लमजुङको पर्यटकीय गाउँ भुजुङमा उत्पादित चियाको विदेशमा बढ्दो माग

  २०७५ कार्तिक २९ गते १२:५२     विकासन्युज

काठमाडौं । लमजुङको पर्यटकीय गाउँ भुजुङमा उत्पादित चिया विदेशमा माग बढ्दै गरेको छ । चिया राम्रो र स्वादिलो भएकाले विदेशबाट माग आउन थालेको हो । डेढ दशकअघि १० रोपनी जग्गामा सामूहिक चियाखेती शुरु गरिएको भुजुङमा अहिले गाउँ वरपर व्यक्तिगत र व्यावसायिक रुपमा चियाखेती हुन थोलेकोछ ।

शुरुमा परीक्षणका लागि रोपिएका चिया अहिले विदेशबाट समेत माग हुन थालेपछि स्थानीय मख्ख परेका छन् । गाउँ आउने पर्यटकले चिया लाने गरेको र विदेश पुगेर पनि पर्यटकले गाउँको चिया पठाउन अनुरोध गरेको स्थानीय घरबास सञ्चालक जुनी गुरुङले बताए । भुजुङको चिया अहिले अमेरिका, बेलायत, हङकङ, बु्रनाइसम्म पुगेको छ । विदेशका आफन्तलाई कोशेलीका रुपमा भुजुङको चिया पठाउने गरिएको स्थानीयले बताएका छन् । डेढ दशकमा १० रोपनीबाट फैलिएरको चियाखेती यतिबेला २५० रोपनीमा फैलिएको छ । वडा सदस्य पित्रमान गुरुङका अनुसार ११ रोपनी क्षेत्रफल जग्गामा आठ हजार बिरुवा यसै वर्ष रोपिएको हो। सामुदायिक रूपमा चियाखेती गरिँदै आएकामा विस्तारै व्यक्तिगत रूपमा पनि १५ रोपनीभन्दा बढी क्षेत्रफल जग्गामा चियाखेती गरिएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय भुजुङको सहयोगमा गाउँलेले चियाखेती थालेका हुन् । हरेक वर्षको चियाखेतीमा एक्यापले सहयोग गर्दै आएको एक्याप भुजुङका कार्यालय प्रमुख राजेशप्रसाद गुप्ताले बताएका छन् । शुरुमा तीन वर्षको परीक्षण सफल भएपछि भुजुङवासीले २०५९ देखि थप चियाखेती विस्तार गरेका थिए । गुप्ताका अनुसार भुजुङमा तक्दा ७८ र गुम्दा नामक चियाखेती गरिँदै आएको छ ।

समुद्री सतहदेखि एक हजार ६०० देखि एक हजार ७०० मिटरको उचाइको ठाउँमा गरिएको चिया पुस र माघबाहेक १५÷१५ दिनको फरकमा टिप्ने गरिएको स्थानीयवासी बताउँछन् । अहिले गाउँमै प्रशोधन केन्द्र सञ्चालन गरिएकाले गाउँमै चियाको प्रशोधन हुने गरेको छ । भुजुङमा पछिल्लो समय चिया बगान हेर्न महिला समूह र विद्यार्थी आउने गरेका छन् ।  रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.