राष्ट्र बैंकको ढुकुटी नोटले भरिएपछि बैंकहरूकाे पैसा फिर्ता, अागामी तीन वर्षसम्म समस्या नसल्टने

  २०७५ कार्तिक २९ गते १७:४२     विकासन्युज

काठमाडौं । ‘अब पाँच हजार र १० हजारका नोट छापौं, एक हजारका नोटले मात्रै भएन’, बुधबार नेशनल बैंकिङ इन्स्टिच्युटले आयोजना गरेको कार्यक्रममा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत तथा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भनेका थिए ।

बैंकर्स संघका अध्यक्षको त्यस्तो अभिव्यक्तिमा बिशेष अर्थ देखिएको छ । नेपाल राष्ट्र बैंकले पैसा नलिएपछि ढुंगानाले मात्रै होइन अधिकांश बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले हैरानीमा व्यहोर्नु परेको गुनासो गरिरहेका छन् ।

‘हामीले पैसा राख्न पठाउँदा ढुकुटीमा राख्ने ठाउँ छैन भनेर फर्काउने गरेको छ केन्द्रिय बैंकले, हामीलाई पैसाको सुरक्षा गर्ने चिन्ता छ’, एक बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले विकासन्युजसँग भने ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौलाले पनि नोट भण्डारण गृह(ढुकुटी)मा ठाउँ नभएकाले बैंकहरुलाई पैसा फिर्ता पठाईएको बताए ।

‘नोट भण्डारण गर्ने थापाथली भवन २०७२ सालको भूकम्पले भत्काएको थियो । त्यस यता राष्ट्र बैंकको ढुकुटी सधै भरिँदै आएको छ । पैसा भण्डारण गर्ने ठाउँ नभएपछि केन्द्रिय बैंकले पैसा फिर्ता पठाएको हो’, मुद्रा व्यवस्थापन विभागका प्रमुख निरौलाले भने । उनले आगामी साढे तीन बर्षसम्म केन्द्रिय बैंकले पैसा नलिने पनि स्पष्ट पारे । ‘हामीले पुराना नोट फिर्ता गरेका छैनौं, त्यो लिनु हाम्रो दायित्व हो तर नयाँ नोट भने अझै साढे तीन वर्षसम्म लिँदैनौं’, निरौलाले भने ।

उनले थापाथलीमा निर्माण आरम्भ गरिएको नयाँ भवन नबनेसम्म बैंकहरुसँग नोट नलिने बताएका हुन् । बाणिज्य बैंकहरुले थोरै पैसा राख्ने जोखिम समेत नउठाएको उनले गुनासो गरे । ‘दुई वटा बाकस राखेर बाणिज्य बैंक चलाएर हुन्छ, त्यत्रा कर्पाेरेट भवनहरु छन,  त्यसकै दुईवटा कोठामा पैसा भण्डारण गरे हुन्छ नि’, निरौलाले भने ।

केन्द्रिय बैंकको भवन भत्किएर पैसा भण्डारण गर्ने ठाउँ नहुँदा समेत बाणिज्य बैंकहरुले समस्या नबुझेको पनि उनले गुनासो गरे ।
उपत्यकामा नोट भण्डारण गर्ने ठाउँ नभएकाले उपत्यका बाहिरका क्षेत्रिय कार्यालयहरुमा समेत पठाउने गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.