सेयर बजारमा अनावश्यक चलखेल भए चुप लागेर बस्दैनौंः अर्थमन्त्री डा. खतिवडा

  २०७५ कार्तिक २० गते १८:४३     विकासन्युज

डा. युवराज खतिवडा, अर्थमन्त्री

काठमाडौं । सेयर लगानीकर्ता साथीहरु जसको आशमा मुलुक चलिरहेको छ । बधाई छ नेप्सेलाई अनलाईन ट्रेडिङ शुरु गराउनु भएकोमा । शुरु शुरुमा यस्तै हुन्छ । हामीले अनलाईन कर संकलन गर्दा पनि यस्तै हुन्छ । प्लेयरहरु पनि तयार भैसकेका हुन्नन् । कर्मचारी पनि तयार भैसकेका हुन्नन् । पूर्वाधार पनि पुरै चलाउन सक्ने अवस्थामा हुन्न फेरी पनि काम अघि बढाउनै पर्छ । त्यो भनेको असल सुरुवात हो ।

असल सुरुवातका लागि नेप्से र त्यसमा सहयोग गर्ने नियामक निकायहरुलाई धन्यवाद दिन चाहान्छु । हामी ई गर्भमेन्टको कुरा गर्दैछौं । ई गर्भमेन्टको कुरा गर्ने हामीले सरकारको मात्रै होइन, बिजनेश सेक्टरको र वित्तीय क्षेत्रको पनि ई गर्भमेन्टमा जोड दिएका छौं । त्यसको एउटा कडी हो यो अनलाईन सेयर कारोबार ।

कुनै बेला हामीले डिम्याट शुरु गर्दा त्यसको परिभाषा बुझ्न पनि धेरै साथीहरुलाई गाह्रो भयो । म्याट भनेको गुन्द्रि र डि भनेको के हो भनेर बुझ्ने अवस्था थियो डिम्याटलाई । हामीले वित्तिय साक्षरताको त्यो अवस्थाबाट आएर अनलाइन कारोबारसम्मको फड्को मारेका छौं । अब वित्तीय साक्षरता सृजना गर्न यसले सहयोग गर्न छ । सरकारले पुँजी बजारको वृद्धि र विकासका लागि गरेका कुराहरु मैले धेरै वटा फोरमहरुमा भनिसकेको छु । आज पनि म दुई चार वटा कुराहरु भन्न चाहान्छु ।

बजारका पूर्वाधारहरुको विकास गर्नुछ । पूर्वाधार भनेका धेरै कुराहरुका अतिरिक्त अनलाईन कारोबार पनि हो । बजारमा किनेबेच हुने वित्तिय उपकरणहरुको बिबिधिकरण पनि हो । किनबेच हुने ठाउँहरुको विविधिकरण हो र किनबेच प्रक्रियाको विविधिकरण पनि हो । अनलाईन कारोबार आरम्भ हुनु भनेको बजारको किनबेच प्रक्रियाको विविधिकरण हो । ठाउँको बिबिधिकरण र प्रडक्टहरुको विविधिकरणका बारेमा हामी थप छलफल गर्दै अघि बढ्नुपर्ने भएको छ ।

पुँजी बजार भन्नाले धितोपत्र बजार, धितोपत्र बजार भन्नाले सेयर बजार, सेयर बजार भन्नाले बैंक तथा वित्तीय संस्थाको बजार, त्यो भनेको इक्वीटीको बजार भएको छ । त्यसभित्र पनि बढी करोबार हुने निश्चित बैंक तथा वित्तिय संस्थाहरुको दैनिक कारोबार भएको छ । बण्डको कुरा छैन् । अरु प्रकारका वित्तिय औजारहरुको कुरा पनि छैन् । कमोडिटी मार्केटलाई व्यवस्थित गरिसकिएको छैन् । यस्ता धेरै कुराहरु सरकारले गर्नुपर्ने एजेण्डाका रुपमा रहेका छन् । एक्टरहरु थप्दै जाने कुरामा म्युचुअल फण्ड अघि बढाएका थियौं । तर त्यसले जति शसक्त रुप लिनुपर्ने हो त्यो लिन सकिरहेको छैन । भेञ्चर क्यापिटल र प्राइभेट ईक्वीटी, हेज फण्डका कुराहरु केहि अघि बढेका छन् । नियामावलीहरु बनिरहेका छन्, ती केहि समयभित्रै कार्यान्वयनमा आउँछन् ।

