जनशक्ति अभावले पुनर्निर्माण सुस्त

  २०७५ असोज २९ गते १५:२४     विकासन्युज

काठमाडौँ । भूकम्प गएको साढे ३ वर्ष बितिसक्दा पनि दक्ष जनशक्ति अभावका कारण पुनर्निर्माणले आशातित गति लिन सकेको छैन । भूकम्पबाट अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामा निजी आवास निर्माणका लागि आवश्यक निर्माणकर्मी, इन्जिनियर र प्राविधिक जनशक्ति व्यवस्थापन हुन नसक्दा पुनर्निर्माणमा ढिलाइ भएको हो ।

पुनर्निर्माणमा यत्तिकै दक्ष जनशक्ति आवश्यक पर्छ भनेर यकिन गर्न नसकिएपछि भएका कर्मचारीको प्रभावकारी कार्यसम्पादन र व्यवस्थापन नभएकाले पनि पुनर्निर्माणमा ढिलाइ भएको हो ।

मुलुक नयाँ सङ्घीय संरचनामा गइसकेपछि पुनर्निर्माणको काम पनि स्थानीय तहबाटै गर्नुपर्ने जिम्मेवारी थपिएको छ । अहिले भूकम्पप्रभावित जिल्लामा झन्डै ३६ हजार निर्माणकर्मी खटिएका छन् । प्राधिकरणले पनि थप ५१ हजार कर्मचारीलाई तालिम दिइसकेको छ । तर तालिम लिएकामध्ये केही वैदेशिक रोजगारीका सिलसिलामा विदेश र केहीले काम नगरेपछि जनशक्ति अभाव भएको छ ।

नयाँ संरचनाअनुसार भूकम्पबाट अति प्रभावित १४ जिल्लामा हरेक गाउँपालिका,नगरपालिकामा एक/एक जना सिभिल इन्जिनियर र कम प्रभावित १८ जिल्लामा पनि एक/एक जना गरी २ सय ८२ जना सिभिल इन्जिनियर स्थानीय तहमा पठाइने प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठले बताए । त्यस्तै महानगरपालिकामा पनि तीन वडा हेर्ने गरी एक जना इन्जिनियर रहने उनको भनाइ छ ।

अहिले पुनर्निर्माणमा झन्डै २७ सय इन्जिनियर, असिस्टेन्ट इन्जिनियर र सब इन्जिनियरमध्ये कतिपयले काम छाडेको र केहीले पठाएको ठाउँमा गएर काम नगरेको श्रेष्ठले बताए । अहिले नै ३० देखि ४० प्रतिशत इन्जिनियर तथा प्राविधिक जनशक्ति थप थप आवश्यक पर्ने त्यसका लागि पनि प्राधिकरण लागिरहेको उनको भनाइ छ ।

२०७६ जेठसम्म निजी आवास निर्माण सम्पन्न गर्ने गरी प्राधिकरण अघि बढेको प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले बताए । उनले प्राधिकरणसँगै विभिन्न सङ्घसंस्था, निकाय, स्थानीय तहको सहकार्य र सहयोगमा एकीकृत रुपमा निजी आवासको निर्माणको काम अगाडि बढाइने उनले जानकारी दिए । अहिले नयाँ संरचना र नीतिअनुसार जनशक्ति व्यवस्थापन, अनुदान वितरण र स्थानीय जनशक्तिलाई उपयोग गरी रोजगारीका अवसर सिर्जना गर्नेतर्फ पनि लागिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.