२५ प्रतिशत रेमिट्यान्स जलविद्युतमा लगानी गरे ८६६ मेगावाट बिजुली उत्पादन हुने

  २०७५ असोज २८ गते १८:१४     विकासन्युज

काठमाडौ । विदेशमा नेपाली श्रमिकले श्रम गरेर पठाएकोविप्रेषण (रेमिट्यान्स) को २५ प्रतिशत रकम मात्र लगानी गरे ८६६ मेगावाट बिजुली उत्पादन गर्न सकिने देखिएको छ । ऊर्जा क्षेत्रका जानकार डा गोविन्द तिमिल्सिनाले विप्रेषणको कम्तीका वार्षिक २५ प्रतिशत मात्रै लगानी गर्न सकिए जलविद्युत उत्पादन बढाउन सकिने जानकारी दिएका हुन् । उनले विप्रेषण गलत तवरले अनुत्पादक क्षेत्रमा खर्च भइरहेको भन्दै त्यसलाई व्यवस्थित रुपमा लगानीका लागि सरकारले वातावरण बनाउनुपर्नेमा तिमिल्सिनाको जोड छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो जानकारीअनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा ७३ अर्ब ९५ करोड रुपैयाँ बराबरको विप्रेषण आय भएको छ । नेपालीको महत्वपूर्ण चाडको रुपमा रहेको दशैं तथा तिहारमा विप्रेषण खर्ब माथि पुग्ने प्रक्षेपण गरिएको छ ।

वार्षिकरुपमा ७ खर्ब रुपैयाँ भन्दा माथि विप्रेषण आय भएपनि ८० प्रतिशत बढी रकम अनुत्पादक क्षेत्रमा खेर गइरहेकाले सदुपयोगमा जोड दिइएको हो । गैरआवासीय नेपाली संघले आइतबार राजधानीमा आयोजना गरेको ‘गैरआवासीय नेपाली दिवस प्रथम विज्ञ सम्मेलन’का अवसरमा नेपालका जलविद्युत्मा लगानीका अवसर खोजी विषयक छलफलमा विप्रेषण मात्रै सदुपयोग गरे ऊर्जा क्षेत्रको लगानीका लागि अन्य स्रोतको खोजी गर्नुनपर्ने बताइएको हो ।

केन्द्रीय बैंकका अनुसार आर्थिक बर्ष २०७४/७५ मा विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भई ७ खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ पुगेको थियो । गत आवमा विप्रेषण आप्रवाह ४.६ प्रतिशतले वृद्धि भएको थियो । अघिल्लो वर्ष २६.३ प्रतिशत रहेको विप्रेषण आप्रवाहको कुल गार्हस्थ उत्पादनसँगको अनुपात समीक्षा वर्षमा २५.१ प्रतिशत छ ।

सामान्यतया विप्रेषणको ५० प्रतिशत हिस्सा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने र त्यसबाट आर्थिक विकासको आधार तयार पार्नुपर्ने भन्दै डा तिमिल्सिनाले राज्यले स्पष्ट नीति तथा कार्ययोजना बनाउन आग्रह गरे।  रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.