हामीले केहि संस्थागत सुधारका कामहरु पनि गर्नुपर्ने अवस्था छ । नेप्से एउटा स्वायत्त संस्थाका रुपमा अघि बढोस् । स्वायत्त ढंगले काम गरोस् । स्वार्थ बाझिने किसिमका कामहरु नहोउन् । यति गरिसकेपछि पनि हामीले अर्काे केहि कुराबारे सोच्नै पर्ने अवस्था छ । अघि यहाँ पनि कुरा उठ्यो । संस्थागत लगानीकर्ता आएनन् भनेर । केहि संस्थागत लगानीकर्ताहरुलाई मैले भनिसकेको छु, तपाईहरु सेयर बजारमा पनि लगानी गर्नुस् भनेर । अलिकति चासो देखाउनुस भनेर ।

अब अहिले सुरक्षित ११ प्रतिशतसम्म ब्याजमा निक्षेप पाएपछि दायाँ बायाँ हेर्ने उहाँहरुको त्यति मन छ जस्तो लाग्दैन । तर यो अवस्था अब लामो समयसम्म रहँदैन् । हामी कहाँ हरेक कुराको सिजनालीटी हुन्छ । तरलताको पनि सिजनालीटी भएको हो । पानी, दुधको पनि सिजनालीटी हुन्छ । तरकारीको भाउको पनि सिजनालीटी हुन्छ । धेरै सिजनालीटी हुन्छ जसमध्ये तरलताको पनि सिजनालीटी मात्रै भएको हो भन्ने अनुरोध गर्दछु ।

लगानीकर्तालाई आफ्नो पोर्टफोलियोमा सदुपयोग गर्नुस् भनेर संस्थागत लगानीकर्ता र वचत परिचालन गर्ने गैर बैंकिङ वित्तिय संस्थाहरुलाई अनुरोध गर्न चहान्छु । खास गरि ब्रोकर सर्भिसलाई हामीले व्यवस्थित गर्ने क्रममा बैंकिङ प्रणाली मार्फत नै सेटलमेन्ट हुने कुरालाई हामीले तत्कालै अघि बढाउनुपर्छ भन्ने महशुस गरेका छौं । त्यस्तो पूर्वाधारका बारेमा पनि हामीले थप छलफल गर्नुपर्ने महशुस गरेका छौं ।

बजेटबाट हामीले केहि कुरा गर्न खोजेका छौं । पुँजीगत लाभकरका सवालमा केहि दुबिधा थियो । त्यो पनि सिडिएस लागु हुनु भन्दा अघि लाभकर गणनाका सवालमा केहि असुबिधा थिए । रिफेरेन्स प्राईस नहुने, कारोबार रकम पनि निश्चित नहुने अवस्था थियो । सिडिएस अघिको अवधीलाई हामी गणना गरेर हामी छिट्टै निचोडमा पुग्दैछौं । हाम्रो तहमा मोटामोटी निर्णय भैसकेको छ । केहि दिनभित्रै कार्यान्वयन हुन्छ । पुँजीगत लाभकरका बिषयमा अब अन्यौल रहने छैन। अरु करका बिषयमा त हामीले बजेट मार्फत नै स्पष्ट पारिसकेका छौं, त्यसमा कुनै समस्या छैन।

अब अहिलेको बजारको प्रवृत्ति र हाम्रो आर्थिक क्रियाकलापका सन्दर्भमा म केहि जोड्न चाहान्छु । केहि दिन अघि बिराटनगरमा एक जना व्यवसायीले मलाई सोध्नुभयो, आर्थिक वृद्धि राम्रो भैरहेको छ, सेयरको मूल्य किन नबढेको ? मैले यो प्रश्नको उत्तर लगानीकर्तालाई सोध्नुस् भनिरहेको छु ।

