सागका लागि उपसमिति गठन

  २०७५ कार्तिक १२ गते ९:५२     विकासन्युज

काठमाडौं। नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) का लागि गठित तयारी तथा व्यवस्थापन समितिको बैठकले आज विभिन्न उपसमिति गठन गरेको छ ।

युवा तथा खेलकूद मन्त्रालयमा समितिका अध्यक्ष एवं युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको समितिको तेस्रो बैठकले उपसमिति गठन गरेको राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले जानकारी दिए।

उपसमितिअन्तर्गत आवास व्यवस्थापनमा तेज गुरुङ, यातायात व्यवस्थापनमा शिव कोइराला, सुरक्षा व्यवस्थापनमा विज्ञानराज शर्मा, स्वयंसेवक परिचालनमा विनोद श्रेष्ठ, खेलस्थल तयारीमा टासी घले र काठमाडौँ महानगरपालिका स्रोतसाधन परिचालन तथा समन्वयमा महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई तोक्ने निर्णय भएको छ ।

त्यसैगरी पोखरा महानगरपालिका स्रोत साधन परिचालन तथा समन्वयमा महानगर प्रमुख मानबहादुर जिसी र ललितपुर महानगरपालिका स्रोत साधन परिचालन तथा समन्वयमा महानगर प्रमुख चिरीबाबु महर्जनलाई संयोजक तोक्ने निर्णय भएको छ । त्यस्तै मस्कट, प्रतीकचिह्न, गीत र नारा मूल्याङ्कन तथा सिफारिश उपसमितिमा राखेपका सदस्य–सचिव विष्ट, निर्देशिका तथा कार्यविधि तयार गर्ने कार्यदलमा खेलकूद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपाने र बजेट तयारी कार्यदलमा राखेपका सदस्य–सचिव विष्टलाई संयोजक तोकिएको छ ।

बैठकले यसअघि आगामी फागुन – चैतमा गर्ने भनिएको १३ औँ साग आगामी वर्ष भदौ–असोजमा सार्न सम्बन्धित निकायमा प्रस्ताव गर्ने निर्णयसमेत गरेको सदस्य–सचिव विष्टले जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.