सडक स्तरोन्नति गर्दै ललितपुर महानगरपालिका

  २०७५ असोज २६ गते १४:५३     विकासन्युज

काठमाडौं। ललितपुर महानगरपालिकाले चार मिटरभन्दा कम चौडाइको ३० किलोमिटर सडक स्तरोन्नति गर्ने भएको छ । शहरको भित्री भागमा रहेका सडक ढुङ्गा र इँटा छापेर स्तरोन्नतिको योजना बनाइएको छ ।

महानगरपालिकाका भित्री बस्तीमा धेरै यस्ता साँघुरा सडक रहेका छन् । कतिपय सडक पर्यटकीय मार्गमा समेत पर्दछन् । ती सडक सुधारले स्थानीयवासी र पर्यटक दुबैलाई सहज हुने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए।

यो वर्षभरमा काम गर्ने योजनामा परेका सडकमध्ये चार किलोमिटरमा काम सकिएको छ । शहरका भित्री भागमा पर्ने सडक कालोपत्रे भन्दा पनि ढुङ्गा र इँटा छाप्ने कामलाई प्राथमिकता दिइएको र आवश्यक भएका कतिपय स्थानमा भने ढलान गर्ने गरी बोलपत्र भएको उनले बताए।

उनले भने, “हामीले सकेसम्म पुरानोस्वरुप बिग्रन नदिने कुरामा विशेष ध्यान दिएका छौं ।” पाटनका भित्री भागका धेरै सडकमा पहिले इँटा वा ढुङ्गा छापिएकामा मर्मत नहुँदा भत्किएको हो ।

मुख्य सडकसँगै यो वर्ष सहायक सडकका रुपमा रहेका बस्तीभित्रका सडक निर्माणलाई महानगरपालिकाले प्राथमिकतामा राखेको हो । स्थानीय निकायले सहायक सडकलाई बेवास्ता गरेको स्थानीयवासीले गुनासो गर्दै आएका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.