सामाजिक सञ्जाल फेसबुक पनि ह्याकरको पहुंँचमा, ३ करोड प्रयोगकर्ताको विवरण चोरी

  २०७५ असोज २७ गते १४:०९     विकासन्युज

सानफ्रान्सिस्को । विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुक इंकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ ।फेसबुकले यसअघि साइबर आक्रमणका कारण ५ करोड प्रयोगकर्ताका एकाउन्टमा प्रभाव परेको जनाएको थियो । “अहिले हामीले के थाहा पाएका छौं भने सोचिएभन्दा केही कम व्यक्तिलाई असर परेको छ,” फेसबुकका उपाध्यक्ष गाए रोसेनले बताए ।

पहिचान अझै नखुलेका केही व्यक्ति (ह्याकर) ले करिब १ करोड ५० लाख फेसबुक प्रयोगकर्ताको नाम, फोन नम्बर र इमेल ठेगाना चोरेको उनले जानकारी दिए ।अरु १ करोड ४० लाख प्रयोगकर्ताका विवरण पनि जोखिममा रहेका छन् । फेसबुकले साइबर आक्रमणकारीले प्रयोगकर्ताका अरु विवरणहरु जस्तै लिङ्ग, धर्म, गृहनगर, जन्ममिति र स्थान तथा हालै भ्रमण गरेका ठाउँ पनि सङ्कलन गरेको जनाएको छ ।

यस आक्रमणबाट फेसबुकले सञ्चालन गरेका मेसेन्जर, मेसेन्जर किड्ज, इन्स्टाग्राम, ह्वाट्सएप, ओक्युलस, वर्कप्लेस, पेजेज, पेमेन्टमा असर नगरेको कम्पनीले बताएको छ ।क्यालिफोर्नियास्थित फेसबुक कम्पनीले यस घटनाका सम्बन्धमा अमेरिकी सङ्घीय जाँच ब्यूरो (एफबीआई), अमेरिकी सङ्घीय व्यापार आयोग, आइरिस डाटा प्रोटेक्सन कमिसन तथा अरु निकायसँग छलफल थालेको छ । रासस÷एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.