बर्दिवास र कटारीमा कृषि र वनको पढाइ शुरु गर्ने तयारी

  २०७५ कार्तिक २० गते ११:२७     विकासन्युज

काठमाडौं। कृृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले यस वर्ष महोत्तरीको बर्दिवास र उदयपुरको कटारीमा कृषि र वन विषयको पढाइ शुरु गर्ने तयारी गरेको छ । विश्वविद्यालयले आङ्गिक र निजी क्याम्पसमा नयाँ शैक्षिकसत्रका लागि भर्ना लिने तयारी शुरु गरेको हो । विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले बर्दिवासमा कृषि र कटारीमा वनको स्नातक पढाइ शुरु गर्ने तयारी भइरहेको बताए।

डीनको कार्यालयले भर्ना प्रक्रिया अघि बढाउँदै छ । रोल्पाको माडीचौर, बाँकेको खजुरा, स्याङ्जाको चापाकोट, दैलेखको दुल्लु र गोरखाको च्याङ्लीमा पनि आङ्गिक क्याम्पसका लागि विश्वविद्यालयको सिनेटले अनुमोदन गरेको छ । ती ठाउँबाट आवश्यक कागजपत्र र जग्गा विश्वविद्यालयको नाउँमा हस्तान्तरण गर्ने प्रक्रिया भइरहेको उनले बताए।

आङ्गिक क्याम्पस सञ्चालन पूर्वपहाडमा १०० रोपनी र तराईमा आठ बिगाहा जग्गा विश्वविद्यालयको नाउँमा आउनु पर्दछ । यसअघि विश्वविद्यालयको केन्द्रीय कार्यालय रामपुर, कास्कीको पुरनचौर, सिन्धुलीको कोपिलाकोट, धनकुटाको पाख्रिबास र कैलालीको टीकापुरमा कृषि स्नातकको पढाइ भइरहेको छ ।

विश्वविद्यालयले यसै शैक्षिकसत्रमा निजी सात क्याम्पसमा कृषि स्नातक र एउटामा वन स्नातकको पढाइ गर्ने तयारी गरिरहेको छ । गत वर्ष विश्वविद्यालयमा कृषि स्नातकमा २१५ जनाको कोटाका लागि चार हजार २०० जनाको दर्खास्त परेको थियो । विद्यार्थीको चाप बढ्दै गएका कारण आङ्गिक क्याम्पस खोल्नेक्रमलाई तीव्रता दिइएको विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिले बताए। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.