१०० मेगावाटको सुपर त्रिशुली बनाउन ब्लु इनर्जीले ठेकेदारसंग माग्यो आशयपत्र, ५ वर्षमा बिजुली बल्ने

  २०७५ कार्तिक १ गते १४:४३     विकासन्युज

काठमाडौं । प्रवद्र्धक ब्लु इनर्जी प्राइभेट लिमिटेडले १०० मेगावाटको सुपरत्रिशुली जलविद्युत आयोजना निर्माण गर्न ठेकेदार छनौट सुरु गरेको छ । आयोजना निर्माण गर्नका लागि ब्लु इनर्जीले ठेकेदार कम्पनीबाट आशयपत्र मागेको हो । आशयपत्र पेश गर्ने अन्तिम दिन कात्तिक २९ गतेसम्म तोकिएको छ । आशपत्रबाट छनौट हुने कम्पनीले मात्र बोलपत्रमा भाग लिन पाउने कम्पनीले जनाएको छ ।

इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (ईपीसी) प्रारुमा आयोजना बनाउने कम्पनीको तयारी छ । आयोजनाको बाँध, विद्युतगृहलगायत अन्य पुर्वाधार बनाउनका लागि कम्पनीले निर्माण व्यवसायी छनौट गर्न लागेको हो । काम सुरु गरेको ४८ महिनामा आयोजनाको काम सम्पन्न हुने लक्ष्य लिइएको छ ।

आयोजना आगामी २०७५ कात्तिकदेखि निर्माण सुरु हुने भएको छ । प्रवद्र्धक ब्लु इनर्जीले विद्युत विकास विभागबाट विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाइसकेको छ । आयोजना स्वदेशी तथा विदेशी संयुक्त लगानीमा निर्माण हुनेछ । आयोजनाबाट २०७९ असोज १४ गते ( सन् २०२२ को अक्टुबर) देखि बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको ब्लु इनर्जीका निर्देशक निरञ्जन रेग्मीले बताए ।

आयोजनामा सरार्फ ग्रुपको मुख्य लगानी हुने भएको छ । यस्तै, हङकङको डोमिन्स होल्डिङस र नेपाली लगानीकर्ताको स्वपुँजी हुने छ । आयोजनालाई विश्व बैंक अन्र्तगतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) को ऋण लगानी हुने उनले जानकारी दिए । उनकाअनुसार आयोजना बनाउन १६ अर्ब रुपैयाँ लाग्ने प्रवद्र्धक संभाव्यता अध्ययनले देखाएको छ ।

आयोजनामा स्वपुँजी (इक्विटी) लगानी गर्न हङकको डोमिन्स होल्डिङसंग समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गरेको छ । यसका अतिरित्त नेपालमा होटल व्यवसाय गर्दै आएको सरार्फ र नेपालीको लगानी हुने भएको छ । सराफ ग्रुपले २३.५ मेगावाटको सोलु आयोजनामा पनि लगानी गरेको छ । हाल सो आयोजना निर्माण भइरहेको छ ।

यो वर्ष लाइसेन्स लिने, लगानी जुटाउने, आयोजनास्थलमा अस्थाइ क्याम्प बनाउने जस्ता पुर्वनर्माणको काम सक्ने लक्ष्य लिएको छ । आयोजनाका लागि आवश्यक पर्ने ७० प्रतिशत जग्गा अधिग्रहण गरिसकेको उनले बताए ।

सुपर त्रिशुलीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) एसएनभी ल्याभिन क्यानाडाले गरेको हो । डीपीआरले आयोजना निर्माण लागत सस्तो पर्ने देखाएको रेग्मीको भनाई छ । डीपीआर अनुसार आयोजनाको प्रतिमेगावाट लागत १६ करोड रुपैयाँ छ । ब्लु इनर्जीलाई पब्लिक कम्पनी बनाई सर्वसाधारणमा सेयर निष्कासन गर्ने उनले जानकारी दिए ।

आयोजनामा ७० प्रतिशत कर्जा र ३० प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना तयार पारिएको छ । आयोजनाको बाँधसंगै विद्युतगृह हुने (ड्याम टोई) प्रकृतिको छ । यस्तो संरचना हुने सुपर त्रिशुली नेपालको पहिलो जलविद्युत आयोजना हुनेछ । यस्तो बाँध भएको सुपर त्रिशुली नेपालको पहिलो आयोजना हुनेछ ।

नदीको वहावमा आधारित आयोजनाबाट वार्षिक ४० करोड ६७ लाख युनिट बिजुली उत्पादन हुने छ । आयोजनाको हेड १४.५ मिटर मात्र हुने छ । होरिजेन्ट एक्सिस भएको बल्ब टर्वाइनमा पानी खसाले आयोजनाबाट बिजुली उत्पादन हुने छ ।

आयोजनाको मुल संरचना राजधानीबाट १ सय किलोमिटर टाढाको दुरीमा हुने छ । चितवनको दारेचोक र गोरखाको मकैसिंहमा पर्छ । आयोजनाबाट १९ किलोमिटर टाढा आवुखैरनीमा रहेको २२० केभी क्षमताको सवस्टेशनमा बिजुली जोडिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.