विभागको ६३८ अनुगमन राजधानीको संगम स्वीट, पिनर्स, द कोरियन सपसहित २७ वटा पसलमा सिलबन्दी

  २०७५ कार्तिक ४ गते १३:००     विकासन्युज

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग चर्को मूल्य लिई ठगी गरेको भन्दै २७ वटा पसलमा सिलबन्दी गरेको छ । ५ सय प्रतिशतसम्म बढी मूल्य लिएको भेटेपछि विभागले सिलबन्दी गरेको हो ।

विभागले चालू आर्थिक वर्षमा २२ सय अनुगमन गर्ने लक्ष्य लिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए । उनका अनुसार हालसम्म देशभर ६३८ वटा अनुगमन भैसकेको छ । यसमध्ये काठमाडौं उपत्यकामा मात्रै ५१३ अनुगमन गरिसकेको छ भने उपत्यका बाहिर १२४ वटा अनुगमन गरेको छ ।

अनुगमन गरिएको मध्ये २४ वटामा सिलबन्दी गएिको महानिर्देशक गौचनले बताए । उनका अनुसार ३ वटा व्यवसायीको कारोबार रोक्का गरिएको छ । यस्तै ८ लाख २८ हजार बराबरको सामाग्री नष्ट गरिएको छ । विभागले उपत्यकाभित्र बानेश्वरस्थित संगम स्वीट र जमलस्थित द कोरियन सपमा शिलबन्दी गरेको छ ।

विभागको टोलीले गरेको अनुगमनका क्रममा कोरियन पसलमा सञ्चालकले ५०० प्रतिशतसम्म बढी मूल्य लिएर सामान बिक्री गरेको पाइएको थियो । कोरियन सपले उपभोक्तासँग अत्यधिक मूल्य लिएको भन्ने उजुरीका क्रममा विभागले अनुगमन गरी शिलबन्दी गरिएको विभागका शाखा अधिकृत दीपकराज पोखरेलले जानकारी दिए।

खरीद मूल्यभन्दा अधिक नाफा राखेर बिक्री गरेको अनुगमनका क्रममा देखिएको उनले बताए । अधिकृत पोखरेलले भने, “कोरियन सपले ७० देखि ५०० प्रतिशतसम्म मुनाफा राखेर कपडालगायत सामग्री बिक्री गरेको पाइयो ।”

यसैगरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाइमा हाइड्रो–१ नामको रसायन मिसावट भएको फेला पारेपछि संगम स्वीटलाई पनि सिलबन्दी गरेको छ । अनुगमनका क्रममा सेतो कपडामा प्रयोग गरिने वस्तु नीर भएको प्रमाणित भएपछि स्वीटलाई बन्द गरिएको हो ।

बानेश्वरमा सङ्गम शर्माले सञ्चालन गरेको सङ्गम स्विट्स एण्ड स्न्याक्स प्रालिको मिलन चोक गोदाममा उक्त पाउडर फेला परेको हो । मिठाइमा हाइड्रो–१ नामको अखाद्य वस्तु मिसावट भएको फेला परेका कारण शर्मालाई खाद्य ऐन २०२३ र नियमावली २०२७ अनुसार कानूनी कारवाही गरिने खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिए।

खाद्यान्नमा अखाद्य वस्तु मिसावट गरेको प्रमाण फेला परेमा सो ऐन र नियमावलीमा कम्तीमा पाँच वर्ष कैद वा रु पचास हजार जरिवाना वा दुवै सजायको व्यवस्था छ । खाद्य स्वच्छता कायम गर्ने उद्देश्यले खाद्य अनुसन्धान अधिकृत सुवेदीको नेतृत्वमा अनुगमन गर्न गएको समूहले आज सो गोदाम बन्द गरेको छ । अनुगमनमा उपभोक्ता अधिकारकर्मी, जिल्ला प्रशासन कार्यालय र पत्रकारको पनि सहभागिता थियो ।

त्यसैगरी शर्माको बानेश्वरस्थित पसलमा भेटिएको अखाद्य पाँच लिटर घिउ नष्ट गरिएको छ । घिउमा पोल्यारिटीको मात्र ३९ रहेकाले नष्ट गरिएको हो । स्वस्थ्य घिउमा पोल्यारिटीको मात्र अधिकतम २५ हुनुपर्छ।

उपभोक्ता संरक्षण ऐन, २०७५, कालोबजारी ऐन तथा सामाजिक अपराध ऐनबमोजिम उक्त पसलका सञ्चालकलाई कारवाही हुने उनले जानकारी दिए। कालोबजारी ऐनअनुसार व्यापारीले कुनै पनि उपभोक्तालाई सामग्री बिक्री गर्दा २० प्रतिशतभन्दा बढी मुनाफा लिन पाइँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.