२३ दिनसम्म कर्णालीको एक्लो यात्रा गरेकी चेलीको कथा : भेँडाकाे बथान देख्दा बाँच्ने अाशा पलायाे

  २०७५ कार्तिक २७ गते ११:५२     डोमी शेर्पा

काठमाडौं । सडकले छुन नसकेको सुदूर कर्णालीको सबैभन्दा ठूलो जिल्ला डोल्पा । एउटै गल्तीले जीवन समाप्त हुनसक्ने पहाडी गोरेटोहरु र छ महिना लेक बस्नुपर्ने अनि अर्को छ महिना बेँसी झर्नुपर्ने विषम हावापानी । त्यही दुर्गमता र विषमताबीचको एक्लो यात्रा ।

यो कल्पनाले मात्रै पनि जोकोहीको आङ सिरिङ्ग हुन्छ । त्यसमाथि त्यस्तो एक्लो यात्रामा एउटी महिला । मानव श्रृष्टिमै सुकोमल देह र हृदय भएका महिलाका लागि यस्तो यात्रा झन् भयावह विषय हुनसक्छ । तर संसारमा यस्ता अभियानहरु छन्, जसले यस्तै कहालीलाग्दा कल्पनाहरुलाई साकार बनाइरहेका छन् ।

त्यस्तै मिसनकी एउटी सफल अनि सहासिक पात्र हुन् प्रास्ना डंगोल, जसलाई मैले करिब १ वर्षअघि एउटा भिडियोमार्फत् चिन्ने मौका पाएँ । मैले त्यसबेला उनलाई मात्र चिनिँन, उनीसँगै उनको अभियानलाई चिन्ने मौका पाएँ । उनीसँगकाे भेटले मलार्इ महिलाकाे शक्ति चिन्ने माैका मिल्याे ।

सोलो वुमन ट्राभलिङ च्यालेन्ज अभियान । जहाँ ‘सोलो’ शब्दले ‘एक्लै गरिने यात्रा’लाई जनाउँछ । अर्थात् त्यस्तो अभियान जहाँ एउटी नारी एक्लै एउटा साहसिक यात्रामा निस्कन्छिन् । यो यस्तो कार्यक्रम हो जसले फेसबुक भोटिङमार्फत् छानिएका १० महिलाहरुलाई एक्लो लामो यात्रामा पठाउँछ र त्यसमा लाग्ने सम्पूर्ण खर्च व्यहोरिदिन्छ । यो अभियानमा बाली, फिजी, नेपाल, श्रीलंका, थाइल्याण्ड, घाना, जाम्बिया, कोलम्बिया, अर्जेन्टिना, पेरु लगायतका देशहरुमा यो अभियान सञ्चालित छ । २००७ देखि यता यो अभियानमा ८० हजार भन्दा बढी स्वयम्सेवकहरु छन् । सो अभियानले प्रत्येक वर्ष १० जना महिलालाई एक्लो भ्रमणमा पठाउँछ । त्यहीे अभियानकी एउटी नेपाली चेली जसले त्यस्तै साहसिक यात्राको सफल प्रयोग गरिन् उनले । प्रास्नाले २३ दिनसम्म डोल्पा जिल्लाको त्यस्तै विषम एक्लो यात्रा गरेकी थिइन् ।

नेपाली ट्राभलर्स नामको फेसबुक पेजमा राखिएको उनको साहसिक यात्राको उक्त भिडियो हेरेसँगै भेट्ने तीव्र इच्छा भए पनि ८ महिनापछि मात्र उनीसँग प्रत्यक्ष संवादको मौका मिल्यो । काठमाडौंको नेवार परिवारमा जन्मिएकी उनी ‘फिल्म मेकिङ’को विद्यार्थी रहिछन् । ‘फिल्म मेकिङ’ विषयमै बेलायतमा ४ वर्ष लामो अध्ययन गरी स्नातक तह उर्तीण गरेपछि ४ महिनाको लागि नेपाल फकिएकी उनलाई फेरि बेलायत फर्कन मन नै लागेन । चलचित्र निर्माणसम्बन्धी अध्ययनमा स्नातकोत्तर गर्न फेरि बेलायत फर्किने सोचलाई त्यागेर उनी नेपालमै बस्ने निधो लिइन् । उनी भन्छिन्– ‘डिग्रीमात्र सबै कुरा होइन, सीप र अनुभव आवश्यक छ भन्ने लाग्यो, त्यसैले म नेपालमै बसेँ ।’

काठमाडौंको सीमितताबाट माथि उठेर सूदूरकर्णालीको यात्रा गर्ने आँट गर्नुको पछाडी ग्रामीण नेपाली परिवेशलाई चिन्ने तीव्र इच्छा रहेको उनले सुनाइन् । त्यतिमात्र होइन तिब्बती संस्कृतिबाट प्रभावित उनी नेपाल चीन सीमा नजिक प्रचलनमा रहेको तिब्बती परिवेशलाई राम्रोसँग नियाल्न चाहन्थिन् । यसले उनको अध्ययनको क्षेत्रमा समेत सहयोग पुग्ने विश्वास थियो । यात्राका लागि सुरुमा बुवाआमाले सहमति नजनाए पनि भोटिङमा भाग लिएर अन्तिम १० मा पर्दै गर्दासम्म उनका बुबाआमा उनको यात्राप्रति उत्साहित भइसकेका थिए ।

यात्राका सुरुका दिनहरुमा उनलाई निकै कठिन भयो । यस्तो यात्रामा निस्कनुनै दुर्भाग्य रहेछ भन्ने उनको सोचहरु यात्राका उत्तरार्द्धमा भने साहस र शक्तिमा रुपान्तरित भए । उनी भन्छिन् डोल्पा त्यस्तो ठाउँ हो जहाँ आफ्नो बाटो आफैें खोज्नुपर्छ । यात्राका क्रममा आफू हराएको अनुभव गर्दै कतिपटक उनी आफैंसँग रोइन्, बिलौना गरिन् । क्षितिजको डाँडामा देखिएका भेडाका बथानहरुले त्यतिबेला उनमा साहस भरिदियो । डोल्पाको डाँडामा भेडा गोठाल्नी ‘बजु’सँग अँगालो हालेर रुँदा आफूमा सञ्चा नेपालीपन भटेकी थिइन् उनले, साहसिक नारीभित्र लुकेको शलील हृदय सायद त्यही थियो ।

धेरै दिनअघि पकाएर झोलामा राखेका चिसा रोटी र पाउरोटीहरुमा जीवनका स्वादहरु भेटिएको थियो त्योबेला । मोत्से गुम्बामा मेला भर्न आएकाहरुसँग रोटी र अचारहरु बाँडेर खाएको र गुम्बामा ध्वजा बाँधेर फकिएको सम्झना उनको मस्तिष्कमा अझै ताजै छ । त्यही गुम्बाले दिएको उनमा आफैंमाथि विश्वास गर्ने आत्मबल थियो । हिमालका खोँचहरुमा मुस्काइरहेका बालसुलभ हाँसोहरुले उनलाई पाइला पाइलामा जीवनको परिभाषा  दिइरहेको थियो  । डोल्पाका स्थानीयहरुले पिएको जाँडका बटुकाहरुमा उनले जीवनको रस भेटेकी थिइन्  ।

यात्राको अन्तिम समय जब तीन हप्तापछि आकाशतिर फर्किन्, रातमा आकाशका ताराहरुले उनलाई सफल यात्राको सफलताको बधाई दिइरहेजस्तो लाग्यो । जोकोहीसँग सजिलै नखुल्ने स्वभावको उनले यात्राको क्रममा भुगोल, प्रकृति, समाज र मानव समाज जुन साक्षात्कार गर्ने मौका पाइन्, त्यो नै थियो जीवनको प्रतिबिम्ब ।

सोलो ट्राभलिङको त्यही यात्राबाट अनुभव सँगालेकी उनले भनिन्,- ‘जो कोहीले जीवनमा घुम्नुपर्छ, पटक पटक घुम्नुपर्छ, अझ सम्भव छ भने एक्लै घुम्नुपर्छ, प्रकृति, संस्कृति र जनजीवनको गहिराईमा पुग्नको लागि ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.