पछिल्लो समय खोटाङमा प्राविधिक शिक्षाप्रति विद्यार्थीको बढ्दो आकर्षण

  २०७५ कार्तिक ३० गते ११:२९     विकासन्युज

 

काठमाडौं । पछिल्लो समय जिल्लामा प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको छ । अध्ययनपछि बेरोजगार बस्नु नपर्ने भएकाले विद्यार्थीको प्राविधिक शिक्षामा आकर्षण बढ्दै गएको छ । जिल्लाका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा स्थापना गरिएको महुरेगढी नमूना बहुप्राविधिक शिक्षालयले वन विज्ञान (फरेस्ट्री) विषयमा भर्ना लिएको छ । तीनवर्षे कृषि, फरेस्ट्री, भेटेरेनरी, ओभरसियर, सब–ओभरसियर, प्लम्बर, कम्प्युटरलगायत सीपमूलक विषय अध्यापनका लागि उक्त शिक्षालयले स्थापनाको पहिलो वर्ष वन विज्ञानबाट पढाइ शुरु गरेको हो ।

सातवटै प्रदेशमा एक/एक वटा नमूना बहुप्राविधिक शिक्षालय स्थापनाका लागि सरकारले (आर्थिक वर्ष २०७३/०७४) को स्वीकृत वार्षिक कार्यक्रमअनुसार प्रदेश नम्बर १ का लागि खोटाङमा स्थापना गरिएकोे उक्त शिक्षालयमा आगामी शैक्षिकसत्रदेखि सबै विषय पढाइ हुने भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१स्थित सरस्वती माविले पनि प्राविधिक शिक्षाअन्तर्गत कृषि बाली विज्ञान (जेटीए) कक्षा शुरु गरेको छ । सीटीईभीटीको मान्यता प्राप्त उक्त विद्यालयमा प्राविधिक एसएलसीतर्फ १८ महिने अध्यापनको उक्त कक्षामा ४० विद्यार्थी भर्ना भएका छन् ।

छैसठ्ठी जनाको आवेदन परेकामा प्रवेश परीक्षा लिइ कोटाअनुसार भर्ना लिइएको विद्यालयका प्रधानाध्यापक ध्यानबहादुर राईले बताएका छन् । २० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत प्रयोगात्मक परीक्षाका माध्यमबाट पढाइ पूरा हुने विद्यालयले जनाएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२, जालपास्थित ज्योति माविले पनि पशु विज्ञान विषयको १८ महिने कक्षा सञ्चालन गर्ने भएको छ । ज्योति मावि जालपा र सरस्वती मावि दिक्तेलले यसै वर्षदेखि पठनपाठन शुरु गरेको हो । खोटाङमा सिभिल इन्जिनियरिङ, वन विज्ञान, कृषि जेटीए, पशु जेटिए, लघु उद्यम सहजकर्ता, ब्युटिसियन, मोबाइल मर्मतलगायत प्राविधिक विषयको अध्ययन तथा तालीममा विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।

सामान्य शिक्षाले बेरोजगार जनशक्ति मात्र उत्पादन गरिरहेको अवस्थामा प्राविधिक शिक्षालयको लहर चलेको पञ्च मावि दिक्तेलका प्रधानाध्यापक भवकृष्ण ढकालले बताएका छन् । पञ्च माविले आर्थिक वर्ष २०६९/०७० देखि मावि तहमा बाली विज्ञान विषयअध्यपन गराउँदै आएको छ । यस्तै साकेला गाउँपालिकाको रतन्छास्थित साकेला माविले तीनवर्षे डिप्लोमा तहको बाली विज्ञान विषय अध्ययनको अनुमति पाएको  जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.