८०० सय युवाले भरे बेरोजगारी फाराम, आत्मनिर्भर तथा स्वरोजगार बन्ने लक्ष्य

  २०७५ कार्तिक १६ गते १७:०३     विकासन्युज

अछाम । बेरोजगार युवालाई लक्ष्य गरी चौरपाटी गाउँपालिकाले आयोजना गरेको रोजगार मेलामा ८४१ युवाले फाराम भरेका छन् ।

बेरोजगार युवालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले गाउँपालिकाले चौरपाटी र चौखुट्टेमा उक्त मेला आयोजना गरेको हो । बुधबार चौरपाटीमा ५०६ जना तथा बिहीबार चौखुट्टेमा १७८ जनाले बेरोजगारी फाराम भरेका हुन् । यस्तै धनलक्ष्मी रोजगार कार्यक्रममा चौरपाटीमा ४३ र चौखुट्टेमा २८ जनाले तथा धनलक्ष्मी बायो टेक्नोलोजीतर्फ चौरपाटीमा ६४ र चौखुट्टेमा २२ जनाले आवेदन दिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापाले जानकारी दिए ।

रोजगार मेलामा १८ वर्ष पूरा भई ५८ वर्ष ननाघेका बेरोजगारले फाराम भरेका छन् । गाउँपालिकाले श्रम तथा रोजगार कार्यालय धनगढी र स्थानीय गैरसरकारी संस्था वाक नेपालसँगको प्राविधिक साझेदारीमा आयोजना गरेको युवा रोजगार मेलामा बेरोजगार युवाको तथ्याङ्क सङ्कलन, आत्मनिर्भर र स्वरोजगार बनेका युवाका स्थानीय उत्पादन प्रदर्शनी, युवा प्रशिक्षण तथा खुला अन्तर्क्रिया कार्यक्रम गरिएको थियो ।

मेलामा युवालाई व्यावसायिक बन्नका लागि प्रशिक्षण, बेरोजगारको तथ्याङ्क विष्लेषण, युवासँग खुला अन्तर्क्रिया, उद्यमशीलताबारे जानकारी र लघु तथा घरेलु उद्योगका विषयमा बृहत्रुपमा छलफल गरिएको थियो । नेकपाका स्थायी समिति सदस्य भीमबहादुर रावलले सो मेलाको उद्घाटन गरेका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.