६२ लाख रुपैंयाको कारोबार गर्दै सकियो गोदावरी पुष्प मेला, ४४ हजारले गरे अवलोकन

  २०७५ कार्तिक १८ गते १८:१०     विकासन्युज

काठमाडौं । १२औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ४४ हजार ५ सय जनाले अवलोकन गरेका छन् । ४ दिनमा ६२ लाख रुपैंयाको कारोबार गर्दै आइतबार पुष्प मेला सकिएको छ ।

तिहार नजिकिँदै गरेका कारण मेलामा अवलोकनकर्ताको भिड लागेको थियो । तेस्रो दिनसम्ममा मात्र३९ हजार बढीले अवलोकन गरी ५० लाख रुपैंयाको फूल बिक्री भएको थियो । उक्त मेलाको अन्तिम दिन आइतबार मात्र ५ हजार बढीले अवलोकन गरेका छन् । आइतबार मात्र साढे ११ लाख रुपैंयाको फूल बिक्री भएको मेलाको आयोजक फ्लोरीकल्चर एशोसिएशनले जनाएको छ ।

प्रदेश नं ३ को भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा बिहीबारदेखि फ्लोरीकल्चर एशोसिएसनले मेला आयोजना गरेको हो । उल्लेख्य मात्रामा अवलोकनकर्ता आएका कारण अपेक्षित तथ्यांक भन्दा धेरै कारोबार भएको एशोसिएसनले जनाएको छ ।

मेलामा पहिलो दिन ९ हजार ५ सय अवलोकनकर्ता पुग्दा करिब १३ लाख रुपैंयाको कारोबार भएको थियो । दोस्रो दिन १२ हजार बढीले अवलोकन गरेको मेलामा १६ लाख ५० हजार बढीको कारोबार भएको थियो । तेस्रो दिन शनिबार १७ हजार अवलोकनकर्ता पुगेको मेलामा २१ लाख रुपैंयाको कारोबार भएको थियो ।

चार दिनसम्म मेला सञ्चालन हुँदा ४५ लाख रुपैंया बराबरको कारोबार हुने अपेक्षा गरिए पनि ६२ लाख रुपैंयाभन्दा बढीको कारोबार भएको हो । प्रदर्शनीमा ४५० भन्दा बढी जातका फूलका ४८ वटा कक्ष समावेश थिए । प्रदर्शनीमा तिहारका लागि प्रयोग हुने गोदावरी फूलका विभिन्न प्रकार स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिएको थियो ।

‘रोपेर फूल गोदावरी सजाआैँ घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ सम्पन्न भएको प्रदर्शनीमा गोदावरीका साथै तिहारमा घर सजावटका लागि प्रयोग हुने फूलहरू बढी बिक्री भएका छन् ।

२०११ देखि नेपाल प्राइभेट नर्सरी स्थापनासँगै सामान्य स्तरमा शुरु भएको फूल व्यवसाय आर्थिक गत आर्थिक वर्षको अन्त्य सम्ममा ४३ जिल्लामा विस्तार भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.