४२० रुपैयाँमा ११ लाखको स्वास्थ्य बीमा, मंसिर १ गतेदेखि लागू हुने

  २०७५ कार्तिक २८ गते १२:१३     विकासन्युज

काठमाडौं । कर्मचारी संचय कोषले आगामी मंसिर १ गतेदेखि संचयकर्ता स्वास्थ्य बीमा गर्ने भएको छ । संचयकर्तालाई सामान्य बिरामी प्रतिव्यक्ति १ लाख र जटिल प्रकारको रोग लाग्दा प्रतिव्यक्ति १० लाख गरी कुल ११ लाख रुपैयाँको कभर हुने गरी स्वास्थ्य बीमा गराउन लागेको हो ।

कोषले संचयकर्ताको स्वास्थ्य बीमा गर्ने राष्ट्रिय बीमा कम्पनी लिमिटेडबाट गराउने भएको छ । कोषले प्रति संचयकर्ताको ४२० रुपैयाँको दरले बीमा शुल्क बुझाउने भएको छ ।

११ लाख रुपैयाँको बीमा कभर हुने गरी ४२० रुपैयाँमा स्वास्थ्य बीमा गर्नु निकै सस्तो भएको राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बीरविक्रम रायमाझीले बताए । ४२० रुपैयाँ मध्ये २१० रुपैयाँ पुर्नबीमामा खर्च हुने र बीमा दावी भुक्तानीमा पनि ५०/५० प्रतिशत खर्च बेहोरिने उनले बताए ।

संचयकोषमा ६ लाखभन्दा बढी संचयकर्ता छन् । सबै संचयकर्ताको प्रिमियम एकमुष्ट रुपमा कोषले राष्ट्रिय बीमा कम्पनीलाई बुझाउने छ । ‘एकमुष्ट प्रिमियम २५ करोड भन्दा बढी आउँछ । मार्केटिङ खर्च, प्रशासनिक खर्च कम हुन्छ । त्यसैको आधारमा हामीले निकै सस्तो शुल्कमा बीमा गर्न लागेका हौँ’ रायमाझीले भने–‘प्रत्येक दुई वर्षमा बीमा शुल्क परिमार्जन गर्ने सहमति भएको छ । पहिलो वर्ष घाटा नहुने निश्चित छ । दोस्रो वर्ष घाटामा गयो भने शुल्क बढाउनु पर्ने हुन्छ ।’

संचयकर्ता बिरामी भएर अस्पताल भर्ना भई उपचार गरेको खण्डमा १ लाख रुपैयाँ र सरकारले जटिल रोग भनि तोकेका ९ प्रकारका रोग लागेमा १० लाख रुपैयाँसम्म बीमा कभर हुने उनले जानकारी दिए ।

कोषले ६ लाख संचयकर्ताको स्वास्थ्य बीमा गरिदिने विषयमा सबै प्रक्रिया पुरा गरेको कोषका प्रशासक तुलसी गौतमले बताए । कोषले आफ्नो आम्दानीबाट संचयकर्ताको स्वास्थ्य बीमा गर्न लागेको हो । यो वर्ष संचयकर्तालाई बाँडेर बचत हुने नाफा रकमबाट बीमा गर्ने र अर्को वर्षदेखि विषेश व्यवस्था गर्ने तयारी कोषको छ ।

कोषसंग १ अर्ब ६० करोड रुपैयाँको सामाजिक सुरक्षा कोष छ । त्यो कोषले वार्षिक १५ करोड रुपैयाँ कमाउँछ । वार्षिक १० देखि १२ करोड रुपैयाँ व्यवस्थापन गर्न समस्या नरहेको कोषको भनाई छ ।

संचयकर्ताको स्वास्थ्य बीमा गर्ने विषयमा दुई संस्थाबीच आज सम्झौता हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.