कोरियाली लगानी भित्र्याउन राजदूत सिकलाई आग्रह

  २०७५ कार्तिक २६ गते १९:४९     विकासन्युज

काठमाडौ। तिलोत्तमा नगरपालिकाका जनप्रनिनिधि र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकबीच आज नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण र भावी योजनाका बारेमा छलफल भएको छ ।

नगर प्रमुख वासुदेव घिंमिरेले नगरपालिकामा जनप्रतिनिधिहरु आएपछि शुरु भएका विकास निर्माण, विभिन्न अभियान तथा भावी योजनाका बारेमा राजदूत सिकलाई जानकारी गराएका थिए। उनले नगरपालिकाले अघि सारेका ठूला योजनामा दक्षिण कोरियाली सरकारका तर्फबाट सहयोग मिल्ने विश्वास व्यक्त गर्दै यसमा सहजीकरण गरिदिन राजदूत सिकलाई आग्रह गरे।

नेपालमा पुनः मिल्क होलिडे शुरु हुँदा किसान मर्कामा परेको उल्लेख गर्दै उहाँले दूधको बजारीकरणका लागि नगरपालिकाले दुग्ध प्रशोधन केन्द्र स्थापना गर्न कोरियाली सरकारको सहयोगको अपेक्षा गरेका छन्। प्राविधिक शिक्षालय, क्षेत्रीयस्तरको बसपार्क, फोहरमैला प्रशोधन केन्द्र, एकीकृृत ढल निकास योजनालगायत नगरपालिकाले अघि सारेका ठूला आयोजनामा सहयोग गर्न र कोरियाली लगानी भित्र्याउने वातावरण निर्माण गर्नुपर्नेमा नगर प्रमुख घिमिरेको जोड थियो ।

कार्यक्रममा राजदूत सिकले स्थानीय सरकारका गतिविधिलाई आफूले नजीकबाट नियाल्ने अवसर पाएको भन्दै लुम्बिनी र व्यापारिक नाकाबाट नजीक रहेकाले तिलोत्तमा नगरपालिकामा विकासको प्रचुर सम्भावना रहेको उल्लेख गरेका थिए।

दक्षिण कोरियाले नेपालमा विभिन्न सहयोगका कार्यक्रम गर्दै आएको बताउँदै राजदूत सिकले योजनाको प्राथमिकीकरणमा विशेष ध्यान दिन जनप्रतिनिधिलाई आग्रह गरेका छन्। तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेका विभिन्न अभियानबाट आफू निकै प्रभावित भएको उल्लेख गर्दै राजदूत सिकले यस नगरपालिकालाई हरित नगर भएको आफूले देख्न चाहेको बताए। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.