नेपालगञ्जको निर्मार्णाधीन ल्याण्डफिल्ड साइट अन्तिम चरणमा, ७५ प्रतिशत काम सम्पन्न

  २०७५ कार्तिक २८ गते १२:२९     विकासन्युज

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका-२३ तेलीयनपुरमा निर्माण भइरहेको ल्याण्डफिल्ड साइट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म आयोजनाको करीब ७५ प्रतिशत काम सकिएको छ ।

क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका अनुसार ल्याण्डफिल्ड साइट निर्माणस्थलको जग्गासम्बन्धी अदालतमा मुद्दा परेपछि निर्माणमा करीब एक वर्ष ढिलाइ भएको थियो । आठ महिना अघि मात्र निर्माण कार्यले गति लिएको उक्त आयोजनाका परामर्शदाता प्रकाशराज शिवाकोटीले फोहर जोख्ने उपकरण राख्ने स्थान, गिट्टी भर्ने, विद्युतीकरण लगायत काम बाँकी छ ।

दुई महिनामा निर्माणकार्य सक्नुपर्ने बताउदैं मुख्य पूर्वाधार निर्माणका काम सकिएको आयोजनाले बताएको छ । हाल फोहर भण्डारण गर्ने चार सेलमा गिट्टी भर्ने काम भइरहेको छ । उपकरण आपूर्ति गर्नुपर्ने काम बाँकी रहेको शिवाकोटीले जानकारी दिएका छन् । निर्माणको जिम्मा पाएको ‘रम्की एण्ड एनएएनसी जेभी काठमाडौँ’ले अबको दुई महिनाभित्र सक्ने गरी काम गरिरहेको छ ।

विसं २०७३ भदौमा शुरु भएको सो आयोजना २०७४ माघसम्म सम्पन्न गर्ने सम्झौता भएको थियो । समयमै काम पूरा नहुने भएपछि पुनः पुस १६ गतेसम्मका लागि म्याद थप गरिएको छ । ल्याण्डफिल्ड साइट निर्माण पूरा भएपछि एक वर्षसम्म फोहर सङ्कलन गरेर परीक्षणको रूपमा सञ्चालन गरी नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिनेछ । नेपालगञ्जमा दैनिक ३५ देखि ३८ टन फोहर जम्मा हुन्छ । ल्याण्डफिल्ड साइटमा दैनिक २४ टन फोहर भण्डारण गर्न सकिनेछ ।

एशियाली विकास बैङ्कको ८० प्रतिशत ऋण अनुदान, शहरी विकास कोषको १५ प्रतिशत ऋण तथा नेपालगञ्ज उपमहानगरपालिकाको ५ प्रतिशतसहित कूल ३३ करोड ८ लाखको लागतमा निर्माण सम्पन्न हुनेगरी सम्झौता भएको हो । ल्याण्डफिल्ड साइट सञ्चालनमा आए यहाँको फोहरमैला व्यवस्थापन गर्न सहज हुने नेपालगञ्ज उपमहानगरपालिकाका इञ्जिनीयर प्रकाश डिसीले बताएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.