अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ-वे’ थपिँदै, लागत एक अर्ब छ करोड

  २०७५ कार्तिक ३० गते १५:०१     विकासन्युज

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ-वे’ थपिने भएको छ । जहाज पार्किङमा समस्या भोग्दै आएको विमानस्थलले विमानस्थल विकास कोष (एडिएफ)को एक अर्ब छ करोडको लागतमा ‘रिमोट पार्किङ वे’ र ‘पार्किङ वे’ निर्माण हुने भएको छ । विमानस्थलको उत्तरपूर्वतर्फ र दक्षिणपश्चिम क्षेत्रमा पाँच/पाँचवटा विमान अट्ने गरी दुईवटा पार्किङ वे निर्माण भइरहेका छ । अबको पाँच महीनामा निर्माण कार्य सकिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

निर्माणाधीनमध्ये उत्तरपूर्वतर्फको ‘रिमोट पार्किङ वे’ निर्माणमा ४७ करोड र दक्षिणपश्चिमतर्फको ‘पार्किङ वे’ निर्माणमा ५९ करोड खर्च हुने भएको छ। विमानस्थलका अनुसार उत्तरपूर्वतर्फ दुईवटा वाइड बडी जहाज र तीनवटा साना (एटिआर) जहाज तथा दक्षिणपश्चिमतर्फ दुईवटा वाइड बडी र तीनवटा एटिआर जहाज राख्न सकिने छ। विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार उत्तरपूर्वतर्फको रिमोट पार्किङ-वे आगामी फागुनभित्र सम्पन्न गरिनेछ भने दक्षिणपश्चिमतर्फको पार्किङ वैशाखभित्र पूरा गर्नेगरी काम अघि बढाइने भएको छ । पार्किङ थपिएपछि विमानस्थलमा परेको बढ्दो चाप केही हदसम्म न्यूनीकरण हुने अपेक्षा रहेको छ ।

हाल विमानस्थलमा अन्तर्राष्ट्रिय पार्किङका लागि नौवटा विमानको क्षमता छ जहाँ तीनवटा वाइड बडी ए ३३० र बाँकीमा एयरबस ३२० जहाज पार्किङ गर्न सकिन्छ । रिमोट पार्किङ–वे विमानस्थलको मुख्य पार्किङ-वेभन्दा टाढा निर्माण गरिने वैकल्पिक पार्किङ भएकाले विमानमा बम विस्फोट वा आतङ्ककारी गतिविधिको शङ्का भए उक्त विमानलाई त्यो स्थलमा पार्किङ गरिन्छ । विमानस्थलबाट तीनवटा नेपालीसहित ३१ वटा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ ३० वटा विमान पार्किङ गर्न सकिन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.