पछिल्लो तीन बर्षदेखि अटोमोबाइल क्षेत्रको बजारमा आक्रामक ढंगले अघि बढ्ने प्रयासमा छौं । हाम्रा बुवाहरु तीन बर्ष अघि छुट्टिनु भएको हो । परिवार छुट्टिएपछि हामीले वित्तिय क्षेत्र, अटोमोबाइल र उर्जालाई रोजेका हौं ।

अटो मोबाइलमा चाँही कुन कुन कम्पनीका के के उत्पादन बेचिरहनु भएको छ ?

हामीले मोटर साइकलमा रोयल इनफिल्ड बेचिरहेका छौं । यो नेपालका लागि सर्वाधिक रुचाईएको मोटरसाइकल हो । यसले सडक पर्यटनको विकासमा पनि सघाईरहेको छ । अफ रोड टुरिजममा राम्रो भूमिका खेलिरहेको छ । हामीले १९ बर्षदेखि जोन डियर ट्याक्टर बेचिरहेका छौं र यो विश्वकै एक नम्बरमा पर्छ । नेपालको ट्याक्टर बजारमा जोन डियरको बजार हिस्सा तेश्रो नम्बरमा छ ।

तेश्रो प्रडक्टका रुपमा २७ बर्षदेखि महिन्द्राका कमर्सियल सवारीसाधनहरु बेचिरहेका छौं । लोड किंग त काठमाडौं शहरमा सर्वाधिक गुडिरहेको देख्न सकिन्छ । चार बर्ष पहिलेदेखि महिन्द्राकै स्मल कमर्सियल भेईकल(एससीभी)का रुपमा म्याक्सिमो बेचिरहेका छौं । यसै बर्षमा यो सेगमेन्टमा एक नम्बरको हुनेछौं । यसै बर्ष ट्रक र टिपर बेच्न सुरु गरेका थियौं, त्यसको बजार पनि राम्रो छ ।

२ बर्ष पहिलेदेखि सार्वजनिक यातायातका साधन पनि बेच्न थालेका छौं । साना बाटाहरुका लागि थ्रि ह्विलर पिआजिओ बेचिरहेका छौं । यसको बजार पनि निकै राम्रो छ । ८ महिनामै दुई नम्बरको बजार हिस्सा ओगट्न सफल भएका छौं । यसमा हामीले बैंकबाट फाइनान्सको सुबिधा पनि दिईरहेकै छौं १५ प्रतिशतसम्मको ब्याजदरमा ।

महिन्द्राकै एक्साभेटर र ग्रेडर मेसिन पनि बेचिरहेका छौं । यसको बजार पनि राम्रो छ । ब्याक्हो लोडरमा तीन नम्बरमा आईपुगिसकेका छौं । दशैंमा मध्यम साइजको ग्रेडर ल्याएका थियौं १० वटा बेचिसक्यौं ।

अटोमोबाइलमा नयाँ प्रडक्ट के आउँदैछन् ?

यतिबेला भने हामीले नेपाली बजारमा ब्रेक थ्रुका रुपमा रिटगनका नयाँ उत्पादनहरु भित्र्याउँदै छौं । त्यसले नेपालको सडक पूर्वाधारमा क्रान्ति ल्याउँदैछौं । चार महिना पहिले मात्रै रिटगन कम्पनीले हामीलाई नेपालका लागि आधिकारिक बिक्रेताको प्रमाणपत्र दिएको छ । यो विश्वकै एक नम्बरको कम्पनी हो जसले सडक पूर्वाधारका समान उत्पादन गर्छ । ह्याम रोलर त नेपालमा पनि लोकप्रिय बनिसकेको समान हो । अब चाँही हामी ह्याम सहित अन्य तीन उत्पादन ल्याउँदैछौं ।

ह्यामको बजारलाई थप व्यवस्थित गराउँदै पेभर भित्र्याउँदै छौं । सडक विभागको ठेक्कामा आवेदन दिएका थियौं, ४ वटा छनौटमा परेका छन् । केहि समयभित्रै सडक विभागलाई पेभर हस्तान्तरण गर्दै छौं । यो भोग्ले अन्तर्गतको पेभर्स नेपाल ल्याउन लागेका हौं । हामीले ल्याउनु भन्दा अघि नै सडक विभागलाई टेण्डर मार्फत बेच्न सफल भएका छौं ।

यसले बिटुमिन, रोडा, ढुंगालाई आफैं पेलेर मेसिनले नै केमिकल कम्पोजिसन मिलाएर सडकमा बिछ्याउँछ । यसमा हिटिंग प्रबिधि हुन्छ, त्यसले कालोपत्रे गर्ने अलकत्रा, रोडा लगायतका पदार्थहरु आफैं पेलेर सेन्सरले आवश्यक मात्रामा सडकमा खन्याईदिन्छ । पेभरले गरेको कालोपत्रे अहिलेको भन्दा धेरै बलियो हुन्छ ।

यसले दिनभरमा ८ किलोमिटरसम्म कालोपत्रे गर्न सक्छ । टिपरमा अलकत्रा ल्याएर पिच गर्ने जमानाको यसले अन्त्य गर्छ । यसको मूल्य भने २ करोड ६० लाखदेखि ३ करोडसम्म पर्छ । पे ब्याक पिरियड एक बर्ष हो र १५ बर्षसम्म चलाउन सकिन्छ । रिटगनकै कोल्ड बिलिंग टेक्नोलोजी पनि ल्याउँदै छौं । त्यसले कालोपत्रे सडकलाई आवश्यक मात्रामा काट्छ र पुनः प्रयोगका लागि उपयुक्त बनाउँछ । आवश्यक मात्रामा मेसिनले काटिएको कालोपत्रेलाई पुनः प्रयोग गरेर ३५ प्रतिशतसम्म लागत जोगाउन सकिन्छ । अहिले पिच माथी पिच गर्ने चलन छ । पिच काटेर पुनः पिचमै त्यहि समान उपयोग गर्न सकिन्छ र त्यसले सडकहरु घर भन्दा अग्लो हुने समस्या पनि समाधान गर्छ । ब्लेडले कालोपत्रे काट्छ र कालोपत्रे गर्नु अघि सडक प्रयोग गर्न पनि सकिन्छ । यो प्रबिधिले सडकमा हुने उबड खाबड(होचो अग्लो)को समस्या पनि समाधान गर्छ । यसको मूल्य करिब ४ करोड पर्छ ।

चौथो उत्पादनका रुपमा हामीले रिटगनकै क्लिम्यान ल्याउन लागेका हौं । यसलाई मोबाइल क्रसर भन्ने गरिन्छ । यसमा गाडीको माथी नै क्रसर लागेको हुन्छ । यसले सडक खन्दा निस्किएका ढुंगालाई जहाँको त्यहि क्रसर गरेर गिट्टी बनाउन सकिन्छ । अहिलेसम्म सडक खन्दा निस्किएका ढुंगालाई क्रसर उद्योगसम्म लगेर गीट्टी बनाएर ल्याउनुपर्ने थियो । तर यसले सडक खन्दा निस्किएका ढुंगालाई त्यहिँ गिट्टी बनाइदिन्छ । क्लिम्यानलाई गाडीमा राखेर सहजै ठाउँ सार्न सकिन्छ । त्यसकारण यसलाई मोबाइल क्रसर भनिएको हो । यो विश्वमा अत्याधिक रुचाईएको प्रबिधि हो । यी समानहरु भित्रिएपछि नेपालको सडक पूर्वाधार निर्माणमा ठूलै क्रान्ति हुनेछ ।

यी प्रडक्टहरु बेच्नका लागि सम्भावित बजार अर्थात निर्माण व्यवसायीसँग कत्तिको छलफल गर्नु भएको छ ? प्रतिक्रिया कस्तो पाउनुभयो ?

हामीले सुरुमै सडक विभागलाई ४ वटा पेभर बेच्न सफल भएका छौं । हामीले क वर्गका निर्माण व्यवसायीहरुलाई पहिलो चरणमा लक्षित वर्गका रुपमा हेरेका छौं । उनीहरुसँग नियमित छलफल गरिरहेका छौं । राम्रो प्रतिक्रिया पाईरहेका छौं । २४ घण्टा भित्र सर्भिस दिनेगरि ४० वटा सेन्टर विकास गरिसकेका छौं । अझै ४ वटा थप्ने तयारी गरिरहेका छौं । राम्रो बजार पाउने पूर्वानुमान गरेका छौं ।

ह्याम बाहेकका प्रबिधिहरु अलि जटिल खालका देखिए, जनशक्ति कसरी व्यवस्थापन गर्नु हुन्छ ?
हामीले अहिलेदेखि नै भारतमा लगेर इञ्जिनियरहरुलाई तालिम दिईरहेका छौं । चालक, सहचालकहरुको तालिम पनि उतै लगेर गर्छाै । गाडी चलाउनेहरुलाई भारत पठाएर निःशुल्क तालिम दिन्छौं । एक डेढ महिनामै तालिम दिएर सक्षम बनाउँछौं । इञ्जिनियरहरुको तालिम त सम्पन्न गरिसकेका छौं ।

यी उत्पादनहरु कहिलेसम्म नेपाली बजारमा आईपुग्छन् ?

ह्यामका उत्पादनहरु अहिले पनि बजारमा उपलब्ध छन् । सडक विभागलाई केहि महिना भित्रै ४ वटा पेभर उपलब्ध गराउँछौं । कोल्ड रोलिङ र अन्तिममा मोबाइल क्रसर ल्याउँछौं । आगामी ६ महिनाभित्र चार वटै उत्पादन नेपाल भित्र्याईसक्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.