ट्रान्जिट हब बन्दै चोभारः रेल, फास्ट ट्रयाक, सुख्खा बन्दरगाह र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

  २०७५ असोज २९ गते १०:४८     नारायण पौडेल

काठमाडौं । कुनै बेला चोभार भन्ने वित्तिकै हिमाल सिमेन्टको नाम आउँथ्यो । सिमेन्ट उद्योग बन्द भएसँगै चोभारलाई फिल्म सुटिङ स्थलका रुपमा चिन्न थालियो । अधिकांश नेपाली चलचित्रका केहि दृष्य चोभारमै खिचिन्थे । अब भने चोभारको दिर्घकालिन पहिचान स्थापीत हुने भएको छ, अन्तराष्ट्रिय ट्रान्जिट हबका रुपमा ।

चीनबाट आउने रेल र भारतबाट आउने रेलको मिलन चोभारमै हुनेछ । काठमाडौं र तराईलाई जोड्ने ७६ किलोमिटरको फास्ट ट्रयाक पनि चोभारसम्मै आईपुग्नेछ । त्यस बाहेक सुख्खा बन्दरगाह र अन्तराष्ट्रिय सम्मेलन केन्द्रले चोभारलाई ट्रान्जिट हबका रुपमा नयाँ पहिचान दिलाउनेछ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले वीरगञ्ज–काठमाडौं विद्युतिय रेलमार्ग र निजगढ–काठमाडौं फास्ट ट्रयाकलाई चोभारमा जोड्नेगरि सम्बन्धित निकायलाई निर्देशन दिईसकेको बताएका छन् । ‘फास्ट ट्रयाकलाई चोभारमा जोड्ने व्यवस्था मिलाउन भनिसकिएको छ, वीरगञ्ज–काठमाडौं रेलमार्गलाई पनि चोभारमै जोड्ने गरि अध्ययन अघि बढाउन भनिसकेका छौं’, मन्त्री खतिवडाले राजधानीमा केहि अघि आयोजीत एक कार्यक्रममा भनेका थिए ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले पनि चीनबाट आउने रेल टोखाबाट चोभारसम्म पुर्याउनेबारे छलफल भैरहेको बताए । त्यस्तै, बिरगञ्जबाट आउने भारतीय रेल भने निजगढ हुँदै चोभार ल्याउने गरि अध्ययन भैरहेको जानकारी पनि उनले दिए ।

वीरगञ्ज–काठमाडौं विद्युतिय रेलमार्ग भारत सरकारले अनुदानमै निर्माण गरिदिने आश्वासन दिएको छ । १०० किलोमिटर भन्दा कम दुरीको हुने अनुमान गरिएको वीरगञ्ज काठमाडौं विद्युतिय रेलमार्गलाई कार्गो बोक्ने क्षमतामा निर्माण गरिनेछ । केरुङबाट काठमाडौं आउने रेलमार्ग टोखामा आउनेछ । सो रेललाई पनि चोभारसम्म पुर्याएर चीन र भारतीय रेलवे नेटवर्कलाई जोडिने महानिर्देशक मिश्रले बताए ।

नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले पनि फास्ट ट्रयाकलाई चोभारसम्म जोड्नका लागि अनौपचारिक छलफल भैरहेको जानकारी दिए ।
अर्थमन्त्री डा. खतिवडाले चोभारमा फास्ट ट्रयाक र बिरगञ्ज–काठमाडौं विद्युतिय रेलमार्ग तथा केरुङ–काठमाडौं रेलमार्गले जोडेर निर्यात व्यापारको केन्द्र बनाउने बताएका हुन् ।

चोभारमै निर्माण भैरहेको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्र र र इनल्याण्ड कन्टेनर डिपो(आइसीडी)ले आयात निर्यातको केन्द्र बनाउन सघाउने दावी गरेका हुन् । सम्मेलन केन्द्र र आइसीडीको निर्माण कार्य आरम्भ भैसकेको छ ।

नेपालले चीनसँग पारवाहन सन्धि गरेर चिनियाँ बन्दरगाहरुबाट आयात निर्यात व्यापार गर्ने सुबिधा प्राप्त गरिसकेको छ । त्यस्तै, चोभारको सुख्खा बन्दरगाह बनिसकेपछि भारत र चीनबाट काठमाडौंका लागि समान ढुवानी गर्ने कन्टेनरहरु सिधै चोभार आउनेछन् । त्यहिँ भन्सार चेकजाँच समेत हुनेछ ।

सरकारले राजधानी काठमाडौंलाई आधार बनाएर चोभारमा सुख्खा बन्दरगाह, अन्तराष्ट्रिय सम्मेलन केन्द्र, उत्तर र दक्षिण पुग्ने रेल वे नेटवर्क, फास्ट ट्रयाक लगायतका पूर्वाधार निर्माण गर्न लागेको हो । यी पूर्वाधारहरुको निर्माण सम्पन्न भएपछि चोभार अन्तराष्ट्रिय व्यापारका लागि नयाँ ट्रान्जिट हब बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.