सिटिजन्स बैंक र खल्तीबीच डिजिटल भुक्तानीका लागि सम्झौता

  २०७५ असोज २५ गते १५:२६     विकासन्युज

काठमाडौं। ‘सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड’ र ‘खल्ती डिजिटल वालेट’ बिच मोबाईल भुक्तानीमा सहकार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सिटिजन्स बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र खल्तीका तर्फबाट डाइरेक्टर अमित अग्रवालले बिहिबारउक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। उक्त सम्झौता समारोहमा सिटिजन्स बैंकका डेपुटी सीइओ गणेश राज पोख्रेल र खल्तीका डाइरेक्टर ध्रुब अधिकारीको समेत उपस्थिति रहेको थियो ।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन्।  यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

उक्त सम्झौताको बारेमा बोल्दै सिटिजन्स बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्लेले भने,

“हामी प्रविधिको प्रयोग गरेर मानिसहरुका विभिन्न बैंकिङ्ग तथा वित्तिय समस्याहरु समाधान गर्न खोजिराखेका छौँ, जसको माध्यमबाट ग्राहकहरुले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ । यो सहकार्य पश्चात हाम्रा ग्राहकहरुले खल्ती प्रयोग गरेर सहजता पूर्वक दैनिक भुक्तानी सेवा प्राप्त गर्न सक्नुहुनेछ । यसबाट हामी दैनिक कारोबारलाई डिजिटल बनाउन एक कदम अगाडि बढेका छौँ भन्ने महसुस गरेका छौ ।”

साथै बैंकका डेपुटी सीइओ गणेश राज पोख्रेलले आफू डिजिटल प्रविधिमैत्री रहेको र मोबाईलबाटै फिल्मको टिकट काट्ने र अन्य दैनिक भुक्तानीहरु पनि मोबाईल एप मार्फत नै गर्ने गरेको बताए । “मप्रविधिको विकास र यसले मानिसको दैनिक जीवनमा ल्याएको सहजताबाट एकदमै प्रभावित छु । हामी खल्ती वालेटसँग सहकार्य गरी हाम्रा ग्राहकहरु माझ खल्तीको सजिलो मोबाईल भुक्तानी सेवा उपलब्ध गराउन पाउँदा अत्यन्तै उत्साहित भएका छौँ ।” उनले थपे।

त्यसै गरी खल्तीका निर्देशक अमित अग्रवालले भने, “हामी सिटिजन्स बैंकसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ । अब सिटिजन्स बैंकका ग्राहकहरुले बैंकबाट नगद झिकिराख्ने झन्झट गर्नुपर्दैन । उनिहरुले बैंकबाट सिधै ‘खल्ती’ मा पैसा लोड गरी वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नेछन्। नगद पैसा बिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो । यो पार्टनरशिपसँगै हामीलाई खल्ती नगद पैसा बिनाको नेपालको लागि एउटा अर्को पाइला अगाडी सारेका छौँ जस्तो लागेको छ ।”

सन २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो। खल्ती एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इण्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरुको मोबाइल बाटै भुक्तानी गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.