१२औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु, ३६ हजार भन्दा बढिले अवलोकन गर्ने

  २०७५ कार्तिक १५ गते १६:३३     विकासन्युज

काठमाडौं । गोदावरी फूलको व्यवसायीक विकास, विस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको छ । जावलाखेलको खेल मैदान, ललितपुरमा शुरु भएको प्रदर्शनीको प्रदेश नम्बर ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गरेका छन् ।

पुष्प व्यवसाय प्रवद्र्धनका सम्बन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुर्याउनका लागि प्रदर्शनी आयोजना गरिएको हो । नजिकै आइरहेको तिहार तथा छठलाई समेत लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागिएको हो ।

मेलाको उद्घाटन गर्दै ३ नम्बर प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले व्यवसायिक फूल खेतीको अहिलेका अवस्था अझै बिस्तार हुनु पर्नेमा जोड दिएका थिए । यसका लागि आफुहरुले पुष्पमेलामा सहकार्य गरेको बताएका उनले आयातित फूलको प्रतिस्थापन गर्ने बाटोमा लाग्न व्यवसायीलाई आग्रह गरे ।

प्रदेश सरकार, प्रदेश नं. ३, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पुष्प बिकास केन्द्रको सहयोगमा फ्लोरिकल्चर एशोसिएसन नेपालले १२औं सस्करणको रुपमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको आयोजना गरेको हो ।

मेलामा व्यवसायिक स्टल ४४, सूचनामुलक ३ र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित जम्मा ४८ वटा प्रदर्शनी कक्षहरु रहेका छन् । मेलामा ३६ हजार भन्दा बढिले प्रत्यक्ष अवलोकन गर्ने र ४५ लाख रुपैंया बराबरको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.