निजी लगानीबाट केवलकार निर्माण बढ्दो, अर्बाैको लागतमा ३ दर्जन निर्माणको तयारीमा

  २०७५ असोज ३० गते ७:००     राजाराम न्याैपाने

काठमाडौं। पछिल्लो समयमा नेपालमा पनि केवलकारमा लगानी बढ्न थालेको छ । निजी क्षेत्रबाट हालसम्म ३ दर्जन बढी केवलकार निर्माणका लागि अध्ययन सुरु भएका छन् । ती मध्ये केहीको निर्माण सुरु भएका छन् । मनकामना, चन्द्रागिरी र कालिञ्चोकमा केवलकार सञ्चालनमा आईसकेका छन् । यस्तै पोखराको तालवारहीदेखि सराङकोटसम्मको केवलकार निर्माण भइरहेको छ ।

मनकामनामा केबलकार चलेको लामो समयपछि मात्रै राजधानीमा चन्द्रागिरिमा केबलकार सञ्चालनमा आएको हो । एक दर्जनभन्दा बढी स्थानमा केबल निर्माण भइरहेको छ । केबलकार निर्माणका लागि आवेदन दिनेक्रम पछिल्लो समयमा बढेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मुलुकका २० स्थानमा केबलकार निर्माणका लागि आवेदन परेको मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयले अध्ययन अनुमति दिने कानूनी प्रावधान छ ।

सहज यातायात सञ्जालको विकास तथा विस्तार गर्ने र पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने लक्ष्यका साथ पछिल्लो समयमा केबलकार निर्माणका लागि लगानी बढेको नेपाल रोप वे प्राइभेट लिमिटेडका अध्यक्ष गुणराज ढकाल बताउछन् । कार्वनरिहत यात्रा भएकाले केवलकार निर्माणमा लगानीकर्ताको चासो बढेको उनको भनाई छ । नेपाल रोपवेले दुई दर्जन केलकारको संभाव्यता अध्ययन गरिरहेको ढकालले सुनाए । उनका अनुसार केवलकारमा हुने लगानीबाट राम्रो प्रतिफल पाउने भएकाले पनि लगानीकर्ताको आकर्षण बढेको उनको भनाई छ ।

निजी लगानीमा भक्तपुरको सूर्यविनायकमा लिक सेवा र बूढानीलकण्ठदेखि शिवपुरी डाँडासम्म केवलकार बनाउन त्रिवेणी केबलकार प्रालिले अध्ययन अनुमति मागेको छ । मौलाकालिका डेभलपमेन्ट प्रालिले देवघाटदेखि मौलाकालिकासम्म केबलकार अध्ययनको अनुमति मागेको छ । दिव्य दर्शन प्रालिले मुक्तिनाथ मन्दिर, स्वर्गद्वारी र पाथीभरामा पनि केबलकार निर्माणका लागि चासो व्यक्त गरेको छ ।

यस्तै सोलुखुम्बुको लुक्लामा सगरमाथा रोपवे प्रालिले अध्ययन गरिरहेको छ । डोटीको ठूलाकेदार, नुवाकोटको घ्याङफेदी गोसाइँकुण्ड केबलकार, इलाम पाथीभरा दर्शन र सर्वशिद्धीधाम पञ्चकोट बाग्लुङमा पनि प्रक्रिया शुरु भएको छ । लुक्लादेखि नाम्चेसम्म केबलकार र रोपवे दुवै सेवा दिने गरी अध्ययन भइरहेको छ ।

यस्तै मुत्तिनाथले ४० अर्ब रुपैयाँ लगानी गरेर ८५ किलोमिटर लामो केवलकार बनाउने तयारी थालेको छ । वन्दीपुर केवलकारले सर्वसाधारणबाट लगानी जुटाउन सुरु गरिसकेको छ । त्यस्तै मुक्तिनाथ दर्शन प्रालिले पोखराको वीरेठाँटीदेखि कागबेनी हुँदै रानीपौवा मुक्तिनाथ मन्दिरसम्म पनि केबलकार निर्माणका लागि अध्ययन गरिरहेको छ । काठमाडौँ उपत्यकाको बोहोराटार–नागार्जुन डाँडा जामाचोमा पनि अध्ययनका लागि स्वीकृति मागिएको छ ।

प्यूठानको घण्टीखोलादेखि स्वर्गद्वारी मन्दिरसम्म केबलकार निर्माणका लागि स्वर्गद्वारी दर्शन प्रालिले अनुमति मागेको छ । ललितपुरको गोदावरीदेखि फूल्चोकीसम्म केबलकार निर्माणका लागि सिद्धेश्वर पर्यटन सहकारी र युवा जागरण पर्यावरणीय मञ्चले अध्ययन गरिरहेको छ ।

यस्तै मनकामना दर्शन प्रालिले कास्की पुम्दी भुम्दीमा एक किलोमिटर लामो केबलकार निर्माणका लागि अध्ययन गरिरहेको छ । विगतमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केबलकारको निर्माणको अनुमति दिने गरेको थियो । पछिल्लो समय भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमार्फत काम हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.