मंसिरपछि लोकसेवा आयोगले नयाँ भर्ना खुलाउने

  २०७५ कार्तिक १४ गते २१:०७     विकासन्युज

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले अबका दिनहरुमा विज्ञापन तालिका फेरबदल नगर्ने दाबी गरेका छन् । उनले भने,‘लाखौ युवाहरुलाई निरुत्साहित हुन दिन्नौं, अब आगामी दिनमा आयोगले विज्ञापन तालिका फेरबदल गर्दैन् । मंसिरपछि भर्ना विज्ञापन खोल्छौं ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष मैनालीले ईतिहासमै पहिलोपटक सरकारलाई सहज होस् भन्ने आशयकासाथ विज्ञापनलाई दुई महिना पर (मंसिर) सम्म सारिएको स्पष्ट पारे । उनले भने,‘अब अर्कोपटक सार्दैनौं ।’

साक्षात्कारमा अध्यक्ष मैनालीले आयोगसँग लिनुपर्ने परामर्शलाई सरकारले गम्भिर रुपमा लिनुपर्ने धारणा राखेका छन् । उनले भने,‘हामीले एक÷दुई वटा विषयमा सरकारलाई सुझाव दिएको छौं, सरकारले त्यसलाई परामर्शको रुपमा लिनुपर्छ, हामीले नचाहँदा नचाहँदैपनि सरकारको असहजतालाई ध्यानमा राखेर दुईमहिनाको लागि विज्ञानपन रोकेका हौं, यो हाम्रो बाध्यता हो, सरकारप्रति सदासयता देखाएका हौं, भूकम्पको बेलामा पनि नरोकिएको विज्ञापन यतिखेर रोकिएको अवस्था छ ।’

उनले अघि थपे,‘सरकारले आवश्यक कर्मचारीको संख्या र आवश्यक ऐन ल्याई लोकसेवाको तयारीमा बसेका १० लाख बढि यूवाहरुको भविष्यलाई ध्यानमा राखेर काम गर्नुपर्छ, उमेरको कुरा हुन्छ, समयको कुरा हुन्छ, पारिवारिक अवस्थाको कुरा हुन्छ, यस्ता संवेदनशिलतामा सरकार गम्भिर बन्नुपर्छ, त्यसको लागि आयोगले भन्न मिल्ने र स्वयम् म आँफै पनि जान मिल्ने ठाउँमा गएर सुझाव दिईरहेको छु, तर एक महिना बाँकी छ, सरकारले यो काम गर्नेमा हामीलाई शंका छ । यसतर्फ सरकारको गम्भिर ध्यान जान जरुरी छ।’

मैनालीले सरकार यूवाहरुको भविष्यप्रति गम्भिर बन्नुपर्ने धारणासमेत राखे । ‘हामीकहाँ स्वास्थ्य, संसद, महालेखा, परराष्ट्रलगायतले रिक्त दरबन्दी पठाईसकेको छ’–उनले भने,‘केहीले नपठाएका कारण भोलिका दिनमा समान पदमा सिनियर र जुनियरको झमेला हुन्छ भन्ने कुरालाई ध्यानमा राखेर आयोगले आफ्नो ईतिहाँस भत्काएको हो ।’

संघीय सरकार र प्रदेश सरकारबीच समन्वय गरी संविधानको व्यबस्थाअनुसार कर्मचारी भर्नाको लागि सहमति जुटाउनुपर्ने बताउँदै अध्यक्ष मैनालीले भने,‘ऐन नबनेको खण्डमा प्रदेश सरकारलाई चाहिने कर्मचारीहरु संघीय सरकारले उपलब्ध गराउने व्यबस्था छ, त्यही बाटो भएर यूवाहरुको चिन्ता गर्नुपर्छ, राजनीतिक परिवर्तन भएपनि कर्मचारीतन्त्र परिवर्तन हुन नसकेको स्थिति छ, राजनीतिक लिडरमात्रै राम्रो भएर हुँदैन, कर्मचारी पनि राम्रो हुनुपर्छ, कर्मचारी मात्रैपनि राम्रो भएर हुँदैन, कर्मचारीले आफ्नो धर्म पालना गर्नुपर्छ, सरकार चलाउने नेताहरुले शासन होईन राज गर्नुपर्छ, जनताको भावना बुझ्नुपर्छ, सेवा गर्नुपर्छ ।’

अध्यक्ष मैनालीले लोकसेवा आयोगलाई निश्पक्ष र विश्वसनीय बनाईराख्नको लागि प्रदेश लोकसेवा आयोगलाई शक्तिशाली बनाउनुपर्ने धारणा राखेको छन् । उनले भने,‘आस र त्रासभन्दा बाहिर रहेर मुलुक र जनताको सेवा गर्नु कर्मचारीको धर्म हो, कर्म हो, त्यो गर्नुपर्छ । हामीले त परीक्षा लिने हो, राम्रो र योग्य व्यक्ति छान्ने हो, भर्ना गर्ने काम सरकारको हो, राणा शासनमा चाकडी र राजतन्त्रको बेला थर र घरको आधारमा बाँड्ने जागिरलाई २००७ सालको परिवर्तनपछि २००८ असाढ ८ गते स्थापना गरिएको आयोगको एउटै उद्देश्य भनेको योग्यताका आधारमा जनताको सेवा गर्नुपर्छ, त्यस्तो मानिसलाई राज्यको निकायमा पुर्याउनुपर्छ भन्ने नै हो ।’

‘पेपर र पेन्सिल’को आधारमामात्रै लिईने योग्यताको परीक्षणलाई नयाँ विधिअनुसार लिने तयारी थालेको जानकारी दिँदै अध्यक्ष मैनालीले भने,‘व्यक्तिको योग्यता नाप्ने यन्त्र पेपर र पेन्सिलमात्रै होईन, अरु ज्ञानको पनि खाँचो हुन्छ, त्यसैले आयोग यसतर्फ सचेत छ, योग्यता परीक्षणका नयाँ विधिहरु अघि सार्ने योजना बनाउँदैछ, घरमै बसेर फर्म भर्न सकिने व्यवस्थामा प्रवेश गरिसकेको छ, आयोग ईतिहासदेखि आजको दिनसम्म कुनैपनि आक्षेप र विवादमा नमुछिएर काम गर्न सफल छ, सुरक्षा निकायको परीक्षासमेत आयोगले लिने अधिकार पाएको छ, आयोगले प्राप्त गरेका अधिकारहरुलाई पूर्ण रुपमा पालना गरेको छ, आगामी दिनमा पनि यसको ईतिहास र गरिमालाई कायम राख्नेछ । सरकारले गर्नुपर्ने कामहरु तत्काल गर्नुपर्छ भन्ने आयोगको माग हो ।’

फरक प्रसँगमा उनले प्रदेश सरकारले हामीलाई यति कर्मचारी चाहियो भनेर लिखित रुपमा दिए आयोगले ६ महिनाभित्रै कर्मचारी पदपुर्ति गरिदिने विश्वास दिलाए । उनले भने,‘कर्मचारी समायोजना ऐन–२०७४ अनुसार नै हामी आवश्यक कर्मचारी पदपुर्ति गरिदिन्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.