भारतको आन्तरिक समस्याका कारण छ महिनादेखि देशमा टिटी खोपको अभाव

  २०७५ कार्तिक २६ गते ११:२३     विकासन्युज

काठमाडौं। दुर्घटना, फलाम या खिया लागेको सामानले चोट पुर्याउँदा तथा जनावरले टोकेमा टिटानस ब्याक्टेरिया मार्न २४ घण्टाभित्रै लगाउनुपर्ने टिटानसविरुद्धको भ्याक्सिन हाल देशभरि नै अभाव भएको छ ।

करीब छ महीना बित्दा पनि भ्याक्सिनको सहज आपूर्ति हुन सकेको छैन । भारतको आन्तरिक समस्याका कारण यसको आयात हुन नसकेको औषधि व्यवस्था विभागले जनाएको छ । टिटानस रोगविरुद्धको भ्याक्सिन (टिटी खोप)को वैकल्पिक व्यवस्था नहुँदा सयौैँ बिरामी प्रभावित हुन पुगेका छन् । सरकारी तवरबाट अन्य धेरै खोपको निःशुल्क व्यवस्था भए पनि टिटीको भने भ्याक्सिन आपूर्तिको व्यवस्था छैन ।

अहिले नेपालमा मागको १० प्रतिशत पनि भ्याक्सिन आयात हुन सकेको छैन । औषधि व्यवस्था विभागसँग खपतको यकिन तथ्याङ्क नरहेपछि निजी वितरकका अनुसार मासिक करीब दुई लाख ४० हजार एम्पुल भ्याक्सिन खपत हुने अनुमान छ ।

काठमाडाैं विभिन्न औषधि पसलमा स्थलगत रिपाेर्टिङका क्रममा पुग्दा केही पसलमा पुरानो मौज्दात भ्याक्सिन भए पनि अधिकांश औषधि पसल तथा फार्मेसीमा भ्याक्सिन थिएन । काठमाडौँको त्रिपुरेश्वर, थापाथली, मैतीदेवी, पुतलीसडकका सात औषधि पसलमा पुग्दा पाँच पसलमा खोप नआएको महीनौँ भएको पाइयो ।

तिहारअघि नर्भिक अस्पतालमा भ्याक्सिन नआएको महीना नाघेको थियो । देशका अन्य जिल्लामा समेत समस्या कायमै छ । काठमाडौँ पोलिक्लिनिक थापाथलीका सञ्चालक पङ्कज मेहता टिटी जस्तो महत्वपूर्ण भ्याक्सिन नहुनु दुर्भाग्य हो भन्छन्। लामो समयदेखि थोक बजारमै भ्याक्सिन नभएको मेहताले बताए। निम्स फार्मेसी, थापाथलीका राजु श्रेष्ठ तीन महीनादेखि भ्याक्सिन सकिएको बताउँछन्।

औषधि व्यवस्था विभागका अनुसार करीब छ महीनादेखि नै टिटी खोपको अभाव छ । भारतबाट नेपालमा भ्याक्सिन निर्यात गर्ने कम्पनी र भारत सरकारसँगको मूल्य निर्धारणमा भएको समस्याले नेपालमा भ्याक्सिन अभाव भएको हो ।

“अभाव भएको छ महीना भयो, हामीलाई खबर आएको भने एक महीना भयो, त्यसपछि हामीले अहिले छिटो आयात गर्न पहल गरिरहेका छौँ ।” विभागका सूचना अधिकारी सन्तोष केसी भन्छन्, “विभागले बजारमा औषधि र औषधिजन्य पदार्थको नियमन गर्ने काम गर्दछ । उनका अनुसार केही अत्यावश्यक भनिएका ठाउँमा आएको भ्याक्सिन पठाउने गरिएको छ ।” बजारमा भ्याक्सिन अभाव भएको छ महीना हुँदासमेत स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी भने बजारमा भ्याक्सिन अभाव भएको भन्नेबारेमा जानकारी नभएको प्रतिक्रिया दिन्छन्।

भारतको सेरम इन्स्टिच्युट र बायोलोजिकल इन्भान्स कम्पनीले नेपालमा टिटी भ्याक्सिनको आपूर्ति गर्दै आएको छ । इन्भान्स कम्पनीबाट आयात गरेर मेडी सेल्सले र सेरमबाट आयात गरेर श्रीओम ब्रदर्शले नेपालमा भ्याक्सिन वितरण गर्दै आएको छ ।

मेडी सेल्सका प्रोप्राइटर श्रीबिन्दु राजभण्डारी भारतको कम्पनी पुनःनिर्माणमा रहेकाले भ्याक्सिन आपूर्ति गर्न नसकेको भन्दै मागको १० प्रतिशत पनि आपूर्ति हुन नसकेको बताउँछन्। केही आपूर्ति हुन थालेकाले अब भने वितरण सहज हुने आशा वितरकको छ ।

“हामीले ५०० प्याकेट (प्रतिप्याकेट दुई हजार ४०० एम्पुल) मगाउँछौँ, कम्पनीले जम्मा ५० प्याकेट पठाउँछ, अनि कसरी नेपालमा भ्याक्सिन सहज हुने”, राजभण्डारीले भने। यता सेरम इन्स्टिच्युटको नेपालस्थित आधिकारिक बिक्रेता श्रीओम ब्रदर्सका व्यवस्थापक सुवास अधिकारी भारत सरकारले मूल्य निर्धारण गरेपछि उक्त मूल्यमा घाटा लाग्ने भएकाले सेरमले उत्पादन नै नगरेको जानकारी आएको बताउँछन्।

भारतको आन्तरिक समस्याले गर्दा अहिले शून्य दशमलव पाँच एमएलको भ्याक्सिन भने आएको छैन । अन्य ५०० एमएलको भने आइरहेको अधिकारी बताउँछन्। उनले यसको विकल्पका रुपमा टिडी (टिटानस डिप्थेरिया) भ्याक्सिन विकल्पका रुपमा प्रयोग गर्न सकिने बताए।

नेपाल सरकार स्वास्थ्य सेवा विभागले अहिले गर्भवती आमा र बच्चाका लागि भनेर टिडी भ्याक्सिन दिन थालेको करीब चार वर्ष भयो । त्यसयता सरकारी तवरमा टिटी खोपको आपूर्ति भएको छैन । आमा र बच्चा दुवैका लागि भनेर टिडी वितरण भइरहेको विभागको आपूर्ति व्यवस्थापन शाखाअन्तर्गतको फार्मेसी अधिकृत बडेबाबु थापा बताउँछन्।

यो धनुष्टङ्कार र भ्यागुते रोगविरुद्धको भ्याक्सिन हो । थापाका अनुसार सरकारी तवरबाट अहिले टिटी भ्याक्सिनको आपूर्ति बन्द छ । शाखाले अहिले बिसिजी, डिपिटी, ओपिभी, दादुरा, रुवेलाविरुद्धको भ्याक्सिन, टिडी, जेइ, पिसिभी, आइपिभी खोप आपूर्ति गर्दै आएको छ । तर अत्यावश्यक मानिने टिटानसविरुद्धको भ्याक्सिन भने निजी कम्पनीको भरपर्नुपर्ने बाध्यता छ ।

सो विषयमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा लोहनी आमा सुरक्षा कार्यक्रमअन्तर्गत टिटीको कुनै कार्यक्रम नभएकाले सरकारी तवरबाट वितरण नभएको बताउँछन्। यसको सट्टामा टिटी भ्याक्सिन सरकारले उपलब्ध गराएको उनको भनाइ छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.