अमेरिकाको निष्कर्षः अफगान युद्ध पराजयको संघारमा

  २०७५ कार्तिक १६ गते ९:३८     विकासन्युज

वासिङ्टन । अफगानिस्तान सरकारले पछिल्ला महिनाहरुमा देशव्यापी नियन्त्रण गुमाउँदै गएको र ठूलो संख्यामा स्थानीय सुरक्षाकर्मीको मृत्यु भएको एक अमेरिकी सरकारी संस्थाको पछिल्लो अध्ययनले देखाएको छ । संस्थाको अध्ययनमा तालिबान विरुद्धको सङ्घर्षमा खासै कुनै प्रगति नभएको ठहर गरिएको छ ।

अफगानिस्तानको पछिल्लो सुरक्षा सङ्कटको विश्लेषणमा प्रहरी र सैनिक टुकडीले अभूतपूर्व चुनौती भोग्नु परेको पाइएको छ । अमेरिकी नेतृत्वमा १७ वर्षअघि भएको सैनिक हस्तक्षेपपछि पनि तालिबानको प्रभाव र बर्चश्व कम हुनुको साटो बढ्दै गएको छ ।

अफगानिस्तानमा तैनाथ अमेरिकी नेतृत्वको नेटो अभियानले उपलब्ध गराएको विवरणमा पछिल्लो चार महिनामा अफगान सरकारले ४०७ वटा जिल्लामध्ये २२६ वटामा मात्र नियन्त्रण वा प्रभाव कायम राख्न सफल भएको उल्लेख छ । अर्थात् कूल भूभागको करिब ५५ प्रतिशतमा काबुलको नियन्त्रण वा प्रभाव छ ।

अफगानिस्तानको पुनर्निर्माणका लागि अमेरिकी नियोग (सिगार) का अनुसार अघिल्लो चार महिने समयावधिभन्दा पछिल्ला चार महिनामा शून्य दशमलब ७ प्रतिशतले सरकारी नियन्त्रण गुमेको छ । नोभेम्बर २०१५ मा जिल्लाहरुको वस्तुस्थितिको अध्ययन गर्न थालेयता यो सबैभन्दा कमजोर अवस्था हो ।

सिगारका अनुसार बाँकी जिल्लामध्ये ४९ वटा (१२ प्रतिशत) मा विद्रोहीको पूर्ण नियन्त्रण वा प्रभाव छ । अरु एकसय ३२ वटा जिल्लामा भने काबुल सरकार र तालिबान वा अन्य विद्रोहीमध्ये कसको नियन्त्रण छ भन्न कठिन रहेको छ ।

जनसंख्याका आधारमा काबुलको नियन्त्रण ६५.२ प्रतिशतमा छ, र यो गत वर्षकै हाराहारीमा रहेको छ ।
अमेरिकी सैनिक जनरल जोन निकोल्सनले नोभेम्बर २०१७ मा अफगान सुरक्षाफौजले आगामी दुई वर्षभित्र कूल जनसंख्याको ८० प्रतिशतमा नियन्त्रण राख्न सक्ने बताएका थिए ।

अफगान मामिलाका विज्ञ बिल रोज्जियोले जनरल जोनले दाबी गरेझैं परिस्थितिमा सुधार नआएको बताए। उनले भने, “अफगान सुरक्षाफौजले कुनै नाटकीय सफलता प्राप्त नगर्दासम्म र सुरक्षा व्यवस्थामा सुधार ल्याउन अमेरिकाले पुनः प्रतिबद्धता व्यक्त नगर्दासम्म कुनै ठोस सफलता हासिल हुने सम्भावना देखिन्न ।”

सुरक्षा व्यवस्थामा रहेको कमजोरीको रुपमा आन्तरिक आक्रमणलाई पनि लिन सकिन्छ । कान्दाहारमा यही महिना उच्चस्तरीय सुरक्षा बैठकमै सुरक्षागार्डले चलाएको गोली लागेर कान्दाहारका प्रहरी प्रमुख जनरल अब्दुल रजिकको हत्या भयो । उक्त हमलामा अरु दुई जनाको हत्या हुनुका साथै केही सैनिक अधिकारीहरु घाइते भएका थिए ।

उक्त बैठकमा अफगानिस्तानका लागि अमेरिकी तथा नेटो कमान्डर जनरल स्कट मिलर पनि सहभागी थिए । जनरल स्कट भाग्यले बाँचे तर अमेरिकी ब्रिगेडियर जनरल जेफ्री स्माइली समेतका १३ जना घाइते भए । तालिबानले मिलर र रजिकलाई आक्रमणको निशाना बनाएको बताएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक वर्षभन्दा पहिले अफगान योजनामा परिवर्तन ल्याउने घोषणा गरेका थिए । उनले अफगानिस्तानको सुरक्षा व्यवस्था अफगान फौजलाई हस्तान्तरण गर्ने र अमेरिकी सेनाले अफगान फौजलाई तालिम एवं परामर्श सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।

काबुलले अनुरोध गरेपनि अफगान सुरक्षाफौजले भोगेको क्षतिको विवरण उपलब्ध गराउन वासिङ्टनले अस्वीकार गरेको छ । सिगारको प्रतिवेदनमा हरेक वर्ष पाँच हजारभन्दा बढी अफगानी फौजका जवानको मृत्यु हुने गरेको छ । पछिल्लो प्रतिवेदनमा सिगारले नेटो रिसोल्यूट सपोर्टको भनाइ उद्धृत गर्दै पछिल्ला दिनमा क्षति अझ बढी भएको जनाएको छ ।

“यसैवर्षको मे देखि अक्टोबर १, २०१८ को अवधिमा अफगान फौजको सबैभन्दा बढी क्षति भएको छ,” सिगारको भनाइ छ ।

अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले यसैसाता अगष्ट र सेप्टेम्बरमा मात्र एक हजारभन्दा बढी अफगानी फौजका युवाको मृत्यु भएको बताएका छन । सिगारले पछिल्ला चार महिनामा अफगान सुरक्षाफौजले कुनै प्रगति नै नगरेको जनाएको छ ।

अमेरिकाले पछिल्ला दिनमा अफगानको शान्तिका लागि तालिबानसँग वार्ताको पहल गर्नुका साथै तालिबानलाई भइरहेको पाकिस्तानी सहयोग रोक्न पाकिस्तानमाथि आर्थिक कटौती समेतका दबाबमूलक अभियान सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.