हाम्रो औद्योगीक उत्पादन बढ्दैछ । उद्योगहरु पूर्ण क्षमतामा चल्दैछन् । आर्थिक वृद्धि निरन्तर तेश्रो बर्ष उच्च दर कायम भैरहेको छ । हाम्रो अनुमान त ८ प्रतिशत हो तर दातृ निकायहरुकै अध्ययनले पनि ६ प्रतिशत कायम हुनेछ भनेका छन् । औद्योगीक उत्पादन राम्रो छ, बैंक तथा वित्तीय संस्थाहरुको मुनाफाहरुको स्थिति पनि राम्रो छ । रिनर्ट अन ईक्वीटीकै कुरा गर्ने हो भने त अलि फरक हो । अब हकप्रद सेयर पनि लिने, बोनस सेयर पनि लिने अनि रिटर्न अन ईक्वीटी पनि हिजो भन्दा राम्रो होस भन्ने हो भने त चाटर्डले भनिदिनु पर्यो । म अलि कुरा बुझ्दिन ।

सेयर लगानीकर्ताको वेल्थ क्रियसन(सम्पति बढेको) भएको छ । सम्पति बढेकै छ । त्यो म दावी नै गर्छु । सम्पति बढेको कुरालाई मैले सकारात्मक रुपमा लिएको छु । बैंकिङ सेवा व्यवसायहरु बढेका छन् । व्यवसायहरुको बिबिधिकरण बढेको छ । पर्यटन क्षेत्र विस्तारित हुँदै गएको छ । आर्थिक क्रियाकलापहरुमा भैरहेका विस्तारहरु सेयर बजारमा पनि प्रतिबिम्बित हुनुपर्दछ हाम्रो मान्यता यहि हो । धानकै मात्र उत्पादन बढेर सेयरको मूल्य किन बढेन भन्नु गलत होला । तर सेयरसँग सम्बन्धित व्यवसायहरुकै वृद्धि भैरहँदा पनि सेयर बजार नबढ्नु चाँही राम्रो होइन ।

सेयरसँग योगदान दिने कम्पनीको सुधार, मुनाफा वृद्धि हुँदा सेयर बजारसँग पनि सम्बन्ध हुनुपर्छ । त्यो सम्बन्ध तल माथी हुन थाल्यो भने अर्थमन्त्रालय र नियामक निकायहरुले हेर्छन् । बजारका प्लेयरहरु स्वस्थ भएनन् की ? बजारको संरचना स्वस्थ भएन की ? बजारको सूचना प्रणाली ठिक भएन की ? सूचना लिने र दिनेहरुका बीचमा पनि सम्वाद भएन की ? या कुनै एक किसिमले तत्कालिन सट्टेवाजीको प्रवृत्ति पो अघि बढ्यो की ? बजारलाई अलि अर्कै प्रकारले प्रभाव पार्ने बिषय पो हुन थाल्यो की ? भनेर हामी अलिकति कान ठाडो पार्छाै । त्यो बेला तपाईहरुले बीचबीचमा हामीलाई झकझक्याई दिनु होला ।

अघि एक जनाले साथीले भन्नुभयो, ओपन हाउस क्राईबाट हामी अनलाईन कारोबारमा पुग्यौं भनेर । त्यो ओपन हाउस क्राई चाँही स्क्रिन वा पर्दा तिर नहेरेर बोर्ड तिर हेरेर गरिन्थ्यो । अहिले ओपन आउट क्राई चाँही मूल्य तलमाथी भयो की अर्थमन्त्रालय तिर हेर्न थालियो । त्यसो नगरि दिनु होला, ओपन आउट क्राई पनि बोर्ड तिरै हेरेर गर्ने हो अर्थमन्त्रालय तिर होइन ।

सेयर बजारको समस्या नजिकबाट सुन्ने र बुझ्नेहरुमध्ये म पनि पर्छु । यी सबै समस्याहरुको समाधान हामी सँगै बसेर गर्ने हो । वित्तीय विश्लेषण गरेर लगानी गर्नु होला । तिहारको शुभकामना त छदैँ छ, साथमा लक्ष्मी पुजासँगै कम्पनीको बासलात हेरेर, नाफा नोक्सान हेरेर, प्रोफाइल हेरेर लगानी गरौं । लक्ष्मी पुजाले श्रद्धा त हुन्छ तर सेयरको मूल्य वृद्धि हुँदैन। लक्ष्मीले लगानीकर्तालाई साथ दिउन । लगानीकर्ताहरुको वेल्थ क्रियसन भयो भने मुलुकको वेल्थ क्रियसन हुन्छ । त्यसपछि पुँजीगत लाभकर लगाउन पाउँछौं पनि (अनलाईन सेयर कारोबार आरम्भ कार्यक्रममा व्यक्त गरेको विचार )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.