‘उपभोक्ताको स्वास्थ्यमाथि मजाक र कालोबजारी गर्नेलाई कार्वाही गर्ने’

  २०७५ असोज ३० गते १४:२०     प्रनिश थापा

चितवन । चितवन प्रशासनले चाडपर्वलाइ लक्षित गर्दै जिल्लामा सञ्चालित होटलहरुको अनुगमन कार्यलाई तीव्र बनाएको छ । नेपालीहरुको पर्व विजयादशमी, शुभदीपावाली तथा छठ पर्वलाई मध्ययनजर गर्दै जिल्लामा रहेका होटलहरुको अनुगमन गरेको जनाएको छ ।

खाद्य निरीक्षक प्रविण कुमार तिवारीको नेतृत्वमा रहेको अनुगमन टोलीमा मध्यरातमा यहाँ गरिएको अनुगमनका क्रममा नारायणगढ ( मुग्लिङ्ग र फिस्लिङ लोकमार्गमा सञ्चालित दुई वटा होटलहरु बन्द गराएका छन् । लोकमार्गमा सञ्चालित होटलहरुमा गरिएको अनुगमनमा क्रममा हामीले फोहोर व्यवस्थापनमा लापरबाही गरेको पाइएपछि इच्छाकामना गाउँपालिका वडा नं. ४ लेवाटारका सुजन लाङ्घाली होटल एण्ड खाजा घर र छिम्केश्वरी होटल एण्ड खाजा घर बन्द होटल बन्द गरेका हौं ।

खाद्य निरीक्षक तिवारीले भन्छन्: ‘अनुगमनका क्रममा हामीले पकाएका खानेकुराहरु गन्हाउने र फोहोर व्यवस्थापनमा समेत चरम लापरबाही गरेको भेटायौं त्यसैले सो होटलहरु बन्द गरेको बताए । यता, उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णु भुषालले अनुगमनका क्रममा कालोबजारी समेत भएको पाइएको बताए । १८ रुपैयाँमा पाइने पानी यहाँ २५ रुपैयाँसम्म लिएका रहेछन् साथै म्याद गुज्रिएका पेय पदार्थहरु पनि उल्लेखनीय मात्रामा भेटायौं त्यसलाई हामीले नष्ट समेत गरेका छौँ ।’

उनी भन्छन् : ”यतिमात्र कहाँ हो र ? उपोभोक्ताको स्वास्थ्य माथि समेत यहाँ उत्तिकै खेलवाड गर्दो रहेछ । होटलमा ग्राहक ल्याइदिए लामो दुरीका बस चालकलाइ होटल सञ्चालकले यस अगाडि ५०० रुपैयाँ भत्ता दिदै आएकोमा त्यो अहिले बढाएर दुई हजार रुपैंयाँसम्म पुर्‍याएका रहेछन् । त्यसबाट भत्ता लिएका होटलहरुले यात्रुहरु ओराल्ने र गुणस्तरहिन खानेकुरा खुवाउनेसम्म गरेको पायौं । यात्रुलाई होटलमा लगेर ओराल्ने र त्यहीँको खाना खुवाउन बाध्य बनाउने चालकहरुलाइ मासु खाना र मदिरासमेत निःशुल्क खुवाउने गरेका रहेछन् । यो लापरबाहीको पराकाष्ठा हो ।” उनले भने, उपभोक्ताको स्वास्थ्यमाथि मजाक गर्ने र कालोबजारी गर्नेलाई दण्डीत गर्नुपर्छ । तब मात्र, यस्तो गतिविधि कम हुने उनले बताए ।

सभ्य तरिकाले चार्डपर्व नमनाए कार्वाही हुन्छ: प्रजिअ

बर्ष दिनमा एकपटक मात्रै आउने चार्डपर्वलाइ मर्यादित र हर्षोल्लासका साथ मनाउन जिल्ला प्रशासन कार्यालय चितवन ले जिल्लाबासीमा आह्वान गरेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बहादुर बस्नेतले आधुनिकताका नाममा नेपाली समाजको संस्कृति, परम्परा, मर्यादा, अनुशासन विपरित शान्ति सुव्यवस्था नै प्रभावित हुने गरी अवाञ्छित गतिविधि हुन सक्ने भएकाले यस्ता गतिविधि नगर्न आग्रह गरेका हुन् । उनले विजयादशमीलाई अनुशासित रुपमा मनाउन अपिल गरेका हुन् । मर्यादित एवं अनुशासनमा रहि चार्डपर्व नमनाएको खण्डमा प्रशासनले कडा कारबाही गर्ने बस्नेतको जोड थियो ।

लोकमार्गका होटल बाहेक अन्य होटल र रात्री मनोरञ्जन व्यवसाय राती १० बजेपछि अनिवार्य रुपमा बन्द गर्न समेत प्रशासनले सार्वजनिक रूपमा आह्वान गरेको छ । जुवाजन्य खेल जस्तै स् तास, कौडा लगायतका खेल, स्वीकृति बिना चिठ्ठा, उपहारलगायतका कार्यक्रम सञ्चालन, एवं पटका लगायतका विष्फोटकजन्य सामग्री र मदिरा र मदिराजन्य वस्तुको बिक्री वितरणमा समेत रातीको नौ बजेपछि प्रशासनले रोक लगाएको जनाएको छ । विशेष चाडपर्व सुरक्षा योजना अनुसार जिल्लाका सबै स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको पहुँच विस्तार गरिएको छ । लोकमार्गमा हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न प्रहरीबाट ट्राफिक गस्ती, चेकजाँच, मापसे जाँचलाई तीव्र बनाइएको छ ।

घटनालार्इ शीघ्र सम्बोधन गर्न नेपाल प्रहरीमा क्विक रेसपोन्स टिम र सशस्त्र प्रहरीमा इमिडिएट रेसपोन्स टिमको व्यवस्था गरिएको बताउँदै कुनै पनि विषयमा गुनासो, जानकारी वा उजुरी गर्नुपरे नेपाल प्रहरीको यात्रु सहायता कक्ष पुल्चोक र केन्द्रीय बस टर्मिनल, नजिकैको प्रहरी चौकी वा सशस्त्र प्रहरी बल वा जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल ९८५५०९०१३३ र निःशुल्क ०५६-५२४२४१ वा १०० मा समेत फोन गर्न सकिने प